सिक्टाको काम रोकिंदैन : मन्त्री पुन

अख्तियारले परियोजना प्रमुख लगायत २१ जना विरुद्ध मुद्दा दायर गरेपछि ठप्प प्रायः रहेको सिक्टा सिचाई आयोजनाको काम नरोकिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्रष्ट पारेका छन् । बिहीबार सिक्टा सिंचाई आयोजनाको स्थलगत निरिक्षणपछि स्थानीयबासीहरुलाई विश्वस्त बनाउँदै मन्त्री पुनले विशेष अदालतमा मुद्दा चल्दैमा सिक्टाको काम नरोकिने प्रष्ट पारेका हुन् ।

 
‘मन्त्रीले स्पष्टसँग निर्माण कार्यमा बाधा नपर्ने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको छ’, स्थलगत अनुगमनमा रहेकी प्रदेशसभा सदस्य कृष्णा केसीले दैनिक नेपालगन्जसँग भनिन्, ‘अख्तियारको मुद्दापछि काम रोकिने आशंकामा सर्वसाधारणहरुको गुनासो प्रति मन्त्री पुनःले स्पष्ट पार्नुभएको छ ।’

 
आयोजना प्रमुख कृष्ण नेपालका अनुसार, सिक्टाको पश्चिम मूल नहरको २६ किलोमिटर दुरीबाट स्थलगत अनुगमन गर्दै गएका मन्त्री पुन सहितको टोलीले १८ किलोमिटरसम्मको पूर्ण विवरण लिएको थियो । ‘समस्याग्रस्त सबै क्षेत्रको मन्त्रीज्यूबाट स्थलगत अनुगमन भएको छ’, आयोजना प्रमुख नेपालले दैनिक नेपालगन्जसँग भने, ‘निर्माण कार्य अगाडि बढाउन निर्णय प्रक्रियामा लाग्ने समय बाहेक अब ढिलो नहुने प्रष्ट पनि मन्त्रीज्यूबाट भएको छ ।’ स्थानीयबासीले मूल नहर तत्काल पुनःनिर्माण वा मर्मत गरी पानी चलाउन मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।

 
सिक्टामा मुद्दाकै कारण निर्माण कार्य अगाडि बढाउन बाधा नपुग्ने भन्दै मन्त्री पुनले प्रक्रियागत ढिलाई बाहेक छिटोभन्दा छिटो पानी सञ्चालन गर्ने कुरामा आश्वस्त पारेका थिए । ‘मर्मत गरेर हुन्छ वा के कसरी गर्नुपर्ने हो पानी सञ्चालन गर्ने कुरामा मन्त्रालयले सहजीकरण गर्छ’, मन्त्री पुनको भनाइ उद्धृत गर्दै प्रदेशसभा सदस्य केसीले भनिन् । ‘अदालतमा मुद्दा विचाराधिन भैरहँदा सिक्टाको भविष्य अन्योलमा पर्ने स्थानीयहरुको चिन्तामा मन्त्रीज्यूबाट सहजीकरण हुने कुराको प्रतिबद्धता आएको छ’, केसीले भनिन् ।

 
आयोजनाका अनुसार, सिक्टाको काम रोकिएको छैन । यद्यपि, स्थानीयबासीहरुले अख्तियारको मुद्दासँगै पश्चिम नहरको काम ठप्प छ । ‘काम गरेजस्तो देखाइएपनि कर्मचारीहरु अख्तियारको डरले निष्क्रिय प्रायः छन्’, स्थानीयबासी भन्छन्, ‘मुद्दाको छिनोफानो नलाग्दासम्म कामले गतिलिने देखिंदैन ।’ उक्त कुरामा सहमत प्रदेशसभा सदस्य केसीले काम रोक्न नहुने कुरामा आफुले बारम्बार आयोजनादेखि सरकारसम्म ध्यानाकर्षण गराउने काम गरिरहेको बताएकी छन् । ‘स–साना कुराको अवरोधले सिक्टाको कामले गति लिन सकेको छैन’, केसीले भनिन् ।
आयोजना प्रमुख नेपालका अनुसार, पश्चिमी तर्फको मूल नहरको समस्याग्रस्त बाहेक काम सकिएको छ । शाखा नहरतर्फ डुडुवामा ठेकेदारले काम नगरेपछि ठेक्का रद्द प्रक्रियामा गएको आयोजनाको काममा न्यायिक निर्णयको पर्खाइ छ । ‘सिधनिया शाखातर्फ १३ किलोमिटरमा काम भैरहेको छ’, आयोजना प्रमुख नेपालले काम नरोकिएको प्रष्ट पार्दै भने, ‘पूर्वी नहर तर्फको काम पनि भैरहेको छ ।’

 
आयोजनाका अनुसार, पश्चिम तर्फ चार वटा शाखा नहर निर्माण कार्य छिट्टै सुरु गर्ने प्रक्रिया अगाडि बढेको छ । १४ किलोमिटर दुरीको अक्कलघरवा, गोदहना, पिपरी र पर्सेनीपुर शाखा नहर निर्माण कार्य प्रक्रिया अगाडि बढेको हो ।
बाँकेको भाग्य र भविष्य बदल्ने विश्वास गरिएको सिक्टा सुचारु भएपछि झण्डै ४३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई पुग्ने विश्वास छ । घुलनशील माटोका कारण मूल नहरको झिझरीखोलादेखि ओभरीसम्मको नहर समस्यग्रस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा अनियमितता भएको भन्दै विशेष अदालत साढे ८ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया