निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि एउटा प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । आगामी माघ ११ गते हुने संघको निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल सहित सबै पदका लागि समावेशीले उम्मेदवार तय गरि घोषणा गरेको छ ।
समावेशीबाट चिरञ्जीवी ओली, बिजय भण्डारी ‘बासु’, टंक धामी, अब्दुल वाहिद अन्सारी (बब्लु), श्यामसुन्दर अधिकारी, भिम रानाभाट, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’ र मन्दिरा पाण्डे कार्यसमितिका लागि दावेदार बन्ने भएका छन् । बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ ले उम्मेदवारी दिने समावेशी प्यानलले जनाएको छ ।

समावेशी प्यानलका संयोजक इश्वर पोखे्रलको अध्यक्षतामा बिहीवार उद्योगी व्यवसायीहरुको भेला आयोजना गरि समावेशी प्यानलले उम्मेदवारी घोषणा ग¥यो । घोषणा कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका प्यानलका संरक्षक दामोदर आचार्यले व्यवसायिक ढंगले उम्मेदवारी दिइएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्जको विद्यमान अवस्थामा सक्षम नेतृत्वको खाँचो औल्याए । उनीहरुले व्यवसायिक हितमा निरन्तर खटिन सक्ने सामथ्र्य राख्ने उम्मेदवारहरु समावेशी प्यानलले उठाएको बताए ।
प्रदेश सभा सदस्य समेत रहेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले निजी क्षेत्रको नेतृत्वदायी संस्था भएकाले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सबैको चासोको विषय भएको बताए । उम्मेदवारी घोषणासंगै औपचारिकरुपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएको समावेशीका सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेले जानकारी दिए । उनका अनुसार, घोषणासँगै उम्मेदवारहरु मतदातासँग भेटघाटमा व्यस्त भएका छन् ।
प्राथमिकता व्यवसायिक पुनःस्थापना ः मन्सुरी
नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा सभामा अध्यक्ष पदका दावेदार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले नेपालगन्जको व्यवसायिक अवस्थाको पुनःस्थापना आफ्नो प्राथमिकता भएको बताएका छन् ।
वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष मन्सुरीले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लागेको बताउँदै उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर आफ्नो टिम निर्वाचनमा होमिएको बताए । निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदानसमेतमा आफ्नो रुची देखाएका मन्सुरीले उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने धारणा राखे ।








