नमूना विकासका लागि ‘बृहत सम्मेलन’ गर्दै खजुरा

नगरोन्मुख खजुरा गाउँपालिकाले विकासको दीर्घकालीन योजना सहित आफुलाई नमूनाका रुपमा स्थापित गर्न ‘बृहत बौद्धिक सम्मेलन’ गर्ने भएको छ । त्यसका लागि गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको अध्यक्षतामा बुधबार बसेको विज्ञ समूहको बैठकले तयारी समिति गठन गरेको हो ।

 
‘बौद्धिक सम्मेलन २०७५ ले खजुराको नमूना विकासका लागि दीर्घकालीन अवधारणा तयार गर्नेछ’, गाउँपालिका प्रमुख कक्षपतिले विज्ञ समूहका सदस्य भक्त बहादुर केसीको संयोजकत्वमा तयारी समिति बनाइएको जानकारी दिंदै भने । कक्षपतिका अनुसार, यसबीच खजुरा गाउँपालिका क्षेत्रमा पर्ने शैक्षिक संस्थाबाट आधारभूत तथा उच्च शिक्षा अध्ययन गरेका विषयविज्ञहरु देश, विदेशबाट सम्मेलनमा उपस्थित हुनेछन् ।

 
‘खजुराका पूर्व विद्यार्थीहरु देश, विदेश जहाँ भएपनि विशेषज्ञका रुपमा सम्मेलनमा उपस्थित हुनुहुनेछ’, उनीहरुलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको जानकारी दिंदै कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका प्रत्येक विषयमा विज्ञहरुले अलग–अलग कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसमा सम्मेलनका सहभागीहरुले आफ्ना धारणा र योगदानका लागि प्रतिबद्धता जनाउनु हुनेछ ।’

 
विकासमा दीर्घकालीन योजनाको निर्माणसँगै प्रत्येक नागरिकको अपनत्व, सहभागिता र सहकार्य खोज्ने अवधारणा अनुरुप खजुरा विकास सम्मेलन आव्हान गर्न लागिएको गाउँपालिका प्रमुख कक्षपतिको भनाइ छ । सम्मेलन तयारीका लागि भक्त बहादुर केसी संयोजक रहेको समितिमा विषयविज्ञका रुपमा राखिएका प्रतिनिधिहरुलाई सदस्य बनाइएको छ । राजनीतिक सल्लाहकार भीम बहादुर ओली, कानुनी सल्लाहकार विकास आचार्य, प्रेस सल्लाहकार दुर्गा रोकाय, विज्ञ समूहका पूर्णचन्द्र उपाध्याय, किरण ढकाल, इन्द्र थापा लगायत तयारी समितिमा सदस्य छन् । ढकालले समितिको सचिवालय सम्हालेका छन् भने प्रत्येक १५ दिनमा तयारीबारे नियमित बैठक र जनप्रतिनिधिसँगको अन्तरक्रियालाई प्राथमिकतामा राखिएको छ ।

 
तयारी समितिले अवधारणादेखि आयोजनाको मोडालिटीसम्म तयार पार्ने अधिकार पाएको जानकारी दिंदै खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार दुर्गा रोकायले समुन्नत खजुराको निर्माणका लागि सम्मेलन कोशेढुंगा साबित हुने विश्वास गरिएको बताए । ‘यो अभ्यास अनुकरणीय हुने विश्वास लिएका छौं’, तयारी समितिका सदस्य समेत रहेका पत्रकार रोकायले दैनिक नेपालगन्जसँग भने, ‘खजुरा विकास सम्मेलन २०७५ एउटा बौद्धिक सम्मेलनमात्रै नभएर खजुराको भाग्य र भविष्य निर्माणको महत्वपूर्ण पर्व पनि साबित हुनेछ ।’
विकासमा जनप्रतिनिधि साझेदारी अभ्यास
बाँके क्षेत्र नं. ३ मा जनप्रतिनिधिहरु बीच विकासका लागि उत्कृष्ट साझेदारी अभ्यास थालिएको छ । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका लागि जनप्रतिनिधिहरु बीच बजेटको समेत साझेदारीले विकासमा उत्कृष्ट अभ्यास थालिएको हो । ‘सम्भवत देशमै यो मोडेल नमूना हुनसक्छ’, जिल्ला समन्वय समितिका अधिकृत मिन बहादुर मल्लले दैनिक नेपालगन्ज भने, ‘पूर्वाधार विकासमा यसले महत्वपूर्ण योगदानको थालनी गर्नेछ ।’

 
यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा प्रत्यक्ष निर्वाचित सांसदका लागि छुट्याइँदै आएको बजेट पछिल्लो सरकारले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रलाई चार करोड रुपैयाँ बजेट दिंदै आएको सरकारले उक्त बजेट परिचालनको नेतृत्व प्रत्यक्ष निर्वाचित सांसदलाई दिएको छ ।
बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिमा बसेको सरोकारवालाहरु बीचको बैठकमा निर्वाचन क्षेत्र अन्तर्गतका स्थानीय तहले बजेटमा समेत साझेदारी गरेका हुन् । उनीहरुले चार वटा मुख्य सडक कालोपत्रे योजना छनोट गर्दै खजुरा, जानकी र बैजनाथ गाउँपालिकाले पूर्वाधार साझेदारी कार्यक्रमको चार करोड बजेटमा ६ करोड ८५ लाख रुपैयाँ थप गरी विकासमा साझेदारी गरेका हुन् ।

 
जिल्ला समन्वय समितिका अनुसार, खजुरा गाउँपालिकाको डि गाउँदेखि ईगाउँ मनकामना आधारभुत विद्यालय जोड्ने सडक कालोपत्रे गरिनेछ । नयाँ कार्यक्रम अनुसार, सीतापुरको बाबास्थानदेखि के गाउँसम्मको सडक कालोपत्रे गर्ने योजना छनोटमा परेको छ । त्यस्तै, जानकी गाउँपालिकाको गनापुर चोकदेखि खजुरारोडसम्मको सडक र वैजनाथ एचगाउँदेखि स्याउली बजारसम्मको सडक कालोपत्रेको योजनालाई सोमबारको बैठकले स्वीकृत गरेको हो ।

 
योजना छनोट तथा परामर्श समितिमा निर्वाचित सांसद संयोजक रहने व्यवस्था छ । समितिमा तत् निर्वाचन क्षेत्रका समानुपातिक सांसद, प्रदेश सभा सांसद, जिल्ला समन्वय समितिका संयोजक, सहसंयोजक र स्थानीय तहका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ । योजना निर्देशक समितिमा भने निर्वाचित सांसदको नेतृत्व र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

 
बाँके क्षेत्र नं. ३ ले आफ्ना योजना छनोट गरिसकेपनि बाँकी दुई वटा निर्वाचन क्षेत्रले अझैसम्म टुंगो लगाएका छैनन् । सम्बद्ध स्रोतका अनुसार, क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राईले दुई पटकसम्म योजना छनोट बैठक डाकेपनि सहमति जुटेको छैन । क्षेत्र नं. १ ले पनि छनोट प्रक्रियाका लागि निरन्तर छलफल चलाइरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया