खजुरामा होम क्वारेन्टाइनको अभ्यास, १ सय १९ घर फर्किदै

सरकारले होम आइसोलेसनको अवधारणा आफुलाई अगाडी बढाइरहँदा खजुरा गाउँपालिकाले होमक्वारेन्टाइनलाई अभ्यासमा ल्याएको छ । घरबाटै खाना ल्याएर खुवाउने निर्णय गरेको खजुराले अब होम क्वारेन्टाइनको निर्णय गरेको हो । अहिले अभ्यासमा छौं, गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, शुरुमैं यो निर्णय गरेका थियौं । तर, प्रत्येक वडाले होम क्वारेन्टाइन हुँदैन खाना घरबाटै ल्याउने, स्कुल नै क्वारेन्टाइन बनाउनु पर्छ भनेपछि मैले सोही अनुसार निर्णय गरेको हुँ, कक्षपतिले अब होम क्वारेन्टाइनकै अवधारणामा जानुपर्ने अवस्था आएको बताए ।


क्वारेन्टाइन सुरुमा ५० जनासम्म थिए र थेग्न सकिन्थ्यो । अहिले १ हजार २ सय छन् । पालिकाले कसरी थेग्ने । सम्भव छ र ? विद्यालय भरिइसकेका छन् । अवस्था बुझ्नु पर्यो, कहाँ राख्ने ? पालिका अध्यक्ष कक्षपतिले धान्न सकिएन भने संस्थागत विद्यालयलाई पनि क्वारेन्टाइनका लागि पहल गर्ने जानकारी दिंदै भने, मानवअधिकारर्मी पनि आउनु भएको छ । उहाँहरुले क्वारेन्टाइन अनुगमन गर्नुभएको छ, जनक शिक्षा सामाग्रीमा आइसोलेसन बनाउँदै छु भनेर उहाँहरुलाई देखाएँ । सबैले राम्रो भयो भनेका छन् । खजुरामा रहेका १ सय १९ को स्वाबको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बुधबार घर फर्किदैछन् ।


होम क्वारेन्टाइनको अवधारणालाई खजुरा वडा नं. ४ मा अभ्यास गरिएको हो । वडाध्यक्ष तिलकबीर सुनारका अनुसार, ३७५ जनालाई क्वारेन्टाइनमा राख्ने अवस्था आएपछि होम क्वारेन्टाइन सुरु भएको हो । परिवार नै आएकाहरुलाई होम क्वारेन्टाइनमै बस्न भनेका छौं, गाउँपालिका अध्यक्ष कक्षपतिले भने, जसको घरबाट ५, ७ जना बाहिरबाट आएका उसैको घरमा होम क्वारेन्टाइनमा पठाइरहेका छौं ।

दाता जुटाउँदै खजुरा, शिक्षकबाट सहयोग लिइँदै

कोरोना भाइरससँगको लडाईं सरकार एक्लैले जित्नै सक्दैन, विहानैदेखि दौडाभागा रहेको प्रतिक्रिया दिंदै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, विहानको काम आइसोलेसन सेन्टरबाट सुरु हुन्छ ।


एक हजारबढीलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको खजुराले आइसोलेसनलाई व्यवस्थित र सुविधासम्पन बनाउन दाताको सहयोग जुटाउन खोजिरहेको छ । सामाजिक संघ, संस्थासँग कोर्डिनेशन गरिरहेको छु, अध्यक्ष कक्षपतिले मंगलवार राती दैनिक नेपालगन्जसँग भने, व्यवस्थित र सुविधायुक्त आइसोलेसनका लागि डोनर खोजिरहेको छु ।


अध्यक्ष कक्षपतिका अनुसार, जनजागरणले साढे ६ लाखको सहभागिता गर्ने भएको छ । मंगलवारमात्रै नेकपा खजुरा गाउँपालिकाले गाउँपालिकाले ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ५ सय पीस सर्जिकल मास्क, १० पीस सेनिटाइज गर्ने पम्प, सेनिटाइज गर्ने पदार्थ ७५ लिटर, १ सय ६० पीस सेनिटाइजर नेकपा गाउँपालिका अध्यक्ष राजकुमार विक, प्रदेश ५ प्रदेश कमिटि सदस्य डम्बर विक, वेधनिधि प्याकुरेल, भीम ओली लगायतले सामाग्री हस्तान्तरण गरेका हुन् ।


नेपालगन्जका उद्योगी, व्यवसायीले आइसोलेसन सेन्टरका लागि ८५ हजार बराबरको म्याटिक्स २५ बेडको लागि सहयोग गरेका छन् । अध्यक्ष कक्षपतिले दिएको जानकारी अनुसार, केएल दुगड ग्रुपका महानिर्देशक प्रदिप छाजेडले १० वटा म्याटिक्स सहयोगको प्रतिबद्धता जनाएका छन् । प्रदीपले भोलिपर्सीनै पठाउँदै हुनुहुन्छ, ५ वटा हामी किन्दै छौं, अध्यक्ष कक्षपतिले भने, बाँके निर्माण व्यवसायी संघले आइसोलेसन सेन्टरका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । प्लान र जनजागरण अभियानले पनि राम्रो सहयोग गर्नेमा विश्वस्त छौं, कक्षपति भन्छन्, आइसोलेसनका लागि सामान जुट्दैछ
खजुरा गाउँपालिकाका अअनुसार, खजुरास्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना भवनमा ४० बेडको आइसोलेसन सेन्टर बन्दैछ । त्यसको तयारी युद्ध स्तरमा भैरहेको छ । त्यसमा डाक्टर र दुई नर्सका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ । व्यवस्थापनकै लागि ३ लाख जति खर्च भैसकेको छ । बत्ती, पंखा समेत बनाउने परेको अवस्था छ ।


पालिकाभरिका सामुदायिक विद्यालयका शिक्षकले ५, ३ र १ दिनको तलब सहयोगको प्रतिबद्धता जनाएका छन् । उहाँहरुनै ग्रेडका आधारमा सहयोगको वर्गिकरण गर्नुहुनेछ, कक्षपतिले भने । २ करोडको कोरोना कोषबाट ८० लाख राहतमंै खर्च भइसकेको जानकारी दिंदै कक्षपतिले बुधबारबाट पीसीआर टेष्ट सुरु भएकाले विस्तारै चाप घट्दै जाने विश्वास गरे ।

विद्यालयमा पूर्वाधार थपिंदै

बाहिरबाट आएका जनताका लागि क्वारेन्टाइन बनाइएका खजुरास्थित सबै विद्यालयमा तत्काल आवश्यक पूर्वाधार थपिने भएका छन् । खजुराका प्रत्येक विद्यालयमा ५० हजारका दरले १५ लाख रुपैयाँ पठाइसकिएको छ, गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले दिएको जानकारी अनुसार, उक्त बजृटबाट खानेपानीका लागि धाराका जडान लगाएतका पूर्वाधारदेखि अत्यावश्यक आवश्यकतामा खर्च गर्नेछन् । प्रत्येक विद्यालयले पंखा, खानेपानी र बत्तीको व्यवस्था त्यो ५० हजारबाट गरिरहेको छ, कक्षपतिले भने ।


व्यवस्थापन समेतलाई सहयोग पुग्नेगरि विद्यालयका प्रधानाध्यापक र आवश्यकता अनुसार शिक्षक उपस्थित हुनुपर्ने व्यवस्था मिलाएको गाउँपालिकाले शिक्षा समितिको बैठकबाट आवश्यकता अनुसार १० देखि ५ बजेसम्म आवश्यकता अनुसार शिक्षक र प्रअ बस्नुपर्ने निर्णय गरिसकेको छ । शिक्षा समितिबाटै अनुगमनको जिम्मा खगेन्द्र मल्ल र टंक दाहाल दिएका छौं, पालिका अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, उहाँहरुले दैनिक जसो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीलाई अवस्थाको रिपोर्टिगं गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृतबाट मैले हर दिन रिपोर्टिंग लिइरहेको हुन्छु, कक्षपतिले भने ।


व्यवस्थापनमा गुनासाहरुपनि आइरहेका छन् नि ? दैनिक नेपालगन्जको प्रश्नमा गाउँपालिका अध्यक्ष कक्षपतिले साधनस्रोतले भ्याएसम्म सुविधायुक्त व्यवस्थापनमा लागि परेको बताए । जहाँसम्म स्वास्थ्य सामाग्री कमी हुन दिएका छैनौं, कक्षपतिले भने, पाँच लाखको स्वास्थ्य सामाग्री स्टक राखेका छौं । सेनिटाइजर, मास्क र डेट बडीको र्यापिंग पेपर समेत स्टक राखेका छौं ।
सामुदायिक विद्यालय क्वारेन्टाइन बनाइएकोले सामुदायिक विद्यालय तत्काल सञ्चालनमा आउन सम्भव छैन । निजी विद्यालयका सञ्चालकले भर्ना शुरु गर्ने चर्चाबारे कक्षपतिले खजुरामा निजी विद्यालय पनि सञ्चालन हुने सम्भावना नरहेको बताए । अभिभावकले विद्यार्थी भर्ना गर्नै जाँदैन अहिलेको समयमा विद्यालय सञ्चालनको कुनै सम्भावना छैन, उनले भने ।

नेकपाले बुझायो खजुरालाई स्वास्थ्य सामाग्री

नेकपा खजुराले खजुरा गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेकपा प्रदेश कमिटी सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, खजुरा इन्चार्ज भीम ओली, खजुरा अध्यक्ष राजकुमार विक, सचिव यम बहादुर महतारा, युवा नेता धनीरामा ओली, गेहेन्द्र धिताल पालिका पुगेर हस्तान्तरण गरेका हुन ।


खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलाई नेकपा नेताहरूले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोरोना विरुद्धको अभियानमा पालिकासंगै रहेकोे बताए । स्प्रे ट्यांकी, केमिकल, माक्स, सेनिटाइजर गरि ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।


सहयोग ग्रहण गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कोरोना विरुद्धको अभियानमा सबै एकमना एकताका साथ अगाडि बढ्न आग्रह गरे । उनले यो बेला राजनीति गर्ने बेला नभई कोरोनालाइ परास्त गर्न सबैले हातेमालो गर्ने बेला भएको बताए । नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले खजुरामा पालिकासंगै नेकपा अभियानमा लागेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया