कोरोना विरुद्धको अभियानका लागि बाँकेका सबै स्थानीय तहका वडामा स्वयंसेवक पुग्ने भएका छन् । सरकारको निर्णय बमोजिम वडामा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मार्ग निर्देशन २०७६ बमोजिम कोरोना रोकथाम स्वयंसेवक टोली गठन गरेर घरघर स्वयंसेवक पुग्ने तयारी गरेको हुन् ।
टोलीमा वडाध्यक्ष संयोजक रहने गरी स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गैसस प्रतिनिधि र प्रहरी गरी सात जनासम्मको सहभागिता रहनेछ । उक्त टोली घरघरमा पुगेर विदेशबाट आएका, क्वारेन्टाइनमा बसेका र हरेक नागरिकको स्वास्थ्य अवस्थाको विवरण तयार गर्नेछन् ।
बाँकेमा सबैभन्दा पहिला खजुरा गाउँपालिकाले वडा वडामा स्वयंसेवक टोली गठन गरि परिचालन गरेको छ । गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वंसेविकाहरुलाई घरघर पुगिरहेको जानकारी दिएका छन् । त्यसका लागि १ सय ८ जना परिचालन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले पनि सबै वडामा समूह गठनका लागि पत्राचार गरिसकेको नगर स्वास्थ्य अधिकारी राम बहादुर चन्दले जानकारी दिएका छन् । उनले स्वयंसेवक टोली गठनपछि विवरण संकलनका लागि खटिने बताएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पनि वडाहरुमा टोली गठनका लागि पत्राचार गरिसकेको छ । सबै स्थानीय तहले गठन गरेको टोलीको विवरण प्रदेश ५ सरकारलाई बुझाउनु पर्नेछ । सरकारले टोलीका सदस्यका लागि प्रोत्साहन गर्न भत्ताको व्यवस्था पनि गरेको छ ।








