अब मिडियाले विकास र समृद्धिका लागि भूमिका खेल्नुपर्छ
राष्ट्रका हितका सम्बन्धमा कुनै घटना घट्यो भने छिमेकी मुलुकहरुमा सारा मिडिया राष्ट्रको पक्षमा हुन्छन् । कुनै अपराधिक समूहबाट भारतीय सेनाको जवान मारियो भने सिंगो राष्ट्र उसको बलिदानको पक्षमा बोल्छ । तर, त्यो एकता हामीले यहाँ देख्न सकेका छैनौं । आम सञ्चार माध्यममा अपराधिक समूहलाई प्रोत्साहित गर्ने खालका समाचार बढी पस्कने प्रचलन छ ।
नेपाली मिडियामा अरु भन्दा फरक देखिनुपर्छ भन्ने माइन्ड सेट छ । हरेक चिजमा असहमति, भिन्नता देखिन्छ । यो खालको प्रवृत्तिले राज्यलाई बलियो बनाउने कुरालाई सहयोग गर्दैन । कर्तव्य चांिह समृद्धिका लागि राज्यलाई बलियो बनाउनु पर्छ भन्ने जो कोहीले पनि बुझ्नुपर्छ ।
अर्को तर्फ नेपाल–भारत सम्बन्धमा मामिलामा म हेर्छु भारतीय नेताहरु नेपाल आएभने भारतीय स्वार्थका पक्षमा उनीहरुले के के गरे भन्ने कुरा मात्रै भारतीय मिडियाले चर्चा गर्छन् । तर, नेपाल सञ्चारमाध्यमहरुले नेपाली नेताहरुले के गड्बढी गरे भन्ने कुराको मात्रै बहस हुन्छ । अथवा आशंका गर्छन् । नगरेकै भएपछि यसो गरे होला, उसो गरे होलान् एक प्रकारले भन्ने हो भने सुत्र झुण्डाएर चर्चा गर्छन् । प्रमाण पनि जुटाउन नपर्ने, रे का भरमा समाचार बनाइदिने र समाजमा एक प्रकारको सस्पेन्स खडा गरिदिने । र, त्यो सस्पेन्सलाई चाहिं समाचारको ताकतका रुपमा चित्रण गर्ने खालको प्रवृत्तिहरु छ । यस्ता प्रवृत्तिलाई हटाउनु जरुरी छ ।
यदी हामीले हाम्रो राष्ट्र निर्माण गर्ने हो भने चाहिं नेपालको संस्थापन पक्ष, राज्यलाई बलियो बनाउन जरुरी छ । अनि मात्र हामी राष्ट्र निर्माणमा सफल हुन सक्छौं । अब मिडियाले विकास र समृद्धिका लागि भूमिका खेल्नुपर्छ । विकास र समृद्धिलाई अब हामीले हाम्रा मिडियालाई अगाडी बढाउन सक्नुपर्छ । सधैंभरी राजनीतिक अन्तरद्वन्द्वका विषयहरु मात्र विषयवस्तु बन्ने जुन प्रचलन छ त्यो परम्परालाई अब हामीले कटौती गर्नुपर्छ । विकास र समृद्धिका प्रश्नमा दलहरु बीचका प्रतिस्पर्धा, बहस प्रेषित गर्दा पनि समाचारका मूल्यहरु स्थापित गर्न सकिन्छ ।
अब हामी ठूला विकासका आयोजनाहरुमा, समृद्धिका प्रश्नहरुमा राजनीतिक बहसलाई केन्द्रित गर्ने खालको काम गर्यौ भने त्यसले एउटा साझा राष्ट्रिय मनोविज्ञान तयार गर्न सक्ने भन्ने मलाई लाग्छ, त्यो बाटोमा जान जरुरी छ ।
अहिले चलिरहेको प्रदेश राजधानीको सवालमा प्रदेश राजधानी भए सबै चिज हुन्छ नभए सबै चिज बर्बाद हुन्छ भन्ने मानसिकताबाट एक खालको बहस चलिरहेको छ । म के भन्न चाहन्छु भने, प्रदेशको राजधानीको प्रश्न प्रशासनिक सुगमताको प्रश्न हो । प्रदेश राजधानी प्रशासनिक रुपमा सबै जनतालाई सुख, दुःख बाँड्ने खालको साझा थलो कहाँ बनाउन सकिन्छ भन्ने कोणबाट सोच्ने कुरा हो । तर, समृद्धि जहाँ राजधानी बन्यो त्यही भइहाल्छ भन्ने कोणबाट मात्रै हर्ने हो भने जस्ले प्राप्त गर्छ उ अगाडी बढ्छ बाँकी सबै पछाडी पर्छ भन्ने खालको सोंचमा जाने स्थिति बन्छ ।
यसर्थमा हामीले प्रदेश नं. ५ को विकासको सन्दर्भमा तीन वटा आञ्चलिक संरचनाबाट प्रादेशिक संरचनामा रुपान्तरण भएका छौं । एउटा लुम्बिनी, राप्ती र भेरी आञ्चलिक संरचनाबाट जोडिएका छौं । तीन वटा सेन्टरका माध्यमबाट समग्र प्रदेशको विकासको अवधारणालाई चाहिं हामीले अगाडी बढाउनु पर्छ । त्यसर्थ मैले निर्वाचनका समयदेखि नै तीन वटा महानगरको चर्चा गरेको छु । महानगरमा आधारमा उत्पादन पकेट निर्माण गर्ने । महानगर भनेको वस्तु र सेवा सबभन्दा बढी खपत हुने ठाउँ हो । महानगरलाई चाहिने उपभोग्य सामाग्री कहाँ उत्पादन गर्ने भनेर पकेट निर्माण गरेर अगाडी बढ्ने हो भने समग्र क्षेत्रकै विकास हुन्छ । तीन वटा सेन्टर हुने र सेन्टर भित्र महानगर हुने एक प्रकारको स्याटेलाइट पकेट क्षेत्र निर्माण गर्ने अवधारणाबाट जाने हो भने कुनै क्षेत्र पछाडी पर्छ भन्ने मलाई लाग्दैन ।
तीन वटा प्रदेशका राजधानीहरुको सबभन्दा छोटो दुरीमा पुग्न सकिने ठाउँ नेपालगन्ज हो । प्रदेश नं. ५, ६ र ७ को राजधानी जहाँ भएपनि नेपालगन्ज केन्द्र बन्नेछ । तीन वटा प्रदेशका लागि वस्तु र सेवा उपलब्ध गराउन सक्ने हबको रुपमा नेपालगन्जको विकास गर्न सकिन्छ । त्यसैले मैले नेपालगन्ज भविष्यमा औद्योगिक महानगर बन्न सक्छ भनेर एक खालको परिकल्पना गरेको छु ।
हामीले विकासलाई आम जनतासँग जोड्ने खालको रणनीतिका आधारमा अगाडी बढ्नु पर्छ । विकासका दुई वटा मोडेल विश्वमा प्रचलित छन् । एउटा ब्रिटिस मोडेल अर्को स्काइटेबल मोडेल पुरानो हिसाबले भन्ने हो भने । भारतकै सन्दर्भमै भन्ने हो भने मोदीको गुजरात मोडेल पनि छ, केरला मोडेल पनि छ । मोदीको गुजरात मोडेलको सीमा के रहेछ भने त्यहाँ हार्दिक पटेलहरुको जन्म हुँदो रहेछ । जुन हामीले सुन्ने गरेका छौं । तसर्थ हामीले हार्दिक पटेलहरुको जन्म नहुने प्रकारको एउटा सन्तुलित र दिगोको विकासको मोडेल निर्माण गर्न सकिन्छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा छ । जुन हामीलाई विरासतका रुपमा प्राप्त भएको छ । जनतालाई सुख सँग जोड्ने गरी ५ नं. प्रदेशको विकासको मोडेल बनाउन सकिन्छ । तर, यो एउटा व्यक्तिले साेंचेका भरमा हुँदैन यो सामूहिक प्रयासबाट हुने हो । सुख प्राप्त भन्ने कुरा जनतासँगको अन्तरसम्बन्धबाट प्राप्त गर्ने कुरा हो, विकासमा जनतालाई जोड्ने कुरासँग प्राप्त गर्ने कुरा हो ।
अर्को तर्फ प्रदेश नं. ५ का जनताको कुरा गर्दा सांस्कृतिक विविधता आफैंमा एउटा महत्वपूर्ण कुरा हो । हामी हाम्रा कल्चरहरुलाई पनि पर्यटनको आधारका रुपमा विकसित गर्न सक्छौं । प्राकृतिक विविधता अर्को सम्पत्तिका रुपमा रहेको छ । हामीसँग तराई छ, भित्री मधेस छ, पहाड छ र सानै अंशमा भएपनि हिमाल हामीसँग छ । त्यो पनि हाम्रो ताकत हो । नेपालको चर्चित शिकार आरक्ष पनि हामीसँग छ । दुई वटा राष्ट्रिय निकुञ्ज हामीसँग छ । राष्ट्रिय निकुञ्ज आधारिक गन्तव्यका रुपमा पनि नेपालगन्जलाई विकास गर्न सकिन्छ । यद्यपि त्यो अहिलेसम्म भएको छैन । अलिअलि ठाकुरद्वारा भएपनि चितवनको सौराहा जस्तो भएको छैन । त्यसलाई पनि विकास गर्ने सोंच हामीले राख्नुपर्छ ।
नेपालगन्ज मानसरोवर यात्राको ट्रान्जिट प्वाइन्टको रुपमा आएको छ । र, यसले नेपालगन्जमा होटल, व्यवसायको विकासमा महत्वपूर्ण योगदान दिएको छ । त्यसलाई अझ स्थापित कसरी बनाउने भन्ने सोचिएन भने यात्रा रुट भनेको त परिवर्तन हुनसक्छ । त्यो यात्रा रुट परिवर्तन हुँदा पनि नेपालगन्जलाई रमाइलो गन्तव्यका रुपमा कसरी स्वीकार गरिराखुन् भन्ने तर्फ पनि हामीले सोच्छु पर्छ ।
यो क्षेत्रको विकासका सन्दर्भका बारेमा कसरी गर्न सकिन्छ भन्ने कोणबाट छलफल गनुपर्छ । परियोजना आधारित छलफल गरिनुपर्छ । परियोजना आधारित छलफलले तत्काल नहोला तर, माष्टर प्लान भित्र हामीलाई समावेश गर्छ । माष्टर प्लान भित्र समावेश गरियो भने हामी त्यसलाई निश्चित समय भित्र कार्यान्वयनमा लैजान सक्छौं ।
यसर्थमा नेपालगन्जको समृद्धिका सवालमा बहस गर्दा परियोजनामा आधारित बहस गर्नुस् । परियोजना आधारित बहसले प्रदेशको राजधानी भएपनि नभएपनि समृद्धिको आधार तयार गर्छ । प्रदेश राजधानी हुँदा विकासमा योगदान पुग्छ तर नहुँदा गुमिहाल्दैन । किनभने परियोजनाले त्यसलाई भरपाई गर्छ । सबै ठाउँका जनता जसले प्रदेशको आकांक्षा राखेर बहस गर्दै हुनुहुन्छ मेरा आग्रह के छ भने परियोजनामा बहस गर्नुस् ।
परियोजना आधारित बहसले प्रदेशको विकासको आधारका रुपमा तयार गर्न सक्छौं । त्यसले प्रदेश नं. ५ लाई समृद्ध प्रदेश बनाउने कुरामा भूमिका खेल्छ । (प्रदेश ५ का भावी मुख्यमन्त्रीका रुपमा चर्चामा रहेका नेकपा एमाले प्रदेश संसदीय दलका नेता पोखरेलले प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसमा नेपालगन्जमा आयोजित कार्यक्रममा व्यक्त धारणामा आधारित)