हुलाकी सडक निर्माण सुरु


नेपालगन्जन्यूज / नेपालगन्ज

बाँके राप्तीपारिका बासिन्दाहरुको मुख्य चासोको विषय भनिएको हुलाकी सडक निर्माण कार्य सुरु भएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईया सम्म ४४ दशमलव ६ किलोमिटर रहेको सडकको मुख्य केन्द्रविन्दु राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरबाट निर्माण कम्पनीले औपचारिक रुपमा काम थालेको हो ।

केन्द्रविन्दुबाट नेपालगन्ज र सुईया दुबै तर्फ काम सुरु भएको देखिएको छ’, स्थानीय युवा हरिशंकर पाण्डेले नेपालगन्जन्यूज संग भने, ‘दिउँसोबाट निर्माण कम्पनीले काम सुरु गरेको हो ।’ सरकार संग सम्झौता भएलगत्तै गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीले काम सुरु गरेको हुलाकी सडक आयोजनाले जनाएको छ ।
‘हामीले ३० महिनामा निर्माण सक्नु पर्ने हिसाबले ठेक्का लिएका छौं’,  नेपालगन्जन्यूज संग कुरा गर्दै निर्माण कम्पनीका प्रमुख तुलसीराम भण्डारीले भने, ‘समयअवधि भन्दा पहिले नै काम पूरा गर्ने लक्ष्यका साथ सुरुवात गरिएको छ ।’

‘फाल्गुन ४ गते हामी संग सम्झौता भएको हो’, भण्डारीले भने, ‘साधान श्रोत ल्याउने काम पनि जारी छ ।’ डोजर र स्क्याभेटर ल्याएर अहिले काम थालिएको, पछि आवश्यकता अनुसार सामाग्रीहरु ल्याउने र द्रुत गतिमा काम अघि बढाउने योजना छ ।

५।५ मिटर कालो पत्रे सहितको सम्झौता हो, सडकको डिजाइनमा पनि ब्यापक हेरफेर भएको छ ।  प्रमुख भण्डारीले भने, गुणस्तर र समयावधिमा हामी सतर्क छौं ।

राप्तीपारिको हुलाकी सडक निर्माणमा पटक पटक चासो देखाउँदै आएका बासिन्दाले निर्माण हुन थालेपछि खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया