पाल्पा विकास केन्द्रद्वारा बाँके, बर्दियाका सञ्चारकर्मीसँग छलफल
स्थानीय तहलाई बलियो बनाउन त्यहाँ रहेको बेथिति उजागर गर्न आवश्यक रहेको आइतबार सञ्चारकर्मीहरु बीचको अन्तरक्रियामा व्यक्त गरिएको छ । नेपालगन्जमा पाल्पा बिकास केन्द्रले बाँके, बर्दियाका संचारगृहका सम्पादक र विभिन्न संचारगृहमा कार्यरत सञ्चारकर्मीहरु बीच आयोजना गरेको अन्तरक्रियामा पत्रकारहरुले स्थानीय तहलाई खबरदारी गर्न सञ्चारमाध्यमले बेतिथि उजागर गरिरहनु पर्ने धारणा राखेका हुन् ।
मुलुक संघीयतामा गएपछि स्थानीय तह नजिकको सरकारको रुपमा रहेको छ । बजेट परिचालनदेखि नीति, नियम, ऐन, कानुन बनाउनेसम्मको अधिकार पाएको स्थानीय तहले अधिकारको दुरुपयोग नगरोस् भनेर सञ्चारकर्मीले निगरानी गरिरहनु पर्ने सहभागीहरुले बताएका थिए ।
‘स्थानीय तहलाई बलियो बनाउनका लागि उसका कमी, कमजोरी सञ्चारमाध्यमले औंल्याइरहनु आवश्यक छ’, पत्रकार शंकर खनालले भने । एउटा स्थानीय तहले गरेका राम्रा काम उजागर गर्दा अन्य स्थानीयका लागि उदाहरण हुने भएकाले त्यस्ता विषयलाई पनि समाचारमा उचित स्थान दिनुपर्ने धारण कार्यक्रमको सहजीकरण गरेका केन्द्रका किरण कौशलले बताए । ‘अब सञ्चारमाध्यमले स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ’, उनले भने । किरणले केन्द्रले स्थानीयस्तरमा मिडिया विकासका साथै नीतिगत बहस र संवादका कार्यक्रम रुपन्देही र पाल्पामा २०६५ सालबाट सुरु गरेपनि हाल ५ नम्बर प्रदेशका सबै जिल्लाहरुमा गर्न लागेको जानकारी दिए ।
किरणले पत्रकारलाई उपयोगी स्थानीय एवं प्रदेश सरकार सम्बन्धी जानकारीमूलक सामग्रीहरु समेटिएको पोर्टल नितिपात्रो डट कम पनि सञ्चालनमा ल्याएको जानकारी दिएका थिए ।
स्थानीय तहको मिडिया नीति तथा कानुन सम्बन्धि बिषयमा भएको छलफल कार्यक्रममा पत्रकार झलक गैरे, कृष्ण अधिकारी, रुद्र सुवेदी, लक्ष्मण ढुंगाना लगायतले अनुभव सुनाएका थिए ।











