स्वास्थ्य मन्त्रालयले नेपालगन्जको भेरी अस्पताललाई दिएका २ वटा डायलासिस मेसिन १८ महिनामंै बिग्रिएर थन्किएपछि मृगौलाका विरामीलाई निकै समस्या परेको छ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले नेपालगन्जको भेरी अस्पताललाई उपलब्ध गराएका दुईवटा डायलासिस मेसिन १८ महिनामंै बिग्रिएपछि मृर्गौला रोगका बिरामीहरु समस्यामा परेका छन् । उपचारको पर्खाइमा रहेका बिरामीहरु पालो नपाउँदा समस्यामा परेका हुन् ।
चार महिना देखि पर्खिंदा पनि १७ जना मृगौला रोगका बिरामीहरुले भेरी अस्पतालमा पालो पाउन सकेका छैनन् । उनीहरुले कहिले पालो पाउने हुन् भन्ने पनि निश्चित छैन । पालो पाउन नसक्दा केहि बिरामीहरुले नेपालगन्जबाट मेडिकल कलेज कोहलपुरको शिक्षण अस्पतालमा गएर थप शुल्क तिरेर आपत्कालिन अवस्थामा डायलासिस गराउन बाध्य भएको बताए ।
२०७४ स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको २ वटा र आफ्नै स्रोतमा थप २ गरी ४ वटा डायलासिस मेसिन जडान गरेर २०७४ पुस देखि भेरी अस्पतालले बिरामीहरुलाई सेवा उपलब्ध गराउदै आएको थियो । मन्त्रालयले करिब १३ लाख मुल्य पर्ने चाइनिज कम्पनीका दुई डायलासिस मेसिन नेपालगन्जको भेरी अस्पताललाई उपलब्ध गराएको हो ।

मृगौला रोगका बिरामीहरु बढी रहेकै बेला स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका दुई वटा डायलासिस मेसिन बिग्रिएपछि बिरामीहरुलाई पालो पाउनै मुस्किल परिरहेको छ । नेपालगन्जका मृगौला रोगका बिरामी शशी मिश्राले भेरी अस्पतालमा सहज रुपमा उपचार सेवा पाउन नसकेको गुनासो प्रधानमन्त्री केपी ओली समक्षसम्म पुर्याइदिन आग्रह गरे । उनले प्रधानमन्त्री ओली आफै मृगौलाको विरामी भएकाले रोगबारे जानकार भएको टिप्पणी गर्दै भने, ‘बिरामीहरुको आग्रह पु¥याइ दिनुहोला ।’
नेपालगन्जका भोला थापालाई चिकित्सकहरुले हप्तामा दुई पटक डायलासिस गराउन सुझाव दिएका छन् । थापाले भेरी अस्पतालमा हप्तामा एक पटक मात्रै पालो पाएका कारण आइतबार नेपालगन्ज र बुधबार कोहलपुर गएर डायलासिस गराउँदै आएको बताए ।
नेपालगन्जका बिरामीलाई कोहलपुर गएर डायलासिस गराउन जाँदा आउँदा धेरै समस्या हुने गरेको छ । भेरी अस्पतालका दुईवटै मेसिन मर्मत गरेर सञ्चालन हुनै नसक्ने भए पछि स्टोरमा थन्क्याएर बाँकी रहेका दुई वटा मेसिनबाट बिरामीहरुको डायलासिस सेवा गरिदै आएको छ ।
२०७४ पुस देखि सुरु भएको सेवाबाट हालसम्म बिरामीहरुको १ हजार ६ सय ८३ पटक डायलासिस गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालले सेवा सुरु गरेपछि लाभान्वित भएका मृगौलाका बिरामीहरु डायलासिस गर्ने दुई वटा मेसिन बिग्रिएपछि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर देखि भारतको लखनउ र काठमाडौ समेत जानु पर्ने अवस्था सिर्जना भएको छ ।
बिरामीको स्वास्थ्य अवस्था अनुसार एक जना बिरामीलाई हप्तामा २ देखि ३ पटक सम्म डायलासिस गर्नुपर्छ । सम्बद्ध चिकित्सकका अनुसार, एक जना बिरामीलाई एक पटक डायलासिस गर्न करिब ६ घन्टा लाग्छ । डायलासिस गराउँदा पालो कुर्ने पर्ने र पटक जाने आउने गर्नु पर्ने भएकाले घर देखि टाढाका अस्पताल जान आउन पर्दा बिरामी र उनका आफन्तहरुले अनेकौ सास्ती खेप्नु पर्छ ।
पछिल्ला दिनहरुमा डायलासिस गर्नु पर्ने बिरामीहरुको संख्या बढ्दै गएको भए पनि अस्पतालमा मेसिन र जनशक्तिको अभावका कारण बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा भेटिएका बिरामीकी आफन्त लिला गुरुडले बिरामीको सुविधाका लागि तत्कालै २ सिफ्टमा सेवा सञ्चालन गर्नका लागि थप डाइलासिस मेसिन र तालिम प्राप्त जनशक्तिको ब्यवस्था गर्न ध्यानाकर्षण गराइन् ।
स्बास्थ्य मन्त्रालयले नेपालगन्जको भेरी अस्पताललाई उपलब्ध गराएका २ वटा डाइलासिस मेसिन मध्ये पहिलो मेसिन २०७६ जेठ र दोस्रो मेसिन साउनमा बिग्रिएको हो ।
अस्पताल स्रोतका अनुसार, डायलासिस मेसिनको मर्मत गर्दै आएको क्लासिक इन्टरप्राइजेजले चाइनिज कम्पनीका दुई डायलासिस मेसिन मर्मत हुन नसक्ने लिखित रिपोर्ट दिएको छ । चाइनिज कम्पनीका देश अन्य क्षेत्रमा रहेका मेसिनहरु पनि मर्मत गरेर संचालन नहुने अवस्था रहेको क्लासिक इन्टरप्राइजेजले अस्पताललाई दिएको लिखित रिपोर्टमा उल्लेख छ ।
बिग्रिएका दुई वटा मेसिन नबन्ने निश्चित भए पछि तत्कालै थप दुई वटा नयाँ मेसिनको ब्यवस्था मिलाई दिन अस्पताल प्रशासनले नेपालगन्ज उप महानगरपािलका र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । अस्पतालको डायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले नयाँ डायलासिस मेसिन कहिले आउने हो भन्ने अन्योल कायमै रहेको बताए । एक सिफ्ट मात्रै सेवा संचालन भएका कारण बिरामीहरुले ३÷४ महिना देखि कुर्दा समेत नयाँ बिरामीले पालो पाउन सकेका छैनन् ।











