अस्टिनमा नेपाली कन्सुलर घुम्ती शिविर: २७२ सेवाग्राही लाभान्वित

नेपाली महावाणिज्य दूतावास, ड्यालस द्वारा अस्टिन मा आयोजना गरिएको दुईदिने कन्सुलर घुम्ती शिविरमार्फत २७२ जना नेपाली नागरिकले सेवा लिएका छन्।

उक्त शिविर ग्रेटर अस्टिन नेपाली समाज को सहकार्यमा वैशाख १४ र १५ गते सञ्चालन गरिएको थियो। उपमहावाणिज्यदूत धना जोशीका अनुसार शिविरमा २६७ जनाले नयाँ राहदानी तथा नवीकरण सेवा लिएका छन् भने वारेसनामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी कुल २७२ जनालाई सेवा प्रदान गरिएको हो।

अमेरिकाका विभिन्न नौ राज्यमा बसोबास गर्ने नेपाली नागरिकलाई सहज रूपमा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो। ड्यालसस्थित दूतावास स्थापना पश्चात् यो पहिलो कन्सुलर घुम्ती शिविर भएको उपमहावाणिज्यदूत जोशीले जानकारी दिनुभयो।

भौगोलिक रूपमा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने दूतावासको नीतिअनुरूप उक्त शिविर आयोजना गरिएको हो। विशेषतः विशाल भूगोल भएको टेक्सस राज्यअन्तर्गत अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले लामो समयदेखि राहदानी तथा कन्सुलर सेवाको माग गर्दै आएका थिए।

शिविर सञ्चालनमा ग्रेटर अस्टिन नेपाली समाज ले स्थानीय व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायत दूतावासका कर्मचारीहरूले प्रत्यक्ष रूपमा सेवा प्रदान गरेका थिए।

अस्टिनमा सम्पन्न उक्त कन्सुलर घुम्ती शिविर सफल बनाउन सहयोग पुर्‍याउने ग्रेटर अस्टिन नेपाली समाज सहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

प्रतिक्रिया