दशगजामा क्वारेन्टाइनमा राखिएका नेपालीहरुका लागि सधै गुरुद्वारामा खाना तयार गरेर लगिने गरिएको छ । जसका लागि विभिन्न क्षेत्रले सहयोग गर्दै आएका छन् ।
गुरुद्वारामा तयार हुने खानाका लागि दैलेखी समाजले सहयोग गरेको छ ।
दैलेखी समाज बाँकेको अध्यक्ष इश्वर श्रेष्ठ र दैलेखी एकता समाज कोहलपुरका अध्यक्षले संयुक्त रुपमा शुक्रबार खाद्यान्न सामाग्री गुरुद्वारामा हस्तान्तरण गरेका हुन् ।
शुक्रबार र शनिबार मात्र ३–४ संस्थाहरुले हातेमालो गरी खाद्यान्न, नगद सहयोग गुरुद्वारालाई उपलब्ध गराएका छन् । जसमा दैलेखी सेवा समाजले चामल, दाल, काँचो तरकारी, तेल मसला आदि उपलब्ध गराएको छ भने लायन्स क्लब जिल्ला ३२५ बी २ एरिया ६ का सम्पूर्ण लायन्स सदस्यहरुले करीब २० हजार बराबर खाद्यन्न सहयोग उपलब्ध गराएको लायन डा. सेम शाक्यले बताए ।
त्यसैगरी, अन्य सहयोगी हातहरुले समेत फोनमा सम्पर्क गरी यस मानव सेवामा समर्पित कार्यमा हातेमालो गर्न तत्पर रहेको नेपाल शिवसेनाका अध्यक्ष राजकुमार रौनियारले बताए ।
त्यसैगरी बिहान नास्ताको लागि संत निरंकार मण्डल नेपाल शाखा कार्यालय नेपालगंज, नेपाल शिवसेना र अवधी पत्रकार संघ बाँके शाखाको सहकार्यमा २५० बढी नास्ताको व्यवस्था गरिएको संत निरंकार मण्डलका कारीगढ खेलावन गोडियाले बताए ।
मानव सेवा नै धर्म हो भन्ने मान्यताका साथ विभिन्न व्यक्तिहरुको सहयोगबाट यसखाले आयोजनाहरु विगतदेखि नै गर्दै रहेको गुरुद्वाराका सचिव जोगेन्द्रसिंह सरदारले बताए ।












