नजिकिंदै गरेका चाडपर्वलाई लक्षित गर्दै बाँकेमा बजार अनुगमनलाई तीव्र बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको नियामक सरकारी निकायहरु र व्यवसायी प्रतिनिधिहरु र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि बीच भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।
यस अघि उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्ग संग भएको छलफल अनुसार नियामक निकायसंग बजारका बस्तुको आपुर्ति अवस्थाको बारेमा विश्लेषण स्वच्छ बजार राख्न र चाडवाडका बेला कालोबजारी हुन नदिने उद्देश्यले छलफल कार्यक्रम राखिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले जानकारी दिए ।
चाडपर्वको बेला बजारमा माग बढ्ने र त्यसबेला विभिन्न बाहानामा मुल्य बृद्धि हुन सक्ने र गुणस्तरहीन बस्तु पनि बजारमा आउन सक्ने सम्भावनालाई दृष्टिगत गरि नियामक निकाय र व्यवसायीहरु सम्मिलित समन्वय बैठकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले बताए । सबै निकाय मिलेर उपभोक्ता हितमा काम गर्न प्रजिअ कुरूम्वांगले आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले उपभोक्ताको हक, हित र अधिकारको लागि उपमहानगरपालिकाकाले कानुन बनाएर काम गरिरहेको र बजार अनुगमनलाइ पनि सोहि अनुरुप अगाडी बढाइरहेको बताइन् । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले पनि नगरपालिकाले कानुन बनाएर व्यस्थित रुपमा उपभोक्ता हितको कार्यक्रमलाई अघि बढाइरहेको बताउँदै व्यवासायीहरु पनि जिम्मेवार हुनुपर्ने बताएकी थिइन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हित सबैको साझा विषय भएकोले बजार अनुगमनलाई सबै पक्षले सहयोग गर्नु पर्ने धारणा राखे । अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमले विभिन्न बाहानामा उपभोक्ताहरु मारमा परिरहेको हुनाले सबै पक्ष जिम्मेवार हुनु पर्ने र नियामक निकायहरु समन्वयात्मक ढंगबाट अघि बढ्नु पर्नेमा जोड दिएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले चाडपर्वको बेला बजारमा उपभोग्य सामानको अभाव नहुने र बजार अनुगमनमा संघको सहयोग र सहकार्य रहने धारणा राखेका थिए ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बजारमा तरकारी लगायतको मुल्य बृद्धि भएको गुनासाहरु आएकोले सन्दर्भ उल्लेख गर्दै सबै नियामक निकायले बिषयगत र सामुहिक रुपमा प्रभावकारी अनुगमनमा जोड दिएका थिए ।








