हिमाल गैरे
अहिले कोभिड–१९ (कोरोना) भाइरसका कारणले मानिसको दैनिकीमा नै परिवर्तन आएको छ । सबै व्यक्तिको नियमितको सिमाना अहिले साँघुरिएको छ । यो सम्भवत मानिसको जानकारीमा आएको ठूलो प्रलयकारी प्रकोप मध्येको एक हो । तर यो जस्तै वा त्यो भन्दा पनि भयाभव अवस्थाबाट मानव जाति गुज्रिसकेको इतिहास छ । मानव सभ्यतामा इबोला, मर्र्स, स्वाइन फ्लु, सार्स, हगंकगं फ्लु, एसियन फ्यु, एचआइभी÷एड्स, प्लेग, हैजा, बिफर लगायतका कारण लाखौ–करोडौ मानिसको मृत्यु भएको थियो । यस्ता ठूलो र दर्दनाक महामारीको सामना मानिसले गरिसकेका छन् ।
भयपुर्ण भए पनि यी सबै कुरालाई हामीले सामान्य रुपमा लिनु पर्दछ । यो जनसंख्या सन्तुलनको प्राकृतिक नियम समेत हो । यसै क्रमको निरन्तरत स्वरुप यस अवधीमा मानव सम्भयतामा आएको कोभिड–१९ अर्थात कोरोनालाई पनि मानिसले सामना गरी पार लगाउने छ । तर यसमा मानिसको उच्च आत्मबल, धैर्यता र संयमताको आवश्कता पर्दछ । विश्व नै अहिले उक्त भाइरसको रोकथामका निम्ति ‘लक–डाउन’ मा उत्रिनु परेको छ । जुन सावधानी अपनाउनुपर्ने बाध्यता मात्रै होइन् त्यस विरुद्धको तयारीका निम्ति उत्तम विकल्प पनि थियो । यो आफैमा एक रणनैतिक र आमनागरिकलाई सोको विरुद्ध लड्नका लागि चालिएको एक कदम हो ।
विश्वमा ६ लाख ७८ हजार ९ सय १० व्यक्ति कोरोनाबाट प्रभावित रहेका छन् जसमध्ये ३१ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । १ लाख ४६ हजार ३ सय १९ जना व्यक्तिले यस कोरोना भाइरसलाई जितेर निको भई आफ्नो जीवन बिताएका छन् ।
परिस्थितिहरु जटिल हुन सक्छन् र आउन सक्छन् । तर हामी त्यसलाई सामना गर्नुनै पर्ने हुन्छ । परिस्थितिलाई हामी जटिल रुपमा लिनु समस्या हो समाधान होइन । यसको अर्थ जीवनको हरेक जटिल परिस्थितिको सामना गर्नेगर्छ र अहिले भाइरसको पनि गर्नुपर्ने छ । अहिले कोरोनाका कारण दैनिक हजारौ मानिसले मृत्युवरण गरिरहेका छन् । यसलाई संवेदनशील भई गम्भिरताका साथ प्रतिरोध नगरेमा यो गुणन भएर जाने निश्चित प्रायः छ । जुन नियमित अरु कारणले मरिरहने गर्ने संख्या थपिएको हो । तर यस मृत्युवरणको अवस्थालाई हामीले राम्रोसंग भावनात्मक रुपमा स्वीकार गरेर व्यवस्थापन गरेका छौं कि छैनौ त्यो निकै महत्वपुर्ण कुरा हो ।
मृत्यु मानव जगतमा नयाँ कुरा होइन् । मृत्यु परिवारका निम्ति नयाँ होइन । प्राय यो पीडादायी हुन्छ । यो भाइरसले हामीले चिनेका मानिस, नजिकको नातेदार, परिवारका सदस्य वा हामी आफैको पनि ज्यान लिन सक्छ । तर हामी मर्नु भन्दा पनि अझ बढी पीडा आफ्नो आँखा अगाडी परिवारको सदस्य, प्रियजनकोे मृत्युले गराउँछ । यदि यो कुरा हामीले बुझेका छौं भने कृपया एउटा कुराको संकल्प पक्कै हामीले गर्नु पर्दछ । हाम्रो नियन्त्रणमा त छैन् तर कम्तिमा हामीले “मैले यो भाइरस म कहाँ सम्म आउन दिन्न”, “यो मलाई सर्न दिन्न” भनेर संकल्प हामी आम नागरिकले गर्नै पर्नेहुन्छ । त्यस पछि, “यदि म कहाँ यो भाइरस आयो भने पनि यो भाइरस अर्को व्यक्ति कहाँ सम्म सार्दिन् । म यो भाइरस अरुलाई सार्ने माध्यम बन्दिन् ।” म यो भाइरस अरुलाई सार्दिन् ।” किन भने मृत्यु आफैंमा क्रुर छ र अहिले भाइरस त्यही रुप धारण गरेर आएको छ । हाम्रो मृत्यु भन्दा पनि बढी पिडादायी हुन्छ आफ्नो प्रियजनको मृत्युले ।
त्यस कारण यो भाइरसको माध्यम म बन्दिन भन्नलाई हामीले लक–डाउनको आधारभुत सिद्धान्तलाई अबलम्वन गर्नैपर्ने हुन्छ । यो हाम्रै लागि हो, हामै्र प्रियजनको सुरक्षाको लागि हो । जसले यसको अवज्ञा गर्छन्् ती बहादुर होइन मुर्ख हुन, अझ म भन्छु मुर्ख होइन अपराधी हुन् जसले राज्य माथि मात्र होइन आफ्नो प्रियजन माथि नै घात गर्दैछन् । विश्व प्रसिद्ध दार्शनिक प्लेटोले भनेका थिए “असल मानिसले कानुन नै नभए पनि नैतिक र जिम्मेवारीपूर्ण तरिकाले काम गर्छ भने खराब मानिसले जति कडा कानुन भए पनि त्यो कानुन मिच्ने बाटो भेट्छ ।” विकल्प हुँदाहँुदै विभिन्न बाहनामा लक डाउनका अवज्ञा गर्नेहरुले कानुन मिचिरहेका छन् । आफ्ना प्रियजन माथि घात गर्दैछन् भन्ने कुरा हृदंगम गर्न जरुरी छ । जुन कुराको प्रयाश्चित गर्ने अवसर समेत प्राप्त नहुन सक्छ ।
झण्डै ७.७ विलियन जनसंख्या रहेको विश्वमा अहिले जम्मा ६ लाख ७८ हजार ९ सय १० व्यक्ति मात्रै कोरोनाबाट प्रभावित रहेका छन् जसमध्ये ३१ हजार ७ सय ७१ जनाको मात्रै मृत्यु भएको छ । हाम्रो ध्यान ३१ हजार ७ सय ७१ मा केन्द्रित हुनुको सट्टा कोरोना भाइरसलाई जितेको १ लाख ४६ हजार ३ सय १९ जनामा जान नसक्नु नै हाम्रो समस्या हो । मानिसले यस कोरोना भाइरसलाई जितेर निको भई आफ्नो जीवन बिताइ रहेका छन् । यही निको भएका, जितेको संख्यामा हाम्रो नजर केन्द्रित गरेर आत्मबल बढाउने काम गरौं ।
नेपालमा अहिले सम्म ५ जना मात्रै संक्रमित भेटिएका छन्, संख्या बढ्न सक्ने आँकलन गर्न सकिन्छ । तर यो बढाउने माध्यम कृपया हामी नबनौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जाखिममा राखिसकेको छ । त्यसैले सरकारले लकडाउन लागु गर्यो र लम्ब्याएर चैत्र २५ गतेसम्म पुर्याएको छ । बरु लकडाउनको समयलाई अधिकतम उपयोग गरी परिवार संग गुणस्तरीय समय बिताउ । आफुले विगतमा गरेका राम्रा कामलाई सम्झिउ, सुधार गर्नुपर्ने कुराहरुलाई आत्मसमीक्षा गरौंं । राम्रा पुस्तक पढौं । एकान्तबासको अनुभव पनि लिनु राम्रै हो । यो लकडाउनले हामीलाई दिएको उत्तम अवसर ठानौंं । कोरोनाको कहर हाम्रो सिमानामा छिरिसकेको छ । त्यसअर्थमा सावधानीपूर्वक उक्त भाइरसलाई प्रतिरोधात्मक ढंगले सामना गर्नलाई आफुभित्र उर्जाको सञ्चय गर्ने उत्तम अवसरका रुपमा लकडाउनलाई लिएर सतर्क बसौं । चाहे अहिले हाम्रो दैनिकीमा परिवर्तन होस् तर यहि नै उत्तम विकल्प र छनौट हो ।
चाणक्यले विपत्तिको सामना गर्ने विषयमा भनेको थिए कि, विपद्को समयमा धनको रक्षा गर्नुपर्दछ, यदि श्रीमति पनि समस्यामा छिन् भने धन भन्दा पहिले श्रीमतिको रक्षा गर्नुपर्दछ तर यदि आफु स्वयं नै समस्यामा छ भने धन र श्रीमतिको बिचमा पहिले आफ्नो रक्षा गर्नुपर्दछ । त्यसैले होला, हवाइजहाजमा पहिले नै भन्छ अक्सिजनको समस्या भएमा जहाजमा भएको अक्सिजनको मास्कको प्रयोग गर्नुहोला तर अरुलाई मद्दत गर्नुपहिले पहिले आफुले मास्कको प्रयोग गर्नुहोला । त्यसैैले अहिले नराम्रो कुरामा टिकाटिप्पणी भन्दा पनि सावधानीको बेला हो । सरकारले लकडाउनका माध्यमबाट सम्भावित जोखिन न्युनिकरणका रणनिती अपनाएको छ । सरकारले जोखिममा परेका, अति विपन्न परिवारका बारेमा पनि आधारभूत आवश्यकताको परिपूर्तिका निम्ति पक्कै केही सोचेकै छ । त्यसैले अहिले लकडाउनको पालना ग¥र्यौ भने मात्र हामी बाच्छौं र बाँचे संसार देखिन्छ । संसार देखे सुधार गर्नुपर्ने कुराको आलोचना गर्न पनि पछि सकिएला ।








