ऋषि गैरे
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकसाताका लागि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । मंगलवारदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । कोरोना संक्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

बुटवल उपमहानगर पालिका, तिलोत्तमा, सैनामैना लगायतले जोखिम बढेको भन्दै स्थानीय तहमै पूर्ण लकडाउनको दबाब थालेपछि स्थानीय प्रशासनले जिल्ला भरि निषेधाज्ञा जारी गरेको हो । मंगलवार प्रमुख जिल्ला अधिकारी महादेव पन्थद्वारा सर्वसाधारणका नाममा जारी गरिएको आदेशमा खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध गरिएको उल्लेख गरिएको छ ।
लकडाउन खुकुलो भएसँगै रुपन्देहीमा लापरबाही बढेको थियो । त्यसँगै संक्रमण बढेपछि निषेधाज्ञाको अवस्था भएको हो । केही दिनयता सबै सामान्य भएसरि बजारमा चहलपहल बढेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेपछि बुटवल हिजैबाट सुनसान छ । (हेर्नुस् भिडियो)








