वसन्त गौतम
कानूनत २० बर्ष नपुगी गरिने बिवाह बाल विवाह हो । तर समाजमा कानूनी ब्यवस्थालाई चुनौती दिदै बाल विवाह हुने क्रम रोकिएको छैन । कानूनले बालबिवाहलाई निषेध गरेता पनि समाजमा कानूनलाई छल्दै बाल विवाह हुने गरेका छन् । बाँकेको बेतहनीमा ५ वटा बाल विवाह हुँदै गरेको खवर सार्वजनिक संचार माध्याम मार्फत सार्वजनिक भएको छ । गत सोमबार बेतहनीमा भएको एउटा कार्यक्रममा विवाह हुन लागेका बालिकाहरुको नामै उल्लेख गरिएको कुराले बालबिवाह एक गम्भीर समस्याको रुपमा रहेको देखाएको छ ।
शारीरिक, मानसिक र सामाजिक रुपमा परिपक्क नभइसकेका किशोर किशोरीहरुको बीचमा हुने विवाह नै बाल विवाह हो । कानूनले २० वर्ष उमेर नपुगेका बालक वा बालिकाबीच हुने विवाहलाई बाल विवाह मानेको छ । मुलुकि अपराध (संहिता) ऐन २०७४ मा बालबिवाह बारे कानूनी ब्यवस्था गरेको छ । ऐनको दफा १७३ मा बाल बिवाह गर्न नहुने भनी स्पष्ट ब्यवस्था गरेको छ । यसै गरि सोहि दफाको उपदफा (१) ले बिवाह गर्ने ब्यक्तिको उमेर निर्धारण गरेको छ । जस अनुसार २० बर्ष नपुगी कसैले बालबिवाह गर्न वा गराउन हुदैन भन्ने स्पष्ट ब्यवस्था गरेको छ । (२) उपदफा १ बिपरित भएको बिवाह स्वतः बदर योग्य हुने छ । यसै गरि उपदफा (३) मा कसुर गर्ने ब्यक्तिलाई ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन्छ भनेको छ । घटना भएको ३ महिना भित्र उजुरी गरिसक्नु पर्ने ब्यवस्था कानूनले गरेको छ ।
बाल विवाहको पार्ने असर ः
बाल विवाहका कारण बालिकाले बाबु आमाको माया ममता नपाउँदा त्यसको नकारात्मक असर जीवन भरी नै पर्ने पर्दछ । सारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पुग्दछ । बालिकाहरुको स्वास्थमा नकारात्मक असर पुग्दछ । युएनएफपिएले गरेको एउटा अध्ययनले १५ देखि १९ वर्ष उमेरका किशोरीहरूको मृत्युुको एउटा प्रमुख कारण सानै उमेरमा गर्भवति हुनु हो भन्ने तथ्य प्रस्तुत गरेको छ । त्यस्तै २० वर्षमा विवाह भएका महिलाभन्दा १५ वर्ष उमेर नपुग्दै विवाह भएका किशोरीहरू गर्भिणी अवस्थामा वा बच्चा जन्माउँदा मर्ने सम्भावना पाँच गुणा बढी हुन्छ ।
त्यस्तै युएनएफपिएकै अर्को अध्ययनले सानै उमेरमा यौन सम्पर्क राख्नु र बच्चा जन्माउनु तथा धेरै बच्चा जन्माएका कारण महिलाहरुको आङ खस्ने गरेको देखाएको छ । बालबिवाहले बाल मृत्यु दरमा बृद्धि गर्दछ । एक जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार २० वर्ष उमेर पुपुगेकी आमाले जन्माएको बच्चाभन्दा २० वर्ष नपुगेकी आमाले जन्माएको बच्चा जन्मिनासाथ र ५ वर्ष नपुग्दै मर्ने सम्भावना करिब दोब्बर बढी देखाएको छ । बालबिवाह गर्ने बालिकाहरु शिक्षा तथा विकासको अवसरबाट वञ्चित हुन्छन् । अध्ययनले बहु विवाहको एउटा मुख्य कारण बाल विवाह देखाएको छ ।
बाल बिबाहबाट बाल अधिकार हनन ः
बाल विवाहका कारण बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले बालबालिकालाई प्रदान गरेका निम्न अधिकारहरूको प्रत्यक्ष उल्लङ्घन हुने गर्दछ । बालविवाह गर्नाले बालबालिकाको सर्वाेत्तम हितले प्राथमिकता पाउनु पर्ने अधिकार हनन हुन जान्छ । बालबालिकाको बाँच्न पाउने र उनीहरूको शारीरिक र मानसिक विकासको अधिकार आघात पार्दछ । बालबालिकाहरू उनीहरूको अभिभावकसँग बस्न पाउने अधिकार बाल विवाहले असर पु¥याउँछ । बाल विवाहले शारीरिक एवं मानसिक हिंसा, दुव्र्यवहार, बेवास्ता, शोषण र यौन दुव्र्यवहारबाट सुरक्षित हुन पाउने अधिकार हनन गर्दछ । स्वास्थ्यमा नकारात्मक असर पु¥याउने परम्परागत प्रचलनबाट सुरक्षित हुन पाउने अधिकारमा आघात पु¥याउछ । बाल बिवाहले शिक्षामा समान अधिकारलाई कुण्ठित गर्न सक्दछ ।
यसै गरि बालबिवाहले बालबालिकाको उमेर अनुसार आराम गर्न पाउने, मनोरञ्जन गर्न पाउने र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारमा असर पार्दछ । आर्थिक शोषण विरुद्धको अधिकारमा आघात पु¥याउछ । बालविवाहले शारीरिक एवं मानसिक स्वास्थ्य तथा उनीहरूको विकासमा नकारात्मक असर पु¥याउने कुनै पनि कामबाट सुरक्षित हुन पाउने अधिकार प्राप्तीमा असर पार्दछ । बाल विवाहले यौन दुव्र्यवहार र शोषण विरुद्धको अधिकारमा हनन् हुन सक्दछ ।
बाल विवाह न्युनीकरण गर्ने हाम्रो जिम्मेवारी ः
बाल विवाह भइरहँको भोज र समारोहमा सामेल नहुने । बाल विवाहले बालबालिकामा पार्ने नकारात्मक असरका बारेमा समाजमा विशेष गरी बालबालिका स्वयं र अभिभावकहरूमा जनचेतना जगाउने । बाल विवाह समाज विरुद्धको दण्डनीय र जघन्य अपराध हो भन्ने विषयमा व्यापक प्रचार प्रसार गर्ने । बालिकालाई शिक्षा दिने विषयमा जोड दिने । समाजमा कुनै बालबालिकाको सानै उमेरमा विवाह हुन लागेको छ भने त्यस प्रति गम्भीर चासो राख्ने । बालबिवाह कानूनी अपराधका साथै यसले बालवालिकाको शारीरिक र मानसिक बिकासमा असर पार्छ भन्ने कुरा ब्यापक प्रचारप्रसार गरिनु पर्दछ ।
बाल विवाहका नकरात्मक असरहरुका वारे गाउँस्तरमा पुजा पाठ, चाडपर्व गर्दाका दिन समुदायहरुलाई जानकारी गराने खालका कार्यक्रम गर्ने । विवाह गर्नका लागि लगन मागेर विवाह गर्ने चलन भएका कारण आउँदा दिनमा बिवाहको कुराकानी हुनु अघि नै जन्मदर्ता वा विद्यालयको मार्कसिट आधार मान्ने । उमेर नपुगेको खण्डमा विवाहको लगन नदिने । विवाहको कुराकानी बन्द गर्र्ने । बाल वालिका कारण जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउन प्रोत्साहन गरौ ।
बाल विवाह रोक्न सल्लाह सुझाव दिंदादिदै पनि यदी कसैले विवाह गर्न गराउन लागेमा बालक्लब, किशोर किशोरी क्लव, बालअधिकारको क्षेत्रमा कार्यरत बिभिन्न मानव अधिकारवादी संघ सस्था, राष्ट्रिय मानव अधिकार आयोग, स्थानीय बालसंरक्षण समिति, बाल कल्याण समिति, स्थानीय तहको महिला तथा बालबालिका शाखा र नजिकैको प्रहरी चौकीमा खबर गरि बालविवाह रोक्न सहयोग गर्नु पर्दछ । पैसा नलाग्ने १०९८ बाल हेल्पलाइनमा खवर गरि बाल विवाह रोकथामका लागि जोसुकैले सहयोग पु¥याउनु पर्दछ ।
बालविबाह कानूनी अपराधका साथै यसले बाल विवाह गर्ने बालवालिकाको शारिरीक र मानसिक असर पार्ने भएकाले यसको रोकथाममा लाग्नु हामी सबैको दायित्व र कर्तब्य पनि हो । पहिले बालविवाह अभिभावकले बढी गरि दिन्थे भने अहिले बालबालिका आफैले भागेर बालविवाह गर्ने प्रवृत्ति बढेको छ । फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालको दुरुपयोग र क्षणिक शारीरिक आकर्षणमा बालबालिकाले बाल विवाह गर्ने प्रवृत्ति बढ्दै जानु गम्भीर समस्याको रुपमा रहेको छ ।
पछिल्लो समय बालबालिका मात्रै होइन कि कतिपय अभिभावकहरुमा पनि सामाजिक सञ्जालको सही प्रयोग भन्दा दुरुपयोग गर्ने प्रवृत्तिले त्यसको असर बालवालिकासम्म पनि पर्ने गरेको देखिएको छ । आफुले जतिवेला पनि सामाजिक सञ्जालमा झुम्मिने र बालबालिकालाई प्रयोग नगर भनेर अर्ति दिंदैमा बालबालिका मान्दैनन् । बालबालिकालाई उचित समय नदिने र उनीहरुको समस्या सहजै अभिभावकसंग भन्न सक्ने वातावरण नहुँदा बालबालिकाको ध्यान सामाजिक सञ्जाल तर्फ जाने र जसका कारण क्षणभरमा मायाजालमा फस्ने अपरिपक्क अवस्थामै विवाह गर्ने प्रवृत्तिले धेरै बालबालिकाहरु सुनौलो भविष्यमा गम्भीर आधात पु¥याइरहेको छ ।
कानूनले त्यसै विवाह गर्ने उमेर बिस बर्ष गराएको होइन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नका लागी नै बालबिवाहमा रोक लगाइएको हो । उमेर परिपक्क नभई विवाह गर्नाले पढाईलेखाई र वृद्धि विकासमा असर पार्ने, कम शरिर पुर्ण रुपमा विकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्ने, मातृशिशु मृत्यु दर बढ्ने भएकाले बाल विवाहमा रोक लगाईएको हो ।
अन्त्यमा बालविवाह कानूनी अपराध हो । बालविवाहले बाल विवाह गर्र्नेे बालबालिकाको शारिरीक र मानसिक रुपमा गंभिर असर पार्ने गर्दछ । बाल विवाह गर्नाले कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता पाइदैन । बाल विवाह स्वतः बदर योग्य भएकाले बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको हुँदैन । उनीहरुको विवाह दर्ता हुँदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै हक अधिकार पाउँदिनन् । बाल विवाह गर्दा कानूनी हक अधिकार नपाइने शारिरीक र मानसिक क्षति मात्रै हुने भएकाले बाल विवाह रोक्न सबैले आआफ्नो तर्फबाट पहल गरौ । बाल विवाह हुनै नदिन जनचेतना फैलाउ । यति गर्दा पनि कही कतै बाल विवाह हुन लागेमा प्रहरीमा खवर गरौ । विवाहवारी २० बर्ष पारि मात्रै गरौ । (लेखक गौतम अधिवक्ता हुन् ।)