खजुराको समृद्धिमा २१ बूँदे घोषणापत्र आधार

१५ वर्षमा खजुराको काँचुली फेर्न गाउँपालिका गुरुयोजना


खजुरा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा सम्मेलनबाट पारित २१ बूँदे घोषणापत्रमा टेकेर खजुराको समृद्धि र विकासमा अगाडि बढ्ने बताएका छन् । शुक्रवार सम्मेलनको स्मारिका विमोचन गर्दै कक्षपतिले १५ वर्षमा खजुराको काँचुली फेर्न गाउँपालिकाले १५ वर्षे गुरुयोजना बनाएर अगाडि बढाएको बताए ।
बृहत खजुरा सम्मेलन २०७६ स्मारिका खजुराको इतिहासको रुपमा रहेको उल्लेख गरेका कक्षपतिले विकासका लागि सम्मेलनका मार्ग निर्देशन कोशेढुंगा सावित हुने विश्वास गरे ।
बाँकेको खजुरा गाउँपालिकाले गत वर्ष कार्तिक ६ र ७ गते आयोजना गरेको बृहत खजुरा सम्मेलनको स्मारिका प्रकाशन गरी विमोचन गरेको हो । खजुराको विकास र समृद्धिको महत्वपूर्ण आधारकारुपमा रहेको उक्त स्मारिका खजुरा गाउँपालिकाले आफ्नो सम्पत्तिका रुपमा ग्रहण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बृहत खजुरा सम्मेलन व्यवस्थापन समिति संयोजक भक्तबहादुर केसीले शुक्रवार पालिकामै आयोजिक कार्यक्रममा संयुक्तरुपमा स्मारिका विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा अध्यक्ष कक्षपतिले खजुरा सम्मेलनमा पारित भएका विभिन्न कार्यपत्र तिनले निर्देश गरेका विषय र १५ वर्षे गुरुयोजना अन्तरगत योजनावद्ध विकासमा खजुरा अग्रसर भएको बताए । उनले खजुरामा निर्माण भइरहेको औद्योगिक ग्राम, खेलकुद ग्राम, कृषि, शिक्षा स्वास्थ्य लगायतका पूर्वाधार विकास १५ वर्षे गुरुयोजना अनुसारै अगाडि बढेको बताए । बृहत खजुरा सम्मेलन व्यवस्थापन समितिका संयोजक भक्तबहादुर केसीले स्मारिका गाउँपालिकाको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरे । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले खजुरा गाउँपालिकाको भविष्यको जग विकास र समृद्धिको आधारका रुपमा स्मारिका रहेको बताए ।
प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेको बृहत खजुरा सम्मेलनमा खजुरा समृद्धिका लागि कृषि, ग्रामीण विकासका लागि महिला सशक्तीकरण, समाजिक समावेशीकरण र खजुरा, स्वस्थ नागरिक र खजुरा, खेलकूद र सृजनशीलता, विकासमा नागरिक सहभागिता, गुणस्तरीय तथा प्राविधिक शिक्षाका आधारहरु, आर्थिक विकासमा खजुरा, पूर्वाधार विकासमा खजुरा, ग्रीन सिटीको अवधारणा विषयमा खजुरा क्षेत्रकै विषय विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमाथि टिप्पणी हुनुका साथै सहभागीबाट खुलेर सल्लाह सुझाव संकलन गरिएको थियो । तिनै कार्यपत्रको संगालो स्मारिकाको विषयबस्तु हुन् । खजुरामा जन्मिएर आधारभूत शिक्षा हासिल गरी अध्ययन तथा पेशागत कामका लागि देश विदेशमा रहेका तथा खजुरामा हाल बसोबास गर्दै आएका करीब ३५० जनाले सम्मेलनमा भाग लिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया