नेतृत्वमात्र पनि गतिलो भयो भने धेरै कुरामा सुधार हुन सक्छ । कतिपय स– साना सुधारले ठुला सन्देशरु प्रवाह गर्न सक्छन् । नेपाल आयल निगम लिमिटेड, नेपालगन्ज इन्धन डिपोमा यतिबेला जाँदा जोकोहीले पनि महसुस गर्न सक्छ, त्यो स–साना सुधारले गरेको ठुलो परिवर्तन । उच्च सुरक्षा संवेदनशीलताको इन्धन डिपो यतिबेला सुधारका चरणमा छ । त्यसको पहल लिएका छन्, कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रवन्धक नवविनोद पोखरेलले ।
नेपाल आयल निगम यतिबेला स्वर्ण जयन्तीको उत्सवमा छ । दैनिक नेपालगन्ज निगमको स्वर्ण जयन्तीका सन्दर्भमा कार्यालय प्रमुख पोखरेलसँग समय लिएर भेटघाटका लागि पुग्दा उनी कर्मचारीहरुसँग ‘चियर रेस’मा रमाउँदै थिए । ‘स्वर्ण जयन्तीका अवसरमा विहान सरसफाई र अहिले कर्मचारीहरु बीच मनोरञ्जनात्मक खेलकुद चलिरहेको छ’, सफा चिटिक्क पारिएको डिपो परिसरमा खुलेर प्रस्तुत भएका पोरखेलले दैनिक नेपालगन्जसँग भने, ‘यसअघि रक्तदान कार्यक्रम गरियो ।’ निगमको स्वर्ण जयन्तीका अवसरमा आज डिपो परिसरमा औपचारिक कार्यक्रम राखिएको छ । त्यसको अघिल्लो दिन निगमको समग्र अवस्था, नेपालगन्ज डिपोले गरिरहेको कार्य सम्पादन, सेवा प्रवाह सँग जोडिएर दैनिक नेपालगन्जले गरेको सम्यक संवाद ।
कसरी काम गरिरहेको निगमले ?
म आउँदा बिक्री वितरणमा सहज नभएको हो कि जस्तो लाग्थ्यो । म आएपछि धेरै विषयहरुमा सुधारका लागि पहल लिएको छु । म आएपछि सेवाग्राही र कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने वातावरण, सेवाग्राहीलाई छिटो छरितो काम होस् भन्ने तर्फ ध्यान दिएर व्यवस्थापनको पहल गरेको छु । बिचौलियाको प्रवेशलाई रोक्न निगमलाई प्रविधिसँग जोडेका छौं ।
निगम भित्र दैनिक २५/३० गाडी आउने जाने हुन्छ । त्यो सहज बनाउन ड्राइभ वेका लागि टेण्डर लगाइसकेका छौं । त्यसकालागि तदारुखताका काम भैरहेको छ ।
घनाबस्ती बीच निगम छ । पार्किङ्ग स्थल छैन । पार्किङ्ग स्थल बनाउन माघको १५ गतेभित्र टेण्डर निकाल्दै छौं । निगम परिसरमा १२ कठ्ठा जग्गा छ । त्यसमा पिच सहितको पार्किङ्ग बनाउँदै छौं । यसले आवातजावत गर्ने ट्यांकरहरुलाई सहज हुनेछ ।
निगमको समस्या भनेको पेट्रोलको स्टोरेज हो । माग बढिरहेको छ तर स्टोरेज न्यून छ । यहाँ २४० केएल स्टोरेज क्षमताको स्टोरेज क्षमता रहेपछि कहिलेकाही माग ३०० केएलसम्म हुन्छ । एक दिन धान्न पनि धौ हुन्छ । त्यसैले केन्द्रसँग समन्वय गरेर मट्टितेलको ७६० को ट्यांकीलाई पेट्रोलमा कन्र्भट गर्न लागेका छौं । त्यो भयो भने ३÷४ दिन माग धान्ने पेट्रोलको स्टोरेज हुनेछ । मट्टितेलको माग घटेकाले मट्टिटेलको ट्यांकीलाई पेट्रोलमा कन्र्भट गर्न लागेका हौं ।
यहाँ विकास निर्माण र पूर्वाधारको काम बढेको तथा कर्णालीको माग पनि यहीबाट आपूर्ति गर्ने पर्ने भएकाले दीर्घकालीन सोंचका साथ डिजेलको स्टोरेज बढाउन खाली रहेको जग्गालाई प्रयोग गर्ने, निगमको दायाँ तर्फ खाली रहेको ३५ कठ्ठालाई अधिग्रहण गर्न पत्राचार गरेका छौं । त्यो भयो भने दुई दशकको माग धान्न सकिन्छ ।
उपभोक्ताले प्राप्त गर्ने पेट्रोलियमको गुणस्तर मूल्यांकन गर्नुहुन्छ ?
गुणस्तरमा नेपाल आयल निगम अन्त्यन्त सजग छ । निगमको यस क्षेत्रमा ल्याब पनि रहेको छ । इन्धनको गाडी आएपछि ल्याब टेष्ट गरेर मात्र मार्केटमा पठाउने गरेका छौं । पछिल्ला दिनमा मट्टितेल र डिजेलको मूल्य एउटै भएपछि मिसावट अहिलेसम्म पाएका छैनौं ।
सेवाग्राही निगम प्रति गुनासो गर्छन् नि !
नाप तौल तथा गुणस्तर विभागले नाप तौलको विषय हेर्छ । तर, त्यही भनेर आयल निगम उम्किदैन । निगमले पनि बिक्रेतहरुकामा छड्के चेकजाँच गर्दछ । चेकजाँचमा फरक पाइए नापतौललाई त्यसबारे हेर भन्ने गरेको अवस्था छ ।
वास्तवमा आम उपभोक्ता पनि सजग हुनुपर्छ । हामी प्रविधिमा धेरै अगाडि पुगिसकेका छौं । अहिलेका पम्पदेखि सवारी साधन सबै डिजिटल छन् । त्यसैले उपभोक्ताले आफुले तिरेको मूल्य बराबरको तेल आफैले पनि पाएको एकीन गर्नुपर्छ । अहिले नेपाल आयल निगमको दृष्टिकोण पनि उपभोक्ता सजग होउन् भन्ने हो ।
हामीसँग प्रत्यक्ष सम्पर्क राख्ने पहिलो पक्ष भनेको ढुवानी व्यवसायी हुन् । उहाँहरुसँग हाम्रो सम्झौता हुन्छ । सम्झौता अनुसार उनीहरुले निगम सम्म पेट्रोलियम पदार्थ ढुवानी गर्ने हुन् । निगमले पेट्रोलियम पदार्थ सिधै उपभोक्तासम्म पुर्याउँदैन । त्यसका लागि आधिकारिक बिक्रेता नियुक्त गरिएको हुन्छ ।
उपभोक्ताको कुरा गर्दा एउटा उदाहरण सम्झन्छु, बाँकेको नरैनापुरमा बोटलमा तेल बेचेको भेटियो । मैले किन बेचेको भन्दा, त्यस क्षेत्रमा पेट्रोल पम्प नहुनु रहेको पाएँ । बोतलमा रहेको तेलमा गुणस्तर हुँदैन । त्यहाँ सय रुपैयाँ भन्दा बढी तेल किन्ने उपभोक्ता नहुँदा पनि पनि पेट्रोल पम्प तत्काल खुल्ने सम्भावना छैन । तर, उपभोक्ताले बोलतमा राखेको तेलमा गुणस्तर हुँदैन भनेर आफैले पनि खरिद गर्नुहुँदैन ।
पेट्रोल पम्पको सुरक्षा अवलोकन गर्नुभएको छ ?
म नेपालगन्ज आउने वित्तिकै यहाँका डिलरका साथीहरुको बैठक बोलाएका थिएँ । मैले डिलर तथा पम्पका रहेका कमी, कमजोरीहरु औंल्याएर सुझाव पनि दिएको थिएँ । केही पेट्रोल पम्प चाहीँ धेरै व्यवस्थित छन् । गत असोजमा निगमको विनियमको व्यवस्था अनुसार, डिलरहरुलाई एक बर्षभित्र अपडेट हुन पत्राचार गरेका छु ।
सुरुका दिनहरुमा इन्डियन आयलका डिलरहरुले ड्रममा काम गरिरहेको अवस्थामा नेपाल आयल निगमको स्थापना भएको थियो । तत्कालीन अवस्थामा पेट्रोप पम्प चलाउन निगमले नै सहयोग गरेर सुरु भएको हो । तत्कालीन अवस्थामा पम्पहरुको जग्गा त बढ्दैन । तरपनि सकेसम्म पम्प रहेको जग्गा बढाउन सुझाव दिएका छौं । कम्तिमा सहरको बीचमा नबस्न, अन्य ठाउँमा विस्थापित भएर जान सक्ने व्यवस्था गरिदिएका छौं । सीमित जग्गा नै भएपछि सफा, सुरक्षित र राम्रोसँग चलाउन पत्राचार गरेका छौं । अब फागुनमा फेरि अनुगमन हुन्छ । र, सुधार नभए दोस्रो चरणको प्रक्रियामा जान्छौं ।
पेट्रोलियम पदार्थ चुहावट कसरी नियन्त्रण गरिरहनु भएको छ ?
निगमले भारतबाट २० हजार लिटर खरिद गर्दा २० हजार लिटर नै बुझ्ने हो । २० हजार लिटरमा तापक्रमका कारण तोकिएको मापदण्ड भन्दा कम तेल आएमा भुक्तानी नै कम गर्ने व्यवस्था छ । मापदण्ड भन्दा कम तेल आउँदा ट्रान्सपोर्टको भाडाबाट कट्टि गर्दछ । आयल निगम यसमा बलियो छ ।
उसो भए निगम किन आलोचित भइरहन्छ नि !
कर्मचारीका वोनसका कुरामा आलोचना गरेको सुनिन्छ । आयल निगम नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको छ । २०३० सालमै निगम सरकारको स्वामित्वमा गएको हो । सरकारले दिए बमोजिमको तलब, सुविधा हामीले खाने हो । म आफैं २०५४ सालमा आयल निगममा प्रवेश गरेको हुँ । तत्कालीन २०५५ मा तत्कालीन बोनस ऐन अनुसार बोनस कर्मचारीहरुले पाएका हुन् । तत्पश्चात २०६५ सालमा बोनस बाँड्यो । तर, अख्तियारले समग्र रुपमा लसमा हुँदा बोनस नबाँड भनेपछि छुट्याएको बोनस पनि फिर्ता भएको थियो । त्यसपछि अहिलेसम्म बोनस कर्मचारीलाई छुट्याएको छैन । अहिले सरकारले बोनस ऐन संशोधन गरिसकेको छ । अबका हकमा १ प्रतिशत मात्रै बोनसको व्यवस्था छ । तर, त्यो रकम न्यून हुन्छ ।
कर्मचारीहरुले काम गर्दा जोखिम छ । निगमका कर्मचारीको काम भनेको सेनाको जस्तो हो । सधै स्टेण्डबाइ रहनुपर्छ । निगमका १२÷१४ जना कर्मचारीले क्यान्सर र आँखाको ज्योति गुम्ने समस्या भोगेका छन् । प्रविधि छैन, निहुरिएर डिप लिंदा त्यो श्वासको माध्यमबाट सिधै पेटमा पुग्छ । स्वास्थ्य समस्या हुन्छ । तर, पहिला दिनमा कर्मचारीप्रति राज्य सकारात्मक हुँदै गएको छ । विस्तारै जनस्तरमा पनि यो कुरा प्रवाह हँुदै जाला, त्यसका लागि मिडियाको पनि सकारात्मक रोल हुनुपर्छ ।
मनपरी मूल्य बढाइन्छ भन्ने आरोप छ त निगमलाई !
मनपरी मूल्य बढाएको होइन । मूल्य निर्धारणका लागि अटोमेटिक मेकानिजम बनाएको हो । पहिले निगम अर्बौं घाटामा थियो । अटो प्राइज मूल्य निर्धारणको मेकानिजम बढाएपछि निगमको अवस्था सुध्रेको हो । पहिले निगमलाई महँगोमा किनेर सस्तोमा बेच्नुपर्ने बाध्यता थियो । तर, राज्यले त्यसलाई बुझेर अटो प्राइसको विधि ल्याएको छ ।
इन्डियन आयलले हामीलाई १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य दिन्छ । त्यही मूल्यको आधारमा हामीले मूल्य घटाउने वा बढाउने गर्ने हो । अहिले निगमलाई एलपीजी ग्याँस बाहेक अन्यमा नोक्सान रहेको छैन । अन्य बाट भएको नाफाले ग्याँसमा भएको नोक्सानको परिपूर्ति गरिरहेको छ ।
निगम र बिक्रेता बीच किन विवाद आउँछ ?
म आउनु भन्दा अगाडि विवाद आइरहेको सुनेको थिए । तर, म आएपछि सिष्टम मिलाएको छु । मैले बिक्रेतालाई स्पष्ट रुपमा मागको कटौती नगर्ने बताएको छु । बिक्रेताले समयमा भौचर जम्मा गरे तेल पाएसम्म कटौती गरेको छैन । कुनै कारणले आएन भने मात्रै समस्या हो, आएसम्म कसैको माग रोकेको छैन ।
बिक्रेताले नाफा कम हुँदा नोक्सान भयो भन्छन् त
बिक्रेताले पनि के बुझ्नु पर्यो भने ४ हजार लिटर तेल बेचेर घर खर्च नै चल्छ भनेर सोच्नु भएन । निगमले बिक्रेतालाई केही प्रतिशत मार्जिन दिएको छ । मैले नेगेटिभ वे बाट भनेको होइन, तर, पम्प खोलेपछि अरु व्यवसायमा डाइर्भट हुने र पम्पमा नोक्सान भयो भन्न मिलेन । पम्प चलाएर नोक्सान हुँदैन भन्छौं हामी । उहाँहरुलाई मैले विभिन्न क्षेत्रका खर्च कटौती गर्न सुझाव पनि दिने गरेका छौं । प्रतिस्पर्धाका कारण उधारोमा तेल बेच्दा हुने नोक्सानीबाट बच्नुस् भनेका छौं बिक्रेतालाई । फागुनमा ट्रान्सपोर्टर र बिक्रेतालाई टे«निङको कार्यक्रम तय गरेका छौं । उहाँहरुलाई हामी कमजोरी औंल्याएर सुझाव दिनेछौं ।
नेपालगन्ज डिपोमा माग र आपूर्तिको अवस्था कस्तो छ ?

निगमले एक पटकमा २० हजार लिटरको ट्यांकी (ट्यांकरको क्षमता) बेच्छ । त्यो ट्यांकी भित्र ४/५ वटा कम्पाट हुन्छन् । त्यसैले एउटा डिलरले ४ हजार भन्दा कम खरिद गर्न सक्दैन । तर, टाढाका दुरीमा रहेका पम्पलाई ४ हजार लिटर मात्रै लिएर जाँदा भाडाको समस्या हुन्छ । मिलाउनु पर्छ । उदाहरणका लागि, सबैभन्दा लामो दुरीमा राजापुरको पम्प छ, नेपालगन्जपछि राजापुरको मात्र ४ हजार लिटरको तेलको डिमाण्ड भयो भने पुर्याउन सकिंदैन । राजापुरले २० हजार लिटर नै माग्यो भने दिन सकिन्छ, गाडी नै जान्छ । तर, ४ हजार लिटर मात्र माग्यो भने राजापुरसम्मको भाडा कसले दिने, त्यो समस्या चाहीँ छ । किनभने दर त हामीले १५ किलोमिटरसम्मका लागि तोकेका छौं ।
केही भन्नुहुन्छ स्वर्णजयन्तीको सेरोफेरोमा आज ?
म निगममा आउने वित्तिकै यहाँ रहेका समस्याहरु समाधानका लागि पहल लिए । विगतमा निगम चाहीँ सञ्चारमा आउने गरेको थिएन । तर, अहिले अवस्था परिवर्तन आएको छ । निगम र सञ्चार क्षेत्र दुवै अगाडि बढिसकेका छन् । निगम पनि सबल बन्दै गएको छ । निगमलाई बलियो बनाउने सोंच राखेर निगम अगाडि बढेको छ ।
निगम ५० औं बर्षमा प्रवेश गरेको अवसरमा आम उपभोक्तालाई निगम सम्बन्धी केही कठिनाई भए प्रत्यक्ष रुपमा निगमको कार्यालयमा आएर वा सम्पर्क गरेर सुझाव दिन सक्नुहुनेछ । कार्यालयमा सूचना अधिकारीको व्यवस्था छ, नागरिक बडापत्र राखेका छौं । निगमबाट हुने काम सहज रुपमा हुने व्यवस्था मिलाएका छौं ।








