प्रभावकारी बन्दै अनुगमन

‘प्रमुख जिल्ला अधिकारीको निर्देशन र निगरानीमा भएको यो अनुगमनको एकसुत्रीय उद्देश्य फेरि लकडाउन गर्न नपरोस्, सचेततापूर्वक ब्यापार ब्यवसाय संचालन होस्, मानिसको दैनिकी जीवन सहज तरिकाले चलोस् भन्नेनै हो ।’


जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भइरहेको बजार अनुगमन प्रभावकारी भइरहेको सम्बद्धहरुले जनाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधिसमेतको सहभागिता भइरहेको अनुगमनको पहिलो चरणमा मास्क लगाएर पसलमा बस्ने, ग्राहकलाई बिना मास्क प्रवेश निषेध गर्ने र पसलभित्र बस्दा सबैले मास्क लगाएर भौतिक दुरीमा बस्ने विषयमा सचेत गराइने गरेको टोलीमा सहभागी भीम रानाभाटले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका तर्फबाट टोलीमा सहभागी रानाभाटले दोस्रो चरणमा नियमको पालना भए नभएको निगरानी गरिंदै पालना नभएको ठाउँमा जरिवानासमेत गरिएको बताए । अनुगमन टोलीले घरबारीटोल, सदरलाइन, न्युरोड, त्रिभुवनचोक, एकलैनी, सुर्खेतरोड, बसपार्कमा सबैलाई प्रत्यक्ष जानकारी गराइएको रानाभाटको भनाइ छ । त्यससँगै जमुनाह भन्सार, राझा एअरपोर्ट, पुरैनी आदि ठाउँमा र विभिन्न बैंकहरु,भाटभटेनी, यातायात व्यवस्था कार्यालय, सब्जिमन्डी लगायतका बढि भिडभाड हुने स्थानमा समेत निगरानी गरिरहेको रानाभाटको भनाइ छ ।
नेपालगन्ज भन्दा बाहिर पनि बढि भिडभाड हुने क्षेत्रहरुमा पनि अनुगमन गर्दै सम्झाउने र नमान्नेलाई कार्यबाही भएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र मल्ल र हरिश्चन्द्र शर्माको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रास्ट्रिय अनुसन्धान टोली र नेपालगन्ज उद्योग बाणिज्य संघको तर्फबाट बजार अनुगमन ब्यबस्थापन समितिका संयोजक भिमबहादुर रानाभाटको नेतृत्वमा समिति सल्लाहकार भाष्कर काफ्ले, समिति सदस्यहरु फणाधर भन्डारी, बुद्धि दियाली, दीर्घराज आचार्य लगायत टोलीमा सहभागी छन् ।
‘प्रमुख जिल्ला अधिकारीको निर्देशन र निगरानीमा भएको यो अनुगमनको एकसुत्रीय उद्देश्य नेपालगन्ज लगायत बाँके जिल्लालाई फेरि लकडाउन गर्न नपरोस्, साबधानी र सचेततापूर्वक ब्यापार ब्यवसाय संचालन होस्, मानिसको दैनिकी जीवन सहज तरिकाले चलोस् भन्नेनै हो,’ अनुगमनका क्रममा भेटिएका रानाभाटले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया