पर्याप्त पूर्व तयारी नगर्दाको परिणाम कोरोनाको फैलिदो संक्रमण

कोरोनाका कारण बाँकको नरैनापुर यतिखेर चर्चामा छ । पहिले देखि बाँकेको कर्र्णाली उपनामले परिचित नरैनापुर अहिले पनि बिकास र सेवा सुविधाका दृष्टिकोणले कर्णाली प्रदेश जत्तिकै छ ।

सडक बिस्तारको क्रममा रहे पनि अहिले पनि त्यस क्षेत्रका जनता गुणस्तरीय स्वास्थ्य, शिक्षा, बिजुली लगायतका आधारभुत अत्यावश्यकीय सेवा सुबिधाबाट बञ्चित छन् । संघीय सरकारको कमजोर उपस्थिति र स्थानीय सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्दा त्यहाँका नागरिकहरुको ज्यादा सम्पर्क नेपाली सरकारका संयन्त्रहरुको भन्दा भारतिय बजारले प्रभुत्व जमाएको देख्न सकिन्छ ।

नरैनापुरको लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन भब्य छ तर झण्डै २ बर्षदेखि डाक्टरको दरबन्दी रिक्त छ भने केहि महिना अगाडी देखि स्टाफ नर्स पनि छैनन् । सरकारले उपलब्ध गराउनु पर्ने निशुल्क औषधी पनि सबै त्यहाँ पुगेका छैनन । सरकारी स्वास्थ्य केन्द्रका सेवा प्रभावकारी नहुँदा भारतीय झोले डाक्टरहरु बिगबिग त्यहाँ बढी नै छ । केही महिना पहिले झोले डाक्टरकै कारण एक ब्यक्तिको मृत्यु भएको घटना यसैको परिणति हो । आवश्यक जनचेतनाको कमी, गलतसंस्कार र परम्परा यद्यपी कायम हुँदा आमनागरिकहरु भएका सरकारी सेवा सुबिधाको पनि भरपुर उपभोग गर्न सकिरहेका छैनन् ।

कोरोना संक्रमणका कारण देशभर लकडाउन सुरु भए पछि बाँकेको राप्ती पारीको नरैनापुर क्षेत्रमा दुई पटक भ्रमण गर्दा प्रारम्भिक चरणदेखि नै स्थानीय सरकारले कारोना बिरुद्धको लडाईका लागि जुन रुपमा पर्याप्त तयारीका साथ काम गर्न पथ्र्याे त्यो अनुसार काम गरेको पाइएन । कतिपय जनप्रतिनिधिले त पैसा हुँदासम्म राहत बितरणमा ज्यादा ध्यान दिएको पनि देखियो । बडा र पालिका प्रमुखहरुको बिचमा समन्वय नहुने, पालिका प्रमुखले राहत बितरणमा आफुखुसी गर्ने, पारदर्शितालाई कत्ति पनि ध्यान नदिने कतिपय निर्णय र कार्यहरु वडाअध्यक्षहरुलाई नै जानकारी नभएको गुनासाहरु स्वयम वडा अध्यक्षहरुबाट आए । कतिपय लक्षित वर्गले राहत नपाएको चुनावी राहत जस्तो भएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवको भनाईले राहत बितरणमा गडबढी छ भन्ने देखिएको छ ।

नरैनापुर क्षेत्र अहिले कोरोना कहरको उच्च मारमा छ । बजेटमा चलखेल गर्न पाइन्जेल हाईफाईमा देखिएका जनप्रतिनिधिहरु अहिले पैसा छैन केहीकेही गर्न सकिदैन भनेर हात उठाई आवश्यक पर्दा जिम्मेवारबाट पन्छिन खोज्ने प्रवृत्तिले स्थानीय सरकारको कार्यशैली माथि नै प्रश्न उठेको छ । संक्रमित बढे पछि प्रहरीप्रशासन स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगी प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन कक्ष बनाउने कुरा गर्दा काम गरेर आफ्नो क्षमता देखाउने बेलामा स्थानीय सरकार प्रमुखबाट पैसा छैन मैले केही गर्न सक्दिन भनेर हात उठाउनु भयो ।

कारोना नियन्त्रणमा स्थानीय सरकार
डुडुवा र राप्तीपारी नरैनापुर क्षेत्रको अनुगमनमा स्थानीय सरकार जुन तयारीका साथ कोरोना बिरुद्धको अभियानमा लाग्नु पथ्यो सो अनुसार लागेको देखिएन । प्रारम्भिक चरणमा राहत बितरण रुमल्लिएको स्थानीय सरकारका प्रमुखले आफ्नै पालिका सदस्यहरुलाई पनि साथमा लिएर काम गर्न सकेको देखिएन । राहत वितरणमा आफुहरुलाई कुनै वास्ता नगरेको र पालिकाका कतिपय निर्णय र कार्यहरु बारे आफुहरु अनभित्र हुनु परेकाले चाहे अनुसार काम गर्न नपाउदा उनीहरुकै शब्दमा आत्म ग्यानी हुने गरेको दुखेसो पोख्नुले पालिकाका अध्यक्ष र वडा अध्यक्षहरु बीच समन्वय नभएको र पालिकाका सबै कार्यमा वडा अध्यक्षको संलग्नता हुँदैन भन्ने देखाएको छ । सुशासनको हिसावले यो राम्रो कुरा होइन । यसो भन्दैमा वडा अध्यक्षहरुले पनि आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिन पाउँदैनन । काममा गलत भए चित्त नबुझे सम्बन्धित ठाउँमै कुरा राख्ने र आफ्नो अधिकार लडेरै भए पनि प्रयोग गर्नबाट उनीहरु पनि चुक्नु हुदैन । सम्बन्धित ठाउँमा कुरा राख्न नसक्ने र आफ्नो कामको जिम्मेवारी बहन नगर्ने अनि बाहिर बाहिर बिरोध मात्रै गर्ने गरेको हो भने त्यस्तो कार्यलाई पनि जायज मान्न सकिदैन ।

अनुगमनका क्रममा नरैनापुर क्षेत्रमा १३ स्थानमा ७ महिला सहित ७४१ जना ब्यक्तिहरुलाई बिभिन्न क्वारेन्टिनमा राखिएको पाइएको पाइयो । तर अधिकांश क्वारेन्टाइनमा क्वारेन्टाइन सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसारको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मीको ब्यवस्थापन, फोहर ब्यवस्थापन, बासस्थान तथा बन्दीबस्तीको ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन सरसफाई तथा फोहर महिला ब्यवस्थापन लगायतका मापदण्डहरु पूर्ण रुपमा कार्यान्वयन नभई शुद्ध खानेपानी, शौचालय, खानाको गुणस्तर, बत्ति पंखा, बसाईमा समस्या रहेको गुनासो क्वारेन्टिनमा बसेका ब्यक्तिहरुको गरेका छन् । जेठको गर्मिमा पंखा बिना टिनको छानामा बस्नु पर्दा कतिपय कैदमा बसे जस्तो भएको गुनासो क्यारेन्टिनमा बसेकाहरुले गरेकाले क्वारेन्टाइनको न्यूनतम आधारभुत आवश्यकता पुरा ढिला गरिनु हुदैन । क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुले पालना गर्नु पर्ने आचार संहिता जस्तै दुरी बनाएर बस्नु पर्ने, बाहिरका ब्यक्तिहरुसंग सम्पर्क नगर्ने, तोकिएको स्थानमा बस्नु पर्ने लगायतका नियमहरु पालना भएका छैनन् । क्वारेन्टाइनमा बसेका केही ब्यक्तिहरु साँझको बेला शौच गर्ने बहानामा सो स्थानबाट निस्की आफुखुसी रातभर घर गई बसेको भन्ने पाइएकाले कोरोना सो बाट कोरोना संक्रमण झनै जोखिम बढ्ने सम्भावना बढेकोले यता तर्फ सम्बन्धितको ध्यान पुग्नु जरुरी देखिएको छ ।

बाँकेमा कोरोना संक्रमितको सख्या बढ्दै गएको सन्दर्भमा नरैनापुर क्षेत्रका क्वारेन्टाइनमा पनि मापदण्ड बिपरित एकै कोठामा धेरै ब्यक्तिहरु सामुहिक रुपमा बसेको, आचारसंहिता पालना गरेको नपाइएकोले यसमा सरोकारवालाको तुरुन्तै ध्यान जान जरुरी देखिएको छ ।
भारतिय सिमा क्षेत्रबाट अहिले पनि नेपालीहरु आउने क्रम जारी रहेको पाइएको छ यस अवस्थालाई मध्यनजर राख्दै तत्काल आवश्यक मात्रामा क्वारेन्टाइन र आइसोलेन कक्ष निर्माण गर्न अब ढिलाई गरिनु हँुदैन । यस्तै कारोना संक्रमणको रिपोर्ट आईसकेको स्थितिमा पनि लामो समयसम्म कोरोना भएका र नभएकालाई एउटै क्वारेन्टाइनमा राखिनु तिनको ब्यवस्थापनमा ढिलाई हुनुले नरैनापुर क्षेत्रमा कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले यस्ता कुरामा सम्बन्धित पक्षको ध्यान जानु पर्दछ ।

नरैनापुर क्षेत्रमा कोरोनाको संक्रमण पैmलिदै गएको सन्दर्भमा यसको असर आम नागरिकसम्म पुग्नबाट बचाउन पर्याप्त गृहकार्य गरेको पाइएन । यस्तो अवस्थामा क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन र चेकजाँचको दायरा तत्काल बढाउन जरुरी देखिएको छ । नरैनापुर क्षेत्रमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको सन्दर्भमा कोरोना संक्रमणको महामारी हुनबाट बाँकेलाई बचाउन केन्द्रबाट नै अबिलम्ब स्वास्थ्यकर्मी सहितको बिज्ञ टोली खटाउन ढिला गर्नु हँुदैन ।

अन्तमा ः अनुगमनको समग्र बिश्लेषण गर्दा संघ प्रदेश र संघीय सरकार बिचमा कोरोना नियन्त्रण र संक्रमण फैलिन नदिन आवश्यक समन्वय र सहकार्यको अभाव देखिन्छ । संघियताको मर्म अनुसार आफैमा बलियो मानिएको स्थानीय सरकार काम गरेर देखाउने, भएका स्वास्थ्य लगायतका संरचनालाई बलियो बनाउने अवसर प्राप्त हुन सक्ने बेलामा केही गर्न सक्दिन भनी जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई कदापी राम्रो मान्न सकिदैन । पर्याप्त पूर्व तयारी नगर्दा र बेलैमा सावधानीका तरिका अपनाउन नसक्दा आज नरैनापुर क्षेत्र कोारोनाको महामारी स्थल बन्न पुगेको छ । अझ भ्रम अबिश्वासलाई चिरेर पर्याप्त पूर्व तयारी नपुग्दा संक्रमितलाई आईसोलेसनमा राख्नमा हुन गएको ढिलाईले स्थिति अझ गम्भीर बनेको छ ।

बिगतका दिनमा नरैनापुर क्षेत्रमा आगलागी हँुदा होस वा अन्य कुनै दैविक बिपत्ति पर्दा उत्सवमा झै राहत बाँढ्न दौडिनेहरु अहिले आवश्यक परेको बेला गुमनाम हुनु निश्चय नै चिन्ताको बिषय बनेको छ । स्थानीय सरकारले पनि यस्तो बिपतको आफ्नो दायित्व सम्झेर जिम्मेवारी बहन गर्ने र काम गरेर देखाउने यो अवसर गुमाउनु हुदैन । यस्तो बिपतको बेला पन्छिने होइन चुनौतीलाई सामना गर्दै जसले काम गर्न सक्छ उसैले नै सफलता प्राप्त गर्न सक्दछ । यस्तो बेला एक अर्कालाई दोषारोपण गरेर होइन एक आपसको साथ र सहयोगले नै जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ । संघ, प्रदेश र स्थानीय सरकार बिचको समन्वात्मक कार्यबाट मात्रै कोराना कहरको बिपद्पूर्ण अवस्थालाई चिर्न सकिने भएकाले तिनै तहका सरकार बिचमा अझ बढी समन्वयात्मक तवरबाट काम गर्न जरुरी छ । यसै गरि अरु सम्बन्धित निकाय र ब्यक्तिहरुले पनि आफ्नो केही भूमिका छैन जस्तो गरि अरुलाई दोष दिई आफु चोखिने प्रवृत्तिको अन्त्य गरि राम्रा काममा सहयोग र सुधार गर्नु पर्ने कुरामा सल्लार्ह सुझाव दिन कन्जुस्याई गर्नु हुदैन । (लेखक अधिकारकर्मी हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया