नारायणगढ–बुटवल सडक विस्तार: निर्माण अन्तिम चरणमा, सडक सुरक्षामा जोड

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भइसकेका खण्डहरूमा सडक सुरक्षासम्बन्धी कार्य तीव्र गतिमा अघि बढाइएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल निर्माण सम्पन्न भएका क्षेत्रमा सुरक्षात्मक पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिइएको छ।

सडक सुरक्षाअन्तर्गत लेन अनुशासन कायम गर्न सेतो तथा पहेँलो रेखांकन, डिभाइडरमा रङरोगन, मुख्य तथा सहायक सडकबीच सिमेन्ट बार जडान, साथै गति सीमा संकेतहरू स्थापना गर्ने कार्य भइरहेको छ। यससँगै सडक छेउमा रेलिङ, डब्लु–बिम गार्डरेल तथा डेलिनेटर पोल जडान गर्ने कार्य पनि जारी छ, जसले यात्रालाई थप सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सूचना अधिकारी खनालका अनुसार निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख भइरहेका बेला सुरक्षाका उपायहरूलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको हो। “निर्माणका अधिकांश कार्यहरू अन्तिम चरणमा पुगेका छन्, त्यसअनुरूप सडक सुरक्षाका कामलाई पनि तीव्रता दिएका छौँ,” उहाँले बताउनुभयो।

हाल नवलपरासी (पूर्व) खण्डअन्तर्गत पर्ने ६५ किलोमिटर सडकमा करिब सात किलोमिटर भागमा मात्र कच्ची सडक रहेको छ भने बाँकी अधिकांश खण्डमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ। पूर्वी खण्डको भौतिक प्रगति करिब ८१ प्रतिशत पुगेको जनाइएको छ। दाउन्ने क्षेत्रबाहेक अन्य अधिकांश स्थानमा यात्रा सहज भइसकेको छ।

यस आयोजनाको कार्य २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो। कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको छ।

निर्धारित समयसीमाभित्र काम सम्पन्न हुन नसकेपछि हाल चौथोपटक म्याद थप गर्दै आगामी साउनसम्मका लागि समयावधि विस्तार गरिएको छ। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ।

परियोजनाअन्तर्गत ७० किलोमिटर सडक चार लेनमा, २९ किलोमिटर सडक चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेनसहित निर्माण गरिनेछ भने दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा तीन लेनको सडक निर्माण गरिने योजना रहेको छ।

प्रतिक्रिया

प्रतिक्रिया