सन्जय तिमिल्सीना


अन्तर्राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ को अवसरमा कार्यभारको पुनरावलोकन गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय संरक्षणको आधार अगाडि सा¥यो । सन् २०१० देखि २०२० लाई अन्तर्राष्ट्रिय सहकारी दशककोरुपमा मनाउने निर्णय ग¥यो । चालु वर्ष अन्तर्राष्ट्रिय सहकारी दशकको अन्तिम वर्ष हो र यो वर्ष सहकारी अभियानको लागि अन्तर्राष्ट्रियरुपमा नै चुनौतिपुर्ण हुनसक्ने देखिन्छ । यद्यपी सहकारीका आफ्नै सिद्धान्त, मुल्य र सञ्चालन पद्दति छन् जसले अन्य क्षेत्रको जोखिम सहजै यस क्षेत्रमा प्रवेश नै गर्न सक्दैन । तर, अहिले विश्वले जुन महामारीको सामना गरिरहेको छ त्यो महामारी मानव सभ्यता र मानवीय जीवनकै चुनौति भएकोले सहकारी क्षेत्रलाई पनि यसले धेरथोर प्रभाव पार्ने निश्चित छ । यस्तो प्रभाव न्युनिकरणका लागि सहकारी अभियानले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विभिन्न रणनीतिक कदम चाल्नु पर्ने र अफ्ना सञ्चालनका विधिहरुलाई पुनरावलोकन गर्नुपर्ने हुन सक्दछ । त्यस्ता कदम र सोच अगाडि सार्न विभिन्न अवसरहरु महत्वपुर्ण हुन्छन् । सामान्यतया कुनै नयाँ सोच वा रणनीति कुनै आर्थिक वर्ष वा आफ्ना विशेष दिवसको अवसरमा अगाडि सारिन्छ त्यसै सन्दर्भमा नेपालमा पनि आज राष्ट्रिय सहकारी दिवस मनाइरहेको सन्दर्भमा यो लेख प्रस्तुत गरिएको छ ।


नेपालमा आधुनिक सहकारीको विधिवत स्थापना भएको दिन (वि.सं.२०१३ साल चैत्र २० गते) को सम्झनामा हरेक वर्ष चैत्र २० गतेलाई राष्ट्रिय सहकारी दिवसकोरुपमा मनाउने क्रममा आज “मर्यादित काम र पर्यटनका लागि सहकारी” भन्ने मुल भाव सहित ६३औं राष्ट्रिय सहकारी दिवस मनाईदै छ । विगत वर्षहरुमा सहकारी दिवस विभिन्न औपचारिक कार्यक्रमहरु सहित जिल्ला र केन्द्र तहमा मनाउने गरिन्थ्यो तर यस वर्ष कोरोनाको प्रभावका कारण एकाध साना कार्यक्रम बाहेक औपचारिक कार्यक्रमहरु आयोजना गरिएन र गरिनु सान्दर्भिक पनि हुँदैनथ्यो ।


अहिले कोरोना भाईरसको संक्रमणको कारण विश्वव्यापी संकटको अवस्था छ । मानिसहरुलाई कुनै दिवसको उत्सव भन्दा पनि आफ्नो जीवन सुरक्षित गर्ने प्राथमिकतामा छन् । हामी पनि सुरक्षित बाँच्न सक्यौं, हाम्रा सदस्यहरु सुरक्षित हुन सके भने अर्को वर्षको दिवस तामझाम र उल्लासका साथ नै मनाउँला । यस वर्ष आफु बचौं र अरुलाई पनि बचाऔं । जो जहाँ छौं त्यहिंबाट आफ्ना सदस्य र सहकारीकर्मीप्रति विभिन्न सञ्चारमाध्यमबाट शुभकामना व्यक्त गरौं, स्वास्थ्य सुरक्षाप्रति सदस्यहरुलाई सचेत बनाऔं कोरोनाको संक्रमण हाम्रो कार्यक्षेत्र र हाम्रा सदस्यको परिवारमा पुग्न सकेन भने हाम्रो दिवस यसै कारणले सफल हुनेछ ।


नेपालको सहकारी अभियानमा राष्ट्रिय सहकारी महासंघले सम्बन्धित वर्ष सहकारी अभियानको मुख्य कार्यभारकोरुपमा राष्ट्रिय नारा अगाडि सार्ने गर्दछ र यस वर्ष “मर्यादित काम र पर्यटनका लागि सहकारी” भन्ने नारा अगाडि सा¥यो । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी शुभारम्भ गरिसकेको सन्दर्भमा सहकारी अभियानले पनि पर्यटनलाई आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि सार्नु सान्दर्भिक नै थियो तर सहकारी अभियानमा कार्यान्वयनको लागि नारा औपचारिक घोषणा नहुँदै नेपाल सरकारले नेपाल भ्रमण वर्षको सचिवालय समेत खारेज गर्ने प्रक्रियामा अगाडि बढेको छ । यसले हाम्रो कार्यभार पुरा गर्ने चुनौति थपिएको छ ।


नेपालको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण), कृषि, जडिबुटी र पर्यटन महत्वपुर्ण क्षेत्र मानिन्छ । यद्यपी सम्भावना अनुरुप पर्यटन प्रबद्र्धन, त्यसको मापदण्ड र व्यवस्थापनका अन्य कार्य प्रभावकारी हुन नसक्दा पर्यटन क्षेत्र सम्भावना अनुरुप मौलाउन सकेको छैन । सहकारी क्षेत्र भित्र पनि पर्यटन प्रबद्र्धनको मुख्य उद्देश्य सहित स्थापित संस्थाहरु नभएका होइनन् तर प्रभावकारिता भने सोचनीय नै छ । त्यसो त पर्यटन पर्यटन प्रबद्र्धन पर्यटन सहकारीको मात्र विषय पनि होइन यसको प्रबद्र्धनमा अन्य सहकारीले पनि कार्य गर्न सक्दछन् जस्तै ः उत्पादक सहकारी संस्थाहरुले स्थानीय श्रोत, साधन र सीपको प्रयोग गरी पर्यटक आकर्षक गर्ने हस्तकला, चित्रकला, मुर्तिकला, सिलाई, बुनाई, स्थानीय विशेषताका खाद्य उपज उत्पादन र प्रशोधन जस्ता कार्य गर्न सक्दछन् भने उपभोक्ता सहकारीले उत्पादित वस्तुहरु उपहारको रुपमा प्रयोग हुने गरी बिक्री वितरणको व्यवस्थापन, बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरुलाई होटल, रेष्टुरेन्ट, क्याफे लगायत पर्यटक आवश्यकताका अन्य व्यावसाय सञ्चालनको लागि लगानी वृद्धि गर्ने र पर्यटक सहकारीले प्राकृतिक एवम् मानव निर्मित सम्पदाहरुको संरक्षण, सुचिकरण, पर्यटन प्याकेज निर्माण, पर्यटक पथ प्रदर्शन जस्ता कार्यमा केन्द्रित हुन सकेमा पर्यटनका लागि सहकारी भन्ने मर्म कार्यान्वयन हुन सक्ने देखिन्छ । तर वर्ष २०७७ को पुर्वाद्र्ध अनुकुल हुने देखिएको छैन यद्यपी अब तत्काल विश्वव्यापी महामारी नियन्त्रणमा आयो भने उत्तराद्र्धमा सकारात्मक संकेत देखिन सक्दछ ।


अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २००८ को भन्दा गम्भीर आर्थिक मन्दी आउसक्ने चेतावनी दिइसकेको छ । सन् २००८ मा अमेरिकाको एउटा ईन्भेष्टमेन्ट बैंकिङ्ग कम्पनी (लेम्यान ब्रदर्श) मात्र टाट पल्टिंदा विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जित भएको थियो भने यसपटक विश्वव्यापी महामारीले धेरै उद्योग र वित्तीय संस्थाहरु जोखिमको अवस्थामा पुगेका छन् ।
अन्य क्षेत्रमा व्यापक प्रभाव देखिएको र वित्तीय संस्थाहरुमा सबैभन्दा ठुलो प्रभाव परेको सन् २००८ को आर्थिक मन्दीबाट सहकारी अभियान भने सुरक्षित रहेको थियो, यस पटक सुरक्षित रहने चुनौति छ । नेपालमा सहकारीको संख्यात्मक वृद्धि सँगै गुणस्तर, वित्तीय सुरक्षा र स्वास्थ्य जस्ता विषयमा मापदण्डको पालनामा कतिपय संस्थाहरु रहन सकेका छैनन् । कतिपय संस्थामा सदस्यहरुसँग ग्राहकसँग जस्तो व्यवहार गर्ने गरिएको छ जसले गर्दा संस्था अफ्ठ्यारो पर्दा सदस्यहरुले संस्था नै त्याग्न सक्ने अवस्था छ । जबकी २००८ को आर्थिक मन्दीमा सहकारी संस्थाहरु टाट नपल्टिनुको प्रमुख कारण सदस्य केन्द्रित सञ्चालन र सदस्यले स्वामित्व बोध गर्नु नै थियो । सदस्यले स्वामित्व बोध गरेको संस्थामा अफ्ठ्यारो पर्दा सदस्यले अन्य क्षेत्रमा रहेको आफ्नो पुँजी र श्रोतहरु सहकारीमा केन्द्रित गरिदिन्छन् जसले गर्दा सहकारी संस्थाले वित्तीय संकटको सामना सहज तरिकाले गर्न सक्दछ ।

सहकारीको जिम्मेवारी पुँजी वा श्रोत परिचालनको मध्यस्थता गर्नु मात्र नभई उनीहरुका जीवनशैली, उपभोग संस्कृति, बचतको बानी विकास, वित्तीय साक्षरता जस्ता व्यवहारमा सहजिकरण गरी जीवनशैली परिवर्तन गराउनु हो । सदस्यहरुमा सहकारी संस्कृतिको विकास, उपभोक्तावादी चिन्तनमा रुपान्तरण र वित्तीय साक्षरता प्रबद्र्धन गर्न सक्ने हो भने सहकारीले अहिलेको चुनौतिबाट समेत आफुलाई सुरक्षित राख्न सहजै छ । कतिपय संस्थाहरुले संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा सामाग्री वितरण सहित जागरणको काम गरिरहेका छन् भने कतिपय संस्थाले सो सहित विपन्न र श्रमिक सदस्यहरुको लागि राहत वितरणका कार्य समेत गरिरहेका छन् । यसरी हेर्दा अधिकांश सहकारी संस्थाहरुले समुदायमा आफ्नो जिम्मेवारी यो संकटको घडिमा समेत निरन्तर निर्वाह गरिरहेका छन् । यस्ता व्यवहारले सदस्य र संस्थाबीचको सम्बन्ध सघन, आत्मीय र अनौपचारिक बन्ने हुँदा संस्थामा कुनै संकटको अवस्था सिर्जना हुँदा सदस्यहरुलाई सामुहिक प्रयासको लागि गरिएको आह्वान स्वीकार्य हुन सक्दछ जसले गर्दा आर्थिक मन्दीको प्रभावबाट आफ्नो संस्थालाई मुक्त गर्न सकिन्छ ।


सहकारीमा बेला बखत कतिपय नियमन मापदण्ड र कानुनका बारेमा बहस चल्ने गर्दछ, यो स्वभाविक पनि हो । तर कतिपय नियमन मापदण्ड र कानुनले हामीलाई यस्ता संकटमा सुरक्षित हुने विधि अगाडि सारिरहेका पनि हुन्छन् । संकटमा सदस्यको स्वामित्व र मायाले मात्र संस्थालाई बचाउन सकिन्छ तर सहरी क्षेत्रका कतिपय व्यक्तिहरु एकैप्रकृतिका दर्जनौं संस्थामा सदस्य बनेका छन्, संस्थालाई माया मान्नु वा स्वामित्व ग्रहण गर्नुको अर्थ आफ्ना सबै आवश्यकतालाई तिलान्जली दिनु होइन जसले गर्दा आफु सदस्य रहेको वा भनौं कारोबार गरिरहेका सबै संस्थाको चाहेर पनि माया गर्न सक्ने अवस्था नहुन सक्दछ । यदि सदस्यले चाहेर पनि स्वामित्व ग्रहण गर्न, आवश्यकताको त्याग गर्न नसक्ने अवस्था हुने हो भने सहकारी संस्थामा संकट सिर्जना हुन सक्दछ । विश्वव्यापीरुपमा नै उद्योग व्यावसायहरु ठप्प भएकोले यो संकट जति लामो हुन्छ त्यति नै बजारमा उपभोग्य वस्तुको अभाव हुँदै जाने निश्चित छ । उत्पादन नै नहुने अवस्था भएपछि उपलब्ध वस्तुको मुल्य वृद्धि हुने, उपभोग्य वस्तुको खरीदमा तँछाड मछाड हुन सक्दछ । त्यसले गर्दा वित्तीय कारोबार गरिरहेका संस्थाहरुमा बचत फिर्ताको चाप बढ्न जान्छ । कतिपय संस्थाहरुले नाफा वृद्धिका लागि मापदण्ड भन्दा धेरै न्युन तरलता कायम गर्ने गरिरहेका छन् जसलाई बचत फिर्ता दिन समस्या सिर्जना हुन सक्दछ । यस्तो अवस्थामा थोक ऋण प्रदायकहरुले पनि ऋण प्रवाहको चाप थेग्न नसक्ने हुन सक्दछ । त्यसको लागि हाम्रा पुर्व तयारीहरु यो लकडाउनको समयमा नै सोच्नु जरुरी छ ।


चुनौतिले हामीलाई केहि पाठ सिकाएको पनि छ, अभाव र संकटले सृजना गर्न सिकाउँछ तर हामी सिक्न भन्दा प्रतिक्रिया जनाउनमा मात्र केन्द्रित हुन्छौं त्यसले समाधान होइन समस्याको पुनरावृत्ति मात्र गराउँदछ । सहकारी संस्था उद्देश्यमुलक, विधिसम्मत र प्रविधिमैत्री हुने हो भने विभिन्न किसिमका संकट सहज तरिकाले सामना गर्न सकिन्छ ।

त्यसका लागि
१. सहकारी संस्थाहरुले सदस्य केन्द्रित (सदस्यको प्रजातान्त्रिक नियन्त्रण, प्रतिफलको समानुपातिक वितरण, स्वामित्वको आधारमा मात्र कारोबार) सञ्चालन गर्ने ।
२. सहकारीप्रति सदस्यको स्वामित्व अनुभुति गराउन सकियो भने अन्य वित्तीय संस्थामा रहेको निक्षेप उपयोग गर्ने वा सहकारी संस्थामा स्थानान्तरण गर्नेछन् । जसले गर्दा सहकारी संस्थाले तरलता अभाव भोग्नु पर्दैन । त्यसैले नाममात्रका होइन अर्थपुर्ण सदस्य विस्तार गर्ने ।
३. सिमित सदस्यबाट ठुलो श्रोत संकलन वा श्रोत परिचालन (बचत, शेयर, ऋण, खरीद र बिक्री) गरिरहेका संस्थामा भन्दा श्रोतको वितरण फराकिलो बनाएका र धेरै सदस्य भएका संस्थामा आर्थिक मन्दीको असर न्युन हुने भएकोले सेवामा विविधिकरण र सदस्यको सहभागिता वृद्धि गर्ने ।
४. सहकारी संस्थाहरुले विषयगत कार्यमा केन्द्रित (बचत तथा ऋण सहकारीले वित्तीय सन्तुलन कायम गरी प्रविधि मार्फत सेवा प्रवाह, उत्पादकले आवश्यकताका वस्तु उत्पादन, उपभोक्ताले आवश्यक वस्तु तथा सेवाहरुको बिक्री वितरण, स्वास्थ्यले स्वास्थ्य उपकरणको उत्पादन तथा विक्री वितरण र स्वास्थ्य सेवा प्रवाह) हुने ।
५. वित्तीय कारोबार गर्ने संस्थाले सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेमा उपभोक्तावादी चिन्तनबाट सदस्यहरु सजग रहनेछन् । आवश्यकताको आधारमा मात्र उपभोग्य वस्तुहरु संग्रहित गर्नेछन् जसले बजारमा अभावको अवस्था सिर्जना हुँदैन । त्यसैले वित्तीय साक्षरता प्रबद्र्धन गर्ने ।
६. वित्तीय सहकारी (बचत तथा ऋण) ले मोबाईल बैंकिङ्ग, ई–बैंकिङ्ग, ए.टी.एम. जस्ता नविनतम प्रविधि मार्फत सेवा (बचत, ऋण, बील भुक्तानी सेवा) प्रवाह गर्ने ।
७. सघनरुपमा सदस्यहरुलाई नागरिक साक्षरता, वित्तीय साक्षरता, उपभोक्ता साक्षरता सहितको सहकारी शिक्षा प्रदान गर्ने ।
८. सञ्चालकहरुले पदलाई जिम्मेवारीको रुपमा बुझ्ने र संस्थागत क्षमता विकासको लागि एकीकरण मार्फत संख्यात्मक न्युनिकरण र क्षमता विकास गरी सदस्य र कर्मचारीहरुलाई जोखिम न्युनिकरणका उपायहरु अबलम्वन गर्ने, गराउने ।
९. बहुउद्देश्यीय र उपभोक्ता सहकारीले आफ्ना उद्देश्यमा केन्द्रित काम गरेको भएमा बजारमा हुने अभावले सहकारी संस्थाका सदस्यहरुलाई प्रभावित हुनबाट संरक्षण गर्न सकिन्थ्यो । त्यसैले उद्देश्यको आधारमा उत्पादन प्रणालीमा परिमाणात्मक उत्पादन मार्फत योगदान वृद्धि गर्ने ।
१०. स्वास्थ्य सहकारीले स्वास्थ्य सेवा, औषधि र स्वास्थ्य सामाग्रीको प्रबन्ध गरेको भए हाल बजारमा निजी मेडिकलले सिर्जना गरेको कृतिम अभावको असर न्युन गर्न सकिन्थ्यो । त्यसैले स्वास्थ्य सहकारी संस्थाहरुले सके अस्पताल, त्यो नसकेमा क्लिनिक, ल्याब, एम्बुलेन्स र औषधि पसलहरु सञ्चालन गर्ने ।
११. हरेक समस्या र घटनाक्रमले नयाँ पाठ सिकाउँछ । कोरोनाको प्रकोपबाट त्रसित हुने होइन पाठ सिक्ने र त्यस्ता प्रभाव दोहोरिन नदिन आफ्ना व्यवाहार सुधार गर्ने ।
उल्लेखित शिक्षा लिंदै गर्दा सहकारी अभियानले तत्काल निम्न कार्यहरुलाई प्राथमिकता दिने ः
१. सदस्यहरुको स्वास्थ्य सुरक्षाको लागि जनचेतनामुलक सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने । यसको लागि विद्युतीय माध्यमको अधिकतम प्रयोग गर्ने । वित्तीय सहकारी संस्थाले नगद र उपभोक्ता सहकारीले सदस्यहरुलाई आवश्यकताका वस्तु घरदैलोमा पुर्याइदिने सुनिश्चित गरी घरबाहिर ननिस्कन आग्रह गर्ने ।
२. सदस्यहरुको अवस्थाको बारेमा कार्यक्षेत्रलाई टोलटोलमा बिभाजन गरी टोलको जिम्मेवारी तोक्ने र सदस्य एवम् सदस्यका परिवारको अद्यावधिक सुचना ग्रहण गर्ने ।
३. सदस्यहरुलाई स्वास्थ्य समस्या वा खाद्यान्न अभाव वा अन्य कुनै पारिवारिक र सामाजिक समस्या परेको भएमा तत्काल आफ्नो तर्फबाट समाधान हुनेमा समाधान गर्ने र संस्थाबाट नहुनेमा सम्बन्धित निकायमा समन्वय र सहजिकरण गर्ने ।
४. आपतकालिन आवश्यकताको लागि सम्पर्क व्यक्ति तोक्ने र सोको जानकारी विभिन्न माध्यमबाट गराउने । विद्युतीय वित्त प्रणाली सञ्चालन गरेका संस्थाहरुले प्रविधि प्रयोगमा लाग्ने शुल्क छुट वा न्युनिकरण गर्ने ।
५. स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध हुन सक्ने भए संस्थाको क्षमताको आधारमा निःशुल्क वा सःशुल्क उपलब्ध गराउने ।
६. गरिब, विपन्न, अशक्त र दैनिक ज्यालादारीमा आधारित सदस्यहरुको पहिचान गर्ने र राहत उपलब्ध गराउने वा राहतको लागि सहजिकरण गरी दैनिक जीवन यापनलाई सहज बनाउन सहजिकरण गर्ने ।
उल्लेखित पाठ सिकौं र आफ्ना जिम्मेवारी पुरा गर्दै ६३औं राष्ट्रिय सहकारी दिवस भव्य र सभ्यरुपमा मनाऔं । सहकारी दिवसको सम्पुर्ण सहकारीकर्मीहरुमा हार्दिक शुभकामना ।

जय सहकारी !

प्रतिक्रिया

प्रतिक्रिया