राष्ट्रपतिबाट तेह्रौँ सागको भव्य उद्घाटन [तस्विरहरु]

ऋषिराज गैरे


१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आइतवार साँझ राजधानी काठमाडौंस्थित दशरथ रङ्गशालामा भव्य समुद्घाटन भएको छ । निकै आकर्षक र भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सागको उद्घाटन भएको हो । सार्क राष्ट्रका ५ हजारबढी खेलाडी, अफिसियल, हजारौं दर्शक राष्ट्रपति भण्डारीले १३ औं साग समुद्घाटन गरेकी थिइन् ।


सहभागी मुलुकका खेलाडीको मार्च पास, आतिशबाजी र पटका पड्काएर थप आकर्षक, मनोरञ्जनात्मक उद्घाटन समारोहमा साँस्कृतिक प्रस्तुतिले रौनक दिएको थियो । उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो । कुन्ति मोक्तान, आनन्द कार्की, इन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरे ।


३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए । ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेको समारोहमा खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।


सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागको आठौं संस्करण नेपालले १९९९ मा र २०१९ मा गरी तेस्रो पटक आयोजना गरेको हो । यसपटक सागमा करिब १८ हजार सुरक्षाकर्मी र ५ सय स्वयंसेवक परिचालन गरिएको छ । १३ औं सागका २८ खेलहरु काठमाडौं, पोखरा र जनकपुरका २९ खेलस्थलमा हुँदैछन् ।


त्यसअघि, समारोहलाई सरकारतर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको भन्दै सागलाई खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र नभै सार्क मुलुकबीचको एकता र मित्रता पनि भएको बताए । मूल आयोजक समितिका अध्यक्ष समेत रहेका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताबारे बोलेका थिए । सिलवालले १३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया