पर्यटन व्यवसायीले भने, ‘पर्यटकीय स्थलको प्रवद्र्धनमा सरकारको मात्रै भर नपरौं’

होटल व्यवसायीहरुले पर्यटकीय स्थलको प्रवद्र्धनमा सरकारको मात्रै भर पर्न नहुने धारणा राखेका छन् । सोमबार होटल व्यवसायी संघ बाँकेले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अवलोकन भ्रमणका क्रममा नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायीहरुले होटल व्यवसायी पर्यटन व्यवसायी भएकाले पर्यटकीय स्थलको प्रवद्र्धनका लागि आफै पनि लाग्नु पर्ने बताएका हुन् ।


कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले प्रदेश समितिले योजना बनाएर प्रदेशका पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धनका लागि पहल गर्ने बताएका थिए । उनले प्रदेश ५ मा प्रशस्त पर्यटकीय स्थल रहेकाले त्यसैमार्फत पर्यटक भित्र्याएर समृद्धिको दिशामा अघि बढ्न सकिने बताए ।


अध्यक्ष काफ्लेले आगामी पुसमा हुन लागेको केन्द्रीय अधिवेशनमा प्रदेश ५ को एउटै धारणा बनाएर अगाडि बढ्नका लागि आगामी मंसिर १८ गते होटल व्यवसायी संघका जिल्ला अध्यक्ष र महासचिव सहभागी हुने गरी बैठक समेत राखिएको जानकारी दिए ।


कार्यक्रमको अध्यक्षता गरेका होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले पर्यटनको क्षेत्रमा गुरुयोजना बनाएर अघि बढ्ने तयारी भैरहेको बताएका थिए । ‘बाँकेको विकासका लागि पर्यटकीय गुरुयोजना बनाएर अघि बढ्ने तयारी गरेका छौं’, अध्यक्ष कंडेलले भने, ‘त्यसका लागि प्रदेश ५ का सबै जिल्लाहरुबाट समर्थन र सहयोगको अपेक्षा राखेका छौं ।’


अध्यक्ष कंडेलले बाँकेमा प्रशस्त पर्यटकीय स्थलहरु रहेकाले त्यसको प्रवद्र्धनमा सहयोग गर्न होटल व्यवसायीहरुलाई आग्रह गरेका थिए । ‘प्रदेशका सबै जिल्लामा पर्यटकीय स्थलहरु छन्, तिनको प्रवद्र्धनका लागि सबै जिल्लाका व्यवसायीले हातेमालो गरेर अगाडि बढ्नु पर्छ’, अध्यक्ष कंडेलले भने । उनले रुपन्देहीका होटल व्यवसायीलाई बाँकेका पर्यटकीय स्थलहरु बारे जानकारी दिंदै प्रवद्र्धनमा भूमिका खेल्न आग्रह गरेका थिए । ‘समृद्ध प्रदेश बनाउन आपसी हीतका लागि मिलेर काम गरौं’, अध्यक्ष कंडेलले भने ।


अध्यक्ष कंडेलले भ्रमण बर्ष २०२० सुरु हुन लागेकाले त्यसको सफलताका लागि व्यवसायिक क्षेत्रबाट पनि सक्दो प्रयास हुनुपर्ने धारणा राखेका थिए । उनले सरकारले जस्तै व्यवसायिक क्षेत्रबाट पनि पर्यटन बर्ष कसरी सफल बनाउने भन्ने तर्फ जोड दिनुपर्ने बताएका थिए ।
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले होटल व्यवसायीले आन्तरिक र बाह्य पर्यटन भित्र्याउनका लागि आफ्नै स्तरबाट पनि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

‘पर्यटकीय स्थलका बारेमा जानकारी लिन, दिन जिल्ला, जिल्लामा अवलोकन भ्रमण गरिरहेका छौं’, अध्यक्ष जिसीले भने, ‘हामी आफैले आफ्नो क्षेत्रको प्रवद्र्धन गर्न सुरु गरौं ।’ उनले नेपाल र भारतमा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने योजना आफुहरुको रहेको सुनाएका थिए । ‘हामी आफै पनि सक्षम छौं भन्ने सन्देश सरकारलाई दिनुपर्छ, सरकारको मुख ताकेर मात्रै हुँदैन’, उनले भने ।


अध्यक्ष जिसीले संघीयता पछि बर्दियादेखि नवलपरासीसम्म प्रदेश ५ जोडिएकाले समग्र प्रदेशको पर्यटकीय स्थलको प्रचारप्रचार गरेर प्रदेशकै विकास गर्न गर्न सकिने बताएका थिए । ‘त्यसैले बुटवलमा हालै भएको फोटो प्रदर्शनीमा प्रदेश ५ का सबै जिल्लाहरुको पर्यटकीय स्थललाई समावेश गरेका थियौं’, उनले भने ।


अध्यक्ष जिसीले पर्यटन व्यवसायीले पर्यटकीय स्थल पहिल्याउनु पर्ने बताउँदै त्यसैका लागि जिल्ला, जिल्ला भ्रमणमा रुपन्देहीको टोली निस्किएको बताएका थिए । उनले बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, मानसरोवरको ट्रान्जिट नेपालगन्ज भएकाले पर्यटकीय विकासको पर्याप्त सम्भावना रहेको औंल्याएका थिए ।

आगामी पुस १४ गतेदेखि बुटवलमा सडक खाना महोत्सव आयोजना गर्न लागिएकाले त्यसमा सहभागिताका लागि आग्रह गर्दै अध्यक्ष जिसीले रुपन्देहीमा प्रशस्त पर्यटकीय स्थल रहेकाले अवलोकनका लागि आग्रह गरेका थिए । होटल व्यवसायी संघ बाँकेका वरिष्ठ सल्लाहकार नारद पुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन माधव दासले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया