‘प्राथमिकतामा नरैनापुर–अगैया सडक’

नेपालगन्ज – प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नरैनापुर–अगैया सडक खण्डलाई प्रदेश सरकारले उच्च प्राथमिकता साथ लिने बताएका छन् । पहिलो पटक मंगलबार बाँकेको नरैनापुर गाउँपालिका पुगेका मन्त्री चौधरीले उक्त सडक खण्डको अवलोकन गर्दै प्रदेश सरकारले सडक विस्तार र स्तरोन्नतिका लागि प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मन्त्री चौधरीलाई गाउँपालिकामा स्वागत गर्दै गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण समेत गराएका थिए । मन्त्री चौधरी समक्ष गाउँपालिकाका अध्यक्ष शाहले केही अत्याबश्यक र महत्वपूर्ण योजनाहरु कार्यान्वयनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मागपत्र प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दैनिक नेपालगन्जलाई बताए । त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद् कृष्णा केसी (नमुना) ले विकासका लागि सबै दल तथा समुदाय मिलेर अघि बढ्नुपर्ने बताइन् ।


नरैनापुरदेखि अगैया जोड्ने सडक कालोपत्रे निर्माणमा तिब्रता, वडा नम्बर २ मा रहेको सुन्दर मन्दिर र वडा नम्बर ३ को बर्फानी बाबा धामलाई लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, वडा नम्बर १ को सुईयामा नेपालको स्वागतद्वार निर्माण, वडा नम्बर ४ को नरैनापुर खोला र वडा नम्बर १ को सुईया खोलामा तटबन्ध निर्माण र वडा नम्बर ४ को खोदावाँ गाउँदेखि दौलतपुर हुँदै नरैनापुर–अगैया सडक जोड्ने चक्रपथ निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।


त्यसैगरी वडा नम्बर ६ को सुनवर्षादेखि कोहला हुँदै हुलाकी सडक जोड्ने पिसीसी सडक निर्माण, वडा नम्बर १ को कटकुइँयादेखि भुराहा नाका–गुर्दनगौरी हुँदै भौवा नाका जोड्ने सीमा सडक निर्माण, वडा नम्बर ५ को मटैयादेखि सुनवर्षा सडक निर्माण, दलितका लागि ५ सय परिवारलाई विपन्न आवास निर्माणमा सहयोग, वडा नम्बर १ देखि ६ सम्म सोलार विहिन परिवारका लागि ३ हजार थान घरेलु सोलार सहयोग, वडा नम्बर २ को आदर्श मावि लक्ष्मणपुरलाई कन्या माविका रुपमा विकास गर्न शिक्षक दरबन्दी तथा पूर्वाधार विकासमा सहयोग र वडा नम्बर ६ को जयकिषान माविलाई नमूना माविका साथै प्रविधिक शिक्षाको हबको रुपमा विकास गर्ने गाउँपालिकाको योजनालाई सघाउन मन्त्री चौधरी समक्ष अध्यक्ष शाहले आग्रह गरेका थिए । मन्त्री चौधरी जिल्लाकै पिछडिएको नरैनापुर गाउँपालिकालाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएर काम गर्ने बताए छन् ।

प्रतिक्रिया

प्रतिक्रिया