बढ्दो सीमा अपराध र कोरोनाको सन्त्रास विरुद्ध साझा पहलको प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुको आइतबार बर्दियाको ठाकुरद्वारामा भएको संयुक्त बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले पछिल्ला चुनौतिहरु विरुद्ध संयुक्त प्रतिरोधको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
दुई घण्टा चलेको बैठकको आधा बढी समय विश्वव्यापी सन्त्रास उत्पन्न गरिरहेको कोरोना भाइरसको संक्रमण रोकथाममा केन्द्रित थियो । बैठकमा सहभागी सुरक्षा अधिकारीहरुका अनुसार, दुवै देशका सीमावर्ती क्षेत्रमा भैरहेका सचेतनाका प्रयास, संक्रमण फैलन नदिन रोकथामका पहल तथा संक्रमण भैहाले उद्दार तथा उपचारका लागि अपनाउनु पर्ने उपायका बारेमा आ–आफ्ना तयारी समेतको आदानप्रदान बैठकमा गरिएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आ–आफ्ना जिल्लाका पहल र प्रयासबारे ‘ब्रिफिङ’ गरेका थिए ।
सीमापारी भारतीय अधिकारीहरुले आफ्ना तर्फबाट भैरहेका रोकथामका प्रयास र सचेतनाबारे प्रस्तुति गरेका थिए । भारततर्फ बहराइच, बलरामपुर र श्रावस्तीका सुरक्षा अधिकारी, प्रहरी, बन अधिकारी र स्वास्थ्य अधिकारीहरुको सहभागितामा प्राथमिकताका मुद्दामा छलफल गरिएको थियो । बहराइचका एसपी विपिन कुमार मिश्रको नेतृत्वमा रहेका भारतीय अधिकारीहरुले खासगरी कोरोना प्रभावसँगै लागुऔषध तस्करी र चोरीशिकारी बारे बढी चासो राखेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।
‘उनीहरुको कन्र्सन नेपाली भुभागमा रहेका सःमिलहरुले सीमापारबाट अवैध रुपमा काठ तस्करी गरिरहेकाले रोक्नमा थियो’, ती सुरक्षा अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘हामीले भारततर्फबाट निर्बाध बिक्री भैरहेको लागुऔषध बारे प्रश्न उठायौं ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सीमा अपराध नियन्त्रण र कोरोना संक्रमण विरुद्धको जोखिमलाई आपसी समन्वयमा प्रभावकारी बनाउँदै लैजाने निर्णय भएको जानकारी दिए । ‘ठाकुरद्वारा बैठकले द्ुवै देशको समन्वयमा पछिल्ला जोखिमहरु विरुद्ध अझ प्रभावकारी पहल लिने साझा प्रतिबद्धता तय भएको छ’, प्रजिअ खड्काले दैनिक नेपालगन्जसँग भने ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले बैठकले मुख्यगरी कोरोना सन्त्रास विरुद्ध सीमाका दुवैतर्फ कडाई गर्ने विषयलाई साझा मुद्दा बनाएको जानकारी दिए । ‘त्यससँगै सीमा क्षेत्रका नियमित मुद्दाहरुमा पनि बैठकले गम्भीर छलफल गरेको छ’, प्रहरी प्रमुख ओलीले दैनिक नेपालगन्जसँग भने, ‘खासगरी लागुऔषध ओसारपोसार, मानव तस्करी, हातहतियार लगायतका अपराधिक क्रियाकलाप न्यूनीकरणमा दुवै तर्फका सुरक्षा संयन्त्र संयुक्त ढंगले समन्वय र परिचालित हुने कुरामा बैठक निष्कर्षमा पुगेका छ ।’
सीमा अपराधमा दुवै देशका अपराधीको कनेक्सन हुने कुरालाई बैठकमा उठाइएको थियो । ‘कुनै पनि अपराध यो वा त्यो देशको भन्ने हुँदैन’, बाँके प्रहरी प्रमुख, ओलीले बैठकमा भने, ‘अपराधीहरुको कनेक्सनहरुबाटै अञ्जाम दिन सफल भैरहेका हुन्छन् ।’ नेपालमा अपराध गरेर भारत जाने र त्यहाँ अपराध गरेर नेपालमा आउने जस्ता अपराध कर्म न्यूनीकरणमा दुवै देशका सुरक्षा संयन्त्रहरुको निरन्तर समन्वयलाई प्रहरी उपरीक्षक ओलीले जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, स्वास्थ्य सम्बद्ध अधिकारी लगायतका नेपाली अधिकारीहरुको सहभागिता रहेको बैठकमा भारत तर्फ सुरक्षा अधिकारीहरुसँगै वन तथा स्वास्थ्यका अधिकारीहरुको सहभागिता रहेको थियो ।
भारतको बलरामपुर, श्रावस्ती र बहराइच क्षेत्रमा पर्ने एसएसबीका उच्च अधिकारीहरु समेत बैठकमा सहभागी थिए । उनीहरुले वन्यजन्तुको चोरी शिकारी र काठ तस्करीको विषयलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि जोड दिएको सम्बद्ध स्रोतले जनाएको छ ।








