घन्किएनन् चोक–चौतारामा तीजका भाका

कोरोना कहरको मारमा तीज, सुनसान बाँके -बर्दिया

भावुक योगी

विगतका वर्ष तीजको दिन सम्झँदा जोकसैलाई पनि रोमाञ्चित बनाउँछ । अघिल्ला वर्षमा तीज पर्व आउनु भन्दा करिव पन्ध्र–बीस दिन अघिदेखि नै गाउँ, शहर, चोक चौतारोमा तीजको रौनक देखिन्थ्यो । हरेक चोक चौतारामा तीजका भाकामा मज्जाका गीत घन्कन्थे । जताततै तीजको माहोल देखिन्थ्यो । माइत जान र दरखान, खुवाउन सबैलाई भ्याइनभ्याई हुन्थ्यो । तीजको दिन गाउँ शहरका चोकचोकमा महिलाहरु झुण्डझुण्डमा नाचगानमा मस्त देखिन्थे । नाच हेर्ने दर्शकको भिड पनि उत्तिकै हुन्थ्यो । मठमन्दिरमा पूजाआजा गर्नेको भिड हुन्थ्यो ।

यसपालीको तीजमा भने कोरोना कहरको छायाँमा पर्यो । गाउँ, शहर बजारका चोक चौतारा सुनसान देखिए । चोक चौतारामा कहिँ कतै पनि तीजका भाका घन्किएनन् । सारीमा धपक्कै सजिएर माइत जान र दर खान हिँड्ने महिलाहरु यसपाली कतै देखिएनन् । सबै घरमंै सिमित रहे । आफ्नो घरपरिवारमै सिमित रहेर दर खाए । घरमंै नाचगान गर्दै रमाइलो गरे । बाहिर कतै पनि नाचगान गर्नेको झुण्ड पनि कतै देखिएन । मठमन्दिरमा सामूहिकरुपमा पुजापाठ गर्ने आउने महिलाको कतै देखिएनन् । बरु फेसबुक लाइभ र तस्विर पोष्ट गर्न तछाडमछाड देखियो ।

बागेश्वरी मन्दिर पनि सुनसान रह्यो, बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले तीजको रमझम कतै नदेखिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, सबै आफ्नो घरभित्रै रमाउनु भयो । सरकारले पनि त्यसैगरिनै तीज मनाउन आग्रह गरेको थियो । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर लकडाउन शुरु भएदेखनै बन्द भएपनि बाहिरैबाट दर्शन भेट गर्नेहरु पुग्थे, तर यसपाली तीजमा त्यस्तो पनि देखिएन ।

सामुहिकरुपमा पूजाआजा गर्ने महिलाहरु यसपाली एक्लाएक्लै घरमैं पुजा गरे । घर चोक चौतारोमा जुटेर रमाइलो गर्ने महिलाहरु यस वर्षको तीजमा घरको कोठामै सिमित रहेर रमाए । कतिपयले घर परिवारमा रमाइलो गरेका तस्बिरहरु सामाजिक सञ्जालमा राखेर तीजको न्यास्रो पनि मेटाएका छन् । माइत जान वर्षदिन तीज पर्खेर बसेका महिलाहरु माइत जान पाएनन् । माइती गएर रमाइलो गर्ने, दुखसुख साट्ने धोकोमा बसेका महिलाहरु यसपालीको तीजमा निराश भए पनि स्वास्थ्यको ख्याल गर्दै घर बसेर चित्त बुझाएको महिलाहरु बताउँछन् ।

मुलुकमा फैलिएको कोरोना त्रासले हिन्दु महिलाहरुको महत्वपूर्ण तीज पर्व यसवर्ष पूर्णरुपले प्रभावित रह्यो । कोरोना महामारीका कारण स्थानिय प्रशासनले भेला हुन रोक लगाएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण यस वर्षको तीज घरको कोठामै सिमित रह्यो । घरमै सिमित भएर तीज मनाउँदा न्यास्रो मानेका छन् । तर कोरोना महामारीको बेला घरमै रमाइलो गरेर तीज मनाउनु नै उपयुक्त रहेको महिलाहरुको भनाइ छ । स्थानीय महिला रुपकला कार्कीले भनिन्, ‘समूहमा रमाइलो गरेर वर्षेनी तीज मनाउँदै आइएकै हो । स्वास्थ्य भन्दा ठूलो चाड पर्व हुँदैन । यसपाली समूहमा रमाइलो गर्न नपाएर के भो त । अर्को वर्ष रमाइलो गरौँला नि ।’

बाँके बर्दियामा कोरोना जोखिम बढ्दै गएको छ । अहिले समुदायमै कोरोना संक्रमण देखिएको अनुमान छ । यस्तो बेलामा चाडपर्वका नाममा भिंडभाड गरेर रमाइलो गर्दा झनै जोखिम बढ्ने खतरा रहेकाले कोरोना महामारीका कारण बजार पनि महिनौदेखि बन्द छन् । यसपाली महिलाले तीजका लागि किनमेल पनि खासै गरेनन् । मिठो मसिनो, सुकिलोमुकिलो घरमा जे छ, त्यसैमा सिमित रहेर यसपालीको तीज मनाएको महिलाहरुको भनाइ छ । ‘अघिल्ला वर्ष बढी तडकभडक पनि हुन्थ्यो । यसपाली महिनौदेखिको लकडाउनले घर खर्च पनि सिमित भयो । घरमा जे छ त्यसै अनुसार घरमै रमाइलो गरेर तीज मनाइयो,’ स्थानीय बिमला भारतीको भनाइ थियो । घर परिवार भित्रै रहेर पर्व मनाउँदा खर्चमा पनि बचत भएको अधिकाँश महिलाहरुको भनाइ छ ।
अवस्थाको संवेदशीलता बुझेरनै हामीले घरमैं सुरक्षित ढंगबाट तीज मनाउन आव्हान गरेका हौं, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुपनि घरमैं बसेर रमाइलो गरेको प्रतिक्रिया दिंदै भनिन्, अब यो जोखिमको अवस्था सबैले बुझिसक्नु भएको छ । उपप्रमुख थापाले सार्वजनिक अपीलनै प्रकाशित गरि घरमैं तीज मनाउन आव्हान गरेकी थिइन् ।

सत्ययुगमा भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकाले भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा मनोकामना पुरा हुने विश्वासका साथ हिन्दु नारीहरु व्रत बस्ने गरेको हिन्दु ग्रन्थमा उल्लेख भएको बताइन्छ । यसदिन विवाहिता नारीहरुले आफ्ना पतिको सुस्वास्थ्यको कामनामा र अविवाहित नारीहरुले असल पतिको कामनामा व्रत बस्ने भन्ने परम्परागत चलन छ । पुजा अर्चना गर्न कुनै बाधा छैन, नेपालगन्ज १८ की ऋतु रिजालले कोरोनाले रमाइलोलाई मात्र प्रभावित बनाएको प्रतिक्रिया दिंदै भनिन्, संस्कार संस्कृतिको संरक्षण गर्दै धर्म परम्पराको पालनामा बाधा पारेको छैन । उनका अनुसार, महामारीबीच पनि महिलाहरु तीजको ब्रत बस्ने, पुजा अर्चना गर्ने संस्कारलाई निरन्तरता दिइनै रहेका छन् ।

समुदाय स्तरमा कोरोना देखिएकाले चाडपर्वका नाममा समुदायमा भिडभाड नगर्न र घरमै बसेर चाडपर्व मनाउन स्थानिय प्रशासनले आग्रह गर्दै आएको छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको भन्दै महिलाहरुले अहिलेको यस्तो महामारीका बेलामा प्रशासनले तोकेको स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेको स्थानीय प्रशासनको भनाइ छ । अटेरी गर्ने कतिपय जिल्लामा पर्व लक्षित निषेधाज्ञासमेत लगाइएको छ । बाँके बर्दियामा भने अटेरीका कुनै अराजक घटना सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया