महानगर कस्तो बनाउने ? सुझाव माग्दै नेपालगन्ज

नेपालगन्ज कस्तो महानगर बनोस् भन्ने चाहना राख्नुहुन्छ ? प्रत्येक बाँकेबासीले त्यो चाहना व्यक्त गर्ने दिन आइपुगेको छ । पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्जलाई महानगर बनाउने औपचारिक पहल सँगै जन सहभागितालाई जोड दिइएको छ ।

त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले सुझाव आव्हान गरेको छ (हेर्नुस् प्रथम पेजको सूचना) । ‘महानगरको डिपिआरका लागि टेण्डर खोल्ने निर्णय भैसकेको छ’, कार्यवाहक नगर प्रमुख, उमा थापामगरले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसअघि आम जनताको सुझाव आव्हान गरिएको हो ।’ यद्यपि, डिपिआरको जिम्मा पाउने कम्पनीबाटै सम्भाव्यता अध्ययन गरी बिस्तृत विवरण उपलब्ध गराउने जिम्मेवारी रहनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिका, जानकी, खजुरा र डुडुवा गाउँपालिकालाई लक्षित गरी आव्हान गरेको सूचनामा ‘महानगरपालिकाका लागि सम्भाव्यता अध्ययन गर्नुपूर्व यस क्षेत्रका विषयविज्ञ लगायतहरुसँग सुझाव माग गरिएको’ उल्लेख छ । उपमहानगरपालिकाले मंसिर १५ गतेसम्म प्राप्त राय सुझावका आधारमा सम्भाव्यता अध्ययनको मोडालिटि तयार गर्ने सम्बद्ध स्रोतले जनाएको छ ।

खासगरी राजनीति दल, नागरिक अगुवा, उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतसँग उपमहानगरपालिकाले प्रत्यक्ष सुझावको अपेक्षा गरेको कार्यवाहक नगर प्रमुख थापाले बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया