बिहिबार साँझ को विवरण अनुसार उदयपुर र जनकपुरमा एक एक गरी दुई जनामा कोरोना भाइरस संक्रमण (COVID-19) पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ भने उदयपुरमा मात्र २८ । यो संक्रमण बिश्वका केहि भागमा नियन्त्रित भैसकेको छ, केहि भागमा स्थिर छ भने केहि भागमा बढ्ने क्रममा। नेपालमा पनि यो रोगका बिरामी बढ्ने क्रममा देखिन्छ ।  

उदयपुर जिल्लामा बैशाख १० गते बिदेशबाट आएका ३ मा यो रोग पोजेटिभ देखिएको थियो, जसमध्ये एक जना दुबईबाट फागुन ११ मा र बाँकि दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएको खुलेको छ । त्यस्तै वैशाख ९ मा पनि उदयपुरमा एकैपटक ११ व्यक्तिमा यो रोग पुष्ट भएको थियो जो विभिन्न ७  परिवारका थिए भने ति मध्ये पाँच जना चैं परिवारका सदस्य । यो भन्दा पहिले बैशाख ६ मा १ जना र वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा गरि १२ जना जनामा देखिएको थियो । 

एउटै क्लस्टरमा पनि बिभिन्न परिवेश, पेशा र ठाउँबाट आएका व्यक्तिमा यो रोग देखिनुले अब कतै यो हामी कम्युनिटी ट्रान्समिसन (तेश्रो चरणमा) मा प्रवेश त गरेनौं भनेर बिश्लेषण सुरु हुन थालेको छ। रोगीको संख्या बढ्नुमा माहामारीको चरण त कारक हो नै तर केहि दिन यता बिस्तार गरिएको परिक्षणको संख्याले पनि रोगीको पहिचान बढेकै हो। 

बिहिबार अपराह्न ४:२५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट अनुसार ९१९९ मा PCR प्रविधिबाट परिक्षण गरिएको थियो भने ऱ्यापिड डायग्नोस्टिक किट (RDT) मार्फत ३४५२३ मा ।RDT को प्रयोग सहजताले नै हो, यो PCR भन्दा ३ गुना भन्दा बेसी मात्रमा प्रयोग भएको। RTPCR मार्फत परिक्षण गरिएका ९१९९ मध्ये ४७ मा संक्रमण पुष्टि भएको छ भने ९१५२ मा रिपोर्ट नेगेटिभ । ऱ्यापिड डायग्नोस्टिक किट (RDT) मार्फत परिक्षण गरेर पोजेटिभ देखिएकाहरुमा भेरिफिकेसनको निम्ति  RTPCR गर्ने गरिएको छ । 

मंगलबार पनि केन्द्रिय कारागारमा काम गर्ने २ जना नर्समा आरडिटी मार्फत परिक्षण गर्दा पोजेटिभ देखिएकोमा पछि PCR मार्फत परिक्षण गर्दा रोग नेगेटिभ भएको पाइयो । बेलाबेलामा आरडिटीको रिपोर्ट र PCR को रिपोर्ट फरक पर्दा आरडिटीको प्रयोगकै औचित्यमा जनमानसमा चर्चा उठ्ने गर्छ । तर  त्यो भन्दा पहिले PCR र RDT को परिक्षण विधिको बारेमा केहि सामान्य जानकारी राख्नु बान्छनिय हुन जान्छ । 

PCR ले थ्रोट स्वाब (घाँटीबाट लिइने परिक्षण सामाग्री) मा कोरोना भाइरसको न्यूक्लिक एसिड (RNA) भए नभएको यकिन गर्छ । निकै थोरै मात्रमा हुने यस्तो RNA लाई पोलिमरेज चेन रियाक्सन भन्ने विधिबाट पर्याप्त मात्रमा बृद्धि गरिन्छ । उदाहरणको लागि – एउटा मात्र रौं छ भने आँखाले सजिलै देख्न मुस्किल हुन सक्छ तर रौंको गुजुल्टो वा चुल्ठो बाटेमा त्यो सहजै देखिन्छ । यो एक क्लोनिङ जस्तै विधि हो जसमा यसलाई फोटोकपी मेशिनबाट एक पान्ना डकुमेन्टबाट हालेर हजारौं प्रति निकालिन्छ । 

कुनै पनि रोग लागे पछि  शरिरले रोग प्रतिरोधात्मक रसायनहरु बनाउँछ । यसलाई एन्टिबडी भनिन्छ । शरिरमा कोभिड-१९ को बिरुद्ध एन्टिबडी छ कि छैन भन्ने जाँच नै ऱ्यापिड टेस्ट हो । मानिसको रगत तानेर पिसाब मार्फत गर्भ परिक्षण गरे जस्तै तुरुन्त परिक्षण गर्न सकिने र १०-१५ मिनेटमै नतिजा आउने भएकोले यसलाई  ऱ्यापिड टेस्ट भनिएको ह। 

सिद्धान्तत: संक्रमण सरेपछि शरिरबाट भाइसको RNA PCR मार्फत पत्ता लाग्न सक्ने हो । तर भाइरल लोड बढ्न र शरिरबाट उल्लेख्य मात्रामा निस्कन  २-३ दिन लाग्न सक्छ र PCR मा पोजेटिभ आउने संभावना पनि त्यसपछि बढ्छ । रोग सरेपछि सामान्यतया ५ दिनजतिमा लक्षणहरु देखा पर्न थालेर ७ दिन जतिमा ति स्थापित हुन्छन र यो सँगै शरिरमा IgM भन्ने एन्टिबडि देखा पर्न थाल्छ । अत: संक्रमण भएको सुरुको १ हप्ता रगतको परिक्षणमा रोग नदेखिने भएकोले यसलाई विन्डो पिरियड पनि भनिन्छ ।

सुरुका १४ दिन भाइरसको RNA र एन्टिजेन छिटिछिटो बढे पनि त्यसपछि भने त्यसको मात्र बिस्तारै घट्न थाल्छ  । संक्रमण भएको ४ हप्ता कटिसकेपछि यस्तो RNA को मात्र यति घट्छ कि PCR मार्फत त्यो पत्ता नलाग्न पनि सक्छ । 

उता संक्रमण पछिको ७ दिन देखि १४ दिनसम्म IgM को मात्रा बढ्छ भने त्यसपछि IgG भन्ने एन्टिबडी वा इम्यूनोग्लोबोलिन बढ्न थाल्छ । यसरी देखिने IgG को मात्र ३ देखि ४ हप्तामा उच्च बिन्दुमा पुगि हप्तौं मा महिनौंपछि मात्र बिस्तारै झर्न थाल्छ । IgM संक्रमण पश्चातको द्रुत प्रतिक्रिया हो भने IgG दिर्घकालिन प्रमाण तथा औजार । त्यसैले कयौं संक्रमणहरु जस्तै ठेउला, दादुरा, पोलियो एक पटक भएपछि पुन संक्रमण हुन सक्दैन् । तर कतिपय भाइरसहरुका भने बेलाबेलामा म्युटेसन (आनुवंशिक परिवर्तन) भइ नयाँ प्रजाति (स्ट्रेन) उत्पन्न हुने हुँदा दिर्घकालिन रोग प्रतिरोधात्मक क्षमता प्रभावकारी हुँदैन । IgG को मात्रा पनि केहि बर्षपछि कम हुँदै जाने भएकोले यस्तो प्रतिरोधमा रोगको चिन्न तालिम प्राप्त T Lymphocytes को पनि भूमिका हुन्छ । नयाँ प्रकृतिको रोग भएकोले कोरोना भाइरस संक्रमण एक पटक भएर निको भैसकेपछि सधैंको लागि जोखिममुक्त भइन्छ कि भइन्न भन्ने कुरा अझै स्थापित भैसकेको छैन ।

माथि उल्लेख गरिए झैं भाइरसको RNA शरिरबाट निस्किने क्रम र रोग प्रतिरोधात्मक एन्टिबडीका मात्रा रोगका बिभिन्न चरणमा फरक पर्ने हुँदा निदानको निम्ति अवलम्बन गरिने विधिले पनि रोग पहिचानको सफलता निर्धारण गर्छ । धेरै सुरुको चरणमा ऱ्यापिड टेस्ट नेगेटिभ आउन सक्छ भने PCR टेस्ट पोजेटिभ । उता रोग गुज्रेको धेरै समय भैसकेको छ भने PCR नेगेटिभ आउन सक्छ भने एन्टिबडी परिक्षण गरिने ऱ्यापिड टेस्ट पोजेटिभ । 

समय मात्र यसको आधार नभइ व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा समेत यो भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता घटाउने स्टेरोइड जस्ता औषधी लिइरहेको अवस्थमा, पोषण अवस्था जीर्ण रहेमा तथा एचआइभि जस्ता संक्रमणमा रोग बिरुद्धको एन्टिबडी उत्पादन प्रभावकारी नहुने हुँदा यो टेस्ट नेगेटिभ आउन सक्छ । 

हामीकहाँ श्रोतको सिमितताले गर्दा सबै ठाउँमा PCR टेस्ट विस्तार गर्न सकिएको छैन । पहिचान गरिएका मुख्य मुख्य अस्पतालमा PCR सेवा उपलब्ध छ भने ऱ्यापिड टेस्ट क्वारेन्टाइन र संक्रमितको सम्पर्कमा आएका हुन सक्ने जोखिम वर्गमा प्रयोग गर्ने गरिएको छ । 

ठूलो जनसंख्यामा सहताका साथ गर्न सकिने परिक्षणलाई स्कृनिङ टेस्ट भनिन्छ । यस्ता टेस्टहरु सकेसम्म धेरै सेन्सिटिभ हुनु पर्छ । जसले रोग लागेका हुन सक्नेमा सकेसम्म धेरै पोजिटिभ देखाओस् ।याने कि यस्तो टेस्टले ट्रु पोजेटिभ (साँच्चिकै रोग भएका कुनै व्यक्ति) पनि नछुटाओस् । यस्तोमा केहि फल्स पोजेटिभ ( हुन त नेगेटिभ हो, तर गलत तरिकाले पोजेटिभ देखिने) पनि देखिन सक्छ । कोरोना संम्रमणमा हाल ऱ्यापिड टेस्ट तेस्तै स्कृनिङ टेस्टको रुपमा प्रयोग गर्न सकिने हो ।  तर यस्ता टेस्टको नतिजा प्रमाणीकरणको निम्ति कन्फर्मेटरी टेस्ट जुन कोरोनाको सन्दर्भमा PCR हो । यस्ता टेस्टहरु सकेसम्म धेरै स्पेसिफिक होस् भन्ने अपेक्षा रहन्छ । यस्तो टेस्टले नेगेटिभ देखाएको व्यक्तिमा संक्रमण हुने संभावना अत्यन्त न्यून हुन्छ । याने कि यसले ट्रु नेगेटिभ (साँच्चिकै कुनै रोग नभएको) व्यक्तिहरुको पहिचान गर्छ । कुनै पनि परिक्षण सत प्रतिशत सेन्सेटिभ र सत प्रतिशत नै स्पेसिफिक हुन सक्दैन् । अझ भन्ने हो भने, कुनै पनि परिक्षणमा यी दुइ मापकहरु इन्भर्स्ली प्रोपोर्सनल (विपरित रुपमा समानुपातिक) हुन्छन् । 

सहि समयमा उपयुक्त तरिकाले स्याम्पल लिएर PCR गर्नु नै रोग किटान गर्ने सबैभन्दा प्रभावकारी विधि हो । हामीकहाँ मुखबाट निकालिने घाँटीको स्याम्पल (थ्रोट स्वाब) सबैभन्दा बढी अपनाइए पनि यो भन्दा नाकबाट स्वाब निकालेर गरिने बिधि बढी प्रभावकारी हुन सक्ने देखिएको छ तर यो बिरामीको लागि सहज भने हुने छैन । स्वासका नलीहरु पखालेर लिइने स्याम्पल (Bronchoalveolar Lavage) निकै प्रभावकारी देखिए पनि यो प्राविधिक रुपमा निकै जटिल हुन्छ । 

नेपालमा पनि यो रोग फैलिरहेकोले नियन्त्रणमा उपलब्ध सबै उपाय अबलम्बन गर्नुको विकल्प छैन । सोहि अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख ४, २०७७ को परिपत्र अनुसार चैत्र महिनाभित्र विदेशबाट आएका – सबै ; COVID-19 पोजिटिभ बिरामीको सम्पर्कमा आएका र उनीहरुका सम्पर्कमा आएका – सबै ; १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बसेका – सबै र कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी – सबैको ऱ्यापिड टेस्ट गर्ने भनिएतापनि किटको पर्याप्तताको कारण लक्षित सबैमा यो गर्न सकिएको छैन । परिक्षणको दायरा थप बढाउने हो भने यो माग बढ्ने पक्का छ । 

किटको प्रभावकारितामा बिश्वका बिभिन्न देशमा मिश्रित प्रतिक्रिया र नतिजा पाइएको हुँदा बिश्वस्निय कम्पनीले उप्पादन गरेका र मान्य संस्थाबाट सिफारिस गरिएका किटहरु मात्र खरिद गर्दा परिक्षणको नतिजासँग ढुक्क हुन सकिएला । विविध कारणले सरकारले खरिद गरेर मात्र यसलाई सर्बसुलभ बनाउन नसके नियामक संस्थाले विभिन्न रिसर्चहरुको आधारमा प्रभावकारी ठहर्याइएका कम्पनी, ब्रान्ड, गुणस्तर र अधिक मुल्य तोकिदिंदा निजी क्षेत्रले समेत यसको आयात गरेर उपलब्धता बढाउन सकिन्छ । अझ भरखरको संक्रमण जनाउने IgM र पुरानो संक्रमण जनाउने IgG का अलग अलग ब्यान्ड देखाउने किट उपलब्ध हुन सकेमा परिणामको बिश्लेषण गर्न थप सहज हुनेछ । अवस्था सामान्य भैसकेपछि पनि मानिसहरु केहि पैसा खर्च गरेरै भए पनि रोगसँगको आफ्नो संक्रमणको अवस्था थाहा पाउन लालायित हुनेछन् । तेस्तो बेलामा यसको माग थप बढ्न सक्छ । सो सम्बन्धमा गृहकार्य गर्दै राख्ने बेला पनि यहि हो । 

तर रोग पहिचानमा RTPCR हालसम्म उपलब्ध सबैभन्दा भरपर्दो विधि हो । देशका दर्जन भन्दा बेसी ठाउँमा PCR सेवा स्थापना भैसकेको अवस्थामा यो सेवाको निरन्तरता र जाँच संख्या बढाउनु समयको अपरिहार्यता । Extraction Kits, Assay र भाइरल ट्रान्सपोर्ट मेडियम (VTM) को अविच्छिन्न आपुर्ती भएमात्र यो संभव हुनेछ । आशा छ, माग आँकलनका कमजोरी र खरिद प्रक्रियाका बिलम्बले यसलाई प्रभाव पार्नेछैनन । 

रोगसँग समाजमा रहेको त्रास ठूलो छ र धेरैले परिक्षणको माग गर्न सक्छन्। तर हाम्रो श्रोतको सिमिताको कारणले गर्दा त्यो तत्काल संभव छैन । यस्तो कुनै बिरोधाभास र असमझदारी नहोस भनेर नेपालगंजका बिशेषज्ञ चिकित्सकहरुको छलफलबाट थ्रोट स्वाबको निम्ति सर्बसम्मत रुपमा  कार्यविधि समेत तय गरिएको छ । जस अनुरुप रोगका निर्दिष्ट लक्षण भएका शंकास्पद बिरामीको, वा ऱ्यापिड टेस्ट पोजेटिभ आएकाको वा उपचारमा संलग्न बिशेषज्ञ चिकित्सकले आबश्यक ठहर्याएमा मात्र परिक्षण गरिनेछ । लक्षणहरुमा १००.४ 0F भन्दा बेसी जरो आएमा, खोकि लागेमा र स्वास प्रश्वासमा देखिने गडबडीलाई आधार बनाइदेछ । साथै ३ हप्ता भन्दा यता कुनै COVID-19 प्रभावित स्थानबाट आएको वा  PCR मार्फत पोजेटिभ देखिएको व्यक्तिको सम्पर्का रहेका व्यक्तिमा पनि PCR बाट परिक्षण गराइनेछ । श्रोतको विद्यमान सिमितता रहेसम्म यो भन्दा उदार हुनु हामीलाई संभव हुनेछैन । 

भेरी अस्पतालमा एक दीर्घकालीन लगानीको रुपमा स्थापना भएको  RTPCR मेशिन तथा सुबिधा COVID-19 मत्थर भएपछि पनि उत्तिकै महत्वपुर्ण रहनेछ। सिकल सेल, थालेसिमिया, हेमोफिलिया जस्ता जेनेटिक रोगको पहिचान, ब्याक्टेरियाहरुको एन्टिबायोटिक रेसिस्टेन्स, डेंगु, मलेरिया, कालाजर र क्यान्सर रोगको पहिचान लगायत विविध कार्यमा समेत प्रयोग गर्न सकिनेछ । तर त्यसको निम्ति जनशक्ति व्यवस्थापन, संचालन बिधि तर्जुमा, तथा सेवा निरन्तरताको निम्ति ‘बिजनेस प्लान’ समेत अहिल्यै देखि बनाइदै राख्नु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया