कोरोना भाइरसबाट बच्नको निम्ति घरका पुरुष दाजुभाइहरुले महिला दिदी बहिनीहरुलाई खाना पकाउनमा सहयोग गरेर हुन्छ कि, नाँचगान गरेर हुन्छ कि, सँगै करेसा बारीमा काम गरेर हुन्छ कि, विभिन्न उपाय अपनाएर खुशी बनाएर राख्नुहोला

अछरी पोखरेल
विगतमा पनि तिज कसरी मनाउने ? भन्ने प्रश्न त उठिरहन्थ्यो । विगतमा झै यस बर्ष पनि तिज कसरी मनाउने भन्ने प्रश्नले निकै चर्चा पाएको छ । विगतमा मनाउने तिजहरुमा बढि तड्कभड्क गर्नु हँुदैन, महङ्गा सुनका गहना र महङ्गा साडी लगाउनु हँुदैन साधारण तरिकाले तिज मनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरिन्थ्यो ।
तर यस बर्षको सन्देश त्यो भन्दा फरक रहेको छ । यसपाली तिज कसरी मनाउने ? टोलटोलमा दिदी बहिनी जम्मा भएर नाँचगान गरेर मनाउने की घरपरिवार मात्र बसेर मनाउने ? नातापाता दिदीबहिनी माइतीको आगनीमा नाचेर मनाउने ? वा एक्लाएक्लै घरैमा बसेर मनाउने ? जस्ता विभिन्न तिज मनाउने तरिका मनमा उब्जीएका छन् ।
तिज भन्ने बितिकै माइतीको याद आउने, आमाको याद आउने, कहिलेकांिह तिजमा नजाँदा वा ढिलो पुग्दा माइतीमा आमाले आगनीको डिलमा बसेर बाटो हेरी रहेको र पुगेपछि आमा खुशी हँुदै तिजको खाजा पकाउन व्यस्त रहने गरेको याद आउदो रहेछ । मेरो आमा वितिसक्नु भयो तर उहाँले माइतीमा म मरेपछि पनि दिदीलाई तिजमा सधै बोलाए है भनि बुहारीलाई भन्नु भाको रहेछ । माइतीमा भाइबुहारीहरुले पनि औधि माया गर्छन् । आमा नभएपनि सधै तिजमा म नपुग्दासम्म बाटो हेरेरै बस्ने गर्दछन् । यसबर्ष पनि बोलाएका छन् । तर जाने कि नजाने दोधारमा म परेकी छु । नजाउँ बर्ष दिनको तिज । एक बर्षमा एक पटक मात्र आउँछ । जाउँ भने हाल कोरोना भाइरसको महामारी भुषको आगो झै सल्कीएको छ । माइतीमा गएर एक छाक खाएकै कारण कोरोना भाइरसको शिकार हुन पर्ने पो हो कि ? उत्तिकै चुनौति छ ।
जतिजति तिज नजिक आइरहेको छ त्यति नै दिदीबहिनीहरु छमछमी नाचेर गित गाएको र नाचेको,तिजको दर खाएको याद आइरहेको छ । माइतीमा मात्र होइन माइती जानु पूर्व घरैमा बसेर पनि घरका छोरीचेलीहरुलाई बोलाएर तिजको दर खुवाउने चटारो, हस्यांफस्याङ गरेको छुट्टै रमाइलो हुन्थ्यो । थकान त अति लाग्थ्यो तैपनि खुशीको थकान हुन्थ्यो । त्यसको छुट्टै रमाइलो हुन्थ्यो ।
तर अहिले त्यो रमाइलो सम्झेर घरैमा बस्नुको विकल्प छैन । यति अटेरी गरी भिडभाड गरी तिज मनाउने हो भने भोली कोरोना भाइरसका कारण संक्रमित हुनु पर्लाकी भन्ने डर एकातिर छ भने अर्को तिर माइतीको आगनीमा गएर मिठो मसिनो तिजको दर खाँदै छमछमी नाँचेको याद उत्तिकै आएको छ । आफ्नो मनको उकुस मुकुसलाई शान्त पार्नको निम्ति ल्यापटप खोलेर कोर्ने जमर्को गरेकी छु । सायद मलाई जस्तै अरु दिदीवहिनीहरुलाई पनि उकुसमुकुस भएर होला साडी लगाएर घरैमा नाचेको भिडियो बनाउदै फेसवुकमा राख्ने गर्नु भएको छ ।
तिज भन्ने बितिकै दिदीवहिनीहरु ठूलो संख्यामा जम्मा हुने र नाँचगान गर्ने, गहना र राता साडीमा सजिने भन्ने छाप परेको हाम्रो नेपाली समाजमा एक्लै घरमा बसेर बिताउन साह्रै गाह्रो हँुदो रहेछ । कोरोना भाइरसका कारण घरैमा बसेर बिताउनु परेको बेला कसरी तिजलाई रमाइलो बनाउने ? भन्ने सवालमा व्यापक विश्लेषण गर्न जरुरी छ । के माइतीमा गएर एक छाक खाँदैमा सब ठिक हुन्छ ? त्यो पनि होइन । घरैमा बसेर पनि तिजलाई रमाइलो गरी बिताउने सकिन्छ तर कसरी ? घरका सबै सदस्य मिलेर मिठो मसिनो जस्तो हुन्छ पकाउने खाने ? नाँचगान गर्ने, पुरुष साथीहरुले पनि महिला साथीहरुलाई भान्छामा सघाउने, घरैमा बसेर नाँचगान गर्ने, मिठोबोली र मायालु व्यवहार गर्न जरुरी छ । घरमा जति सुकै सुख्ख सुविधा र मिठो खान पाए पनि छोरी चेलीलाई माइतीको याद पक्का आइरहन्छ । माइतीको आगनीमा बाल्यकालका साथीहरुसंग खेलेको उफ्रेको रमाइलो गरेको याद आउछ ।
त्यसकारण घरका पुरुष साथीहरुले महिलालाई घरको काममा मात्र लगाउने, नमिठो बोली र व्यवहार गर्ने, जस्तो पकाउँदा पनि मिठो भएन भनि दोष मात्र लगाउने, नारीको चित्त दुखाउने कार्य भयो भने तिजको बेलामा नारीको मन पक्का पनि रुन्छ । त्यसकारण यसबर्ष तिजमा हामी घरेैमा बसौं । श्रीमान, श्रीमती, छोराछोरी, घर परिवार सबै मिलेर रमाइलो गर्ने, नाँचगाँन गर्ने गरी मनाउनु पर्छ । कोराना भाइरसका कारण नेपालमा पनि १ सय भन्दा बढि मानिसको ज्यान गइसकेको छ । बाची बसे अर्को सालको तिजमा नाँचगान गरौला, रमाइलो गरांैला यसबर्षको तिजमा घरैमा बसेर जीवन बचाउनुको विकल्प छैन । जतिसुकै पढेलेखेका नारीभए पनि बाहिर जतिसुकै भाषण गरेतापनि तिज आउदा आफ्नो माइति माओलीको यादले मन बुझाउन गाह्रो हुन्छ ।
अरुलाई जस्तै मलाई पनि माइतीको याद आइरहेको छ । आफ्नो घरमा छोरी चेलीलाई बोलाएर विगतमा नाँचागान गरेको याद आइरहेको छ । छोरी चेलीलाई तिजको बेला सम्झेर फोन गर्दा पनि जवाफ आउछ भाउजु यसपालि त तिजमा जम्मा हुन नसकिने भयो है भन्ने जवाफ आउँछ । आफुलाई पनि माइतीमा जान मन त छ तर कहिंकतै तिजमा एक छाक माइतीमा गएर खाएकै कारण कोरोना भाइरसको संक्रमणमा परी क्वारेन्टाइनमा गएर बस्नु पर्ने, मृत्युको मुखमा पुग्नु पर्ने पो हो कि ? भन्ने डर छ । तरपनि माइतीमा गएर बर्षभरीको दुःखसुख्ख विसाउन मन कस्लाई पो हँुदैन र ?
विगतमा मनाउने हरितालिका तिजको कुरा गर्ने हो भने यति बेला जता हेरेपनि महिलाहरु रातो साडी लगाएर हिंडेको होटल, होटल र टोलटोलमा तिज गीत प्रतियोगिता गरेर नाच्ने गरेको देख्न पाइन्थ्यो । आफुलाई पनि तिजको दर खाने र खुवाउने गर्नमा हस्यांफस्यांड परेको हुन्थ्यो । कहिले आफ्नो घरमा छोरी चेलीलाई बोलाएर खुवाउने त कहिले आफु माइतीमा तिजको दर खान जाने व्यवस्थापन गर्न हम्मेहम्मे परेको हुन्थ्यो । अझ एकै दिनमा ४,५ओटा तिजको दरखाने ठाउँमा पुग्नु पर्ने समेत हुन्थ्यो । अझ हुने खानेहरुले त एक दिन साडी र गहना फेर्दै फरक फरक स्थानमा तिजको दरखान जाने गरेको समेत देखिन्थ्यो ।
तिज आयो भन्यो झन महिलाहरुलाई धपडी हुन्थ्यो । त्यो हिसावले एकातिरबाट अहिले आरामले आफ्नै घरमा बस्दा आनन्द पनि भएको छ । अर्कोतिर मनले त मनोरन्जन पनि खोज्छ नि त कतै जान पाए नाँचगान गरी रमाइलो गर्न पाए बर्षदिनको चाड हो । अब एक बर्ष पछि मात्र आउछ रमाइलो त गर्नु पर्छ भन्ने पनि नभएका होइनन् । यो कोरोनाको महामारी को बेला कहाँ जानु, कसरी ज्यानलाई सुरक्षित राख्नु भन्ने भएको बेला माइती घरमा गएर तिजको दर खाएकै कारण कोरोना पुष्टी भएर क्वारेन्टाइनमा बस्नु पर्ने पो हो कि, त्यतिले मात्र नपुगेर मृत्युको शिकार हुनु पर्ने पो हो कि भन्ने प्रश्नपनि टड्कारो रुपमा आएको छ ।
यी र यस्ता कुराहरु मनमा तछाडमछाड गरी दौडिरहेको बेला संयमित भएर सोच्न जरुरी छ । के गरी तिज मनाउदा हामी पनि सुरक्षित रहन्छौ, हाम्रो मनलाई पनि मनोरन्जन हुन्छ भन्ने मध्यम मार्ग खोज्नु अहिलेलेको आवश्यकता हो । सर्प पनि मरोस लाठी पनि नभाचियोस् भन्ने उपायबाट यो बर्षको तिज मनाउन म सबेै दिदी बहिनीहरुमा विनम्रतापूर्वक अनुरोध गर्दछ । चिनको बुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि पछिल्ला दिनमा समुदाय स्तर र घरघरमा पसेको छ । यसबाट कसरी बच्ने भन्ने अहिलेको टड्कारो चुनौति छ । रुसमा कोराना भाइरको औषधि बनेको कुरा बाहिर आएको छ । तै पनि मानिसलाइ लगाउन शुरु भएर कोरोनाबाट बच्न पाइयो भनेर ढुक्क हुने अवस्था भने आइसकेको छ ।
त्यसकारण यस बर्षको तिज आफु पनि नजाने आफ्नालाई पनि नबोलाउने र घरघरमा एक्लाएक्लै बसेर मनाउनु नै उत्तम विकल्पको रुपमा देखापरेको छ । अब कुरा आयो आफुलाइ कसरी मनोरन्जन दिने, आफ्नो मनलाई कसरी बलियो र चङगा बनाउने भन्ने मुख्य चुनौति को कुरा हो । आफ्नो घरमा जस्तो छ त्यस्तै खाने,जे छ त्यहिमा रमाउने, आफ्ना घरपरिवार बसेर बेलाबलामा नाँचगान गर्ने, मिठो मिठो परिकार पकाउने खाने गर्नु नै अहिलेको विकल्प हो । यसको निम्ति आफ्ना घरमा रहेका पुरुष दाजुभाइहरुले महिला दिदी वहिनीहरुलाई खाना पकाउनमा सहयोग गर्ने, नाँचगानमा सहयोग गर्ने, सामुहिक घरको काममा सहयोग गरी महिलालाई खुशी पार्न सके घरपरिवार पनि खुशी हुन्छ । घरपरिवारका सबै सदस्य पनि कोरोना भाइरसबाट सुरक्षित रहन सकिन्छ । नमरीकन बाचिए छ भने अर्को सालको तिजमा सामुहिक रुपमा जम्मा भएर नाच्ने, गाउने, तिजको दर खाने गरौला । मरे पछि त सकियो । यति बेला नेपालमा मात्र होइन संसारभर कति साथीहरु कोरोना भाइरसका कारण संक्रमण भएर आइसोलेसनमा बसिरहनु भएको छ । उहाँहरुलाई छिटो सन्चो होस भन्ने कामना गर्देै घर भित्र बस्ने मिठो नमिठा जस्तो छ त्यस्तै पकाउने खाने, घरैमा टेलिभिजन र युटुवमा गित लगाएर नाँच्ने गरेमा सुरक्षित होला भन्दै मनलाई दह्रो बनाउदा बनाउदा पनि कता कता माइतीको आगनीमा नाचेको, दिदीबहिनी जम्मा भएर नाँचेको बर्षभरीका दुःखसुख्ख साटासाट गरेको याद आइरहको छ । तर पनि, आफ्नो मन आफैले बुझाएर माइती घरमा नजाने निधो गरियो ।
त्यसकारण सम्पूर्ण महिला दिदी बहिनीहरुले पनि यस्तै गरी आफ्नो मन आफैले बुझाएर दह्रो पारी घरैमा बस्नु होला । कोरोना भाइरसबाट बच्नको निम्ति घरका पुरुष दाजुभाइहरुले महिला दिदी बहिनीहरुलाई खाना पकाउनमा सहयोग गरेर हुन्छ कि, नाँचगान गरेर हुन्छ कि, सँगै करेसा बारीमा काम गरेर हुन्छ कि, विभिन्न उपाय अपनाएर खुशी बनाएर राख्नुहोला भन्ने अनुरोध गर्दछु । साथै सम्पुर्ण दाजुभाई दिदीवहिनीहरुमा हरितालिका तिजको शुभकामना ।










