रबिकिरण आचार्य
तत्वहरुको पेरीयोडिक तालिकामा पारमाणबिक संख्या ३३ भएको तथा १५औं समुहको सांकेतिक रुपमा As लेखिने रासायनिक तत्व नै आर्सेनिक हो । आर्सेनिक पृथ्बीमा र यसको अन्य संरचनाहरुमा पाइने सम्भावना धेरै रहन्छ । यो तत्व स्वतन्त्र रुपमा भन्दा पनि सल्फाईड, मेटल आर्सिनेट्स र आर्सिनाईट्स जस्ता यौगिकका रुपमा रहने गर्दछ ।
पानीको सवालमा यो धेरैजसो आर्सेनेट्सको स्वरुपमा रहेको हुन्छ भने कतिपय आर्सिनाईट्सको रुपमा पनि रहेको हुन्छ । प्रकृतिमा पाइने आर्सेनिक माटो, चट्टान तथा खनिज पदार्थमा रहेको हुन्छ । गतिशिल हावा, पानीको बहाव जस्ता एजेन्टहरुले आर्सेनिकलाई पानीमा रामा्रेसँग मिसाईदिने सम्भावना रहन्छ । फोसिल फयुलको आन्तरिक दहन र पृथ्बीमा बिभिन्न समयमा उत्पन्न भएका ज्वालामुखि बिस्फोटन जस्ता भौगर्भिक कृयाकलाप तथा अन्य बिबिध कारणले नै प्रकृतिमा आर्सेनिक तत्व उत्पन्न भएर रहेको हुन्छ । मानिसमा बिभिन्न प्रकारका खाना र आर्सेनिकयुतm पानीको प्रयोग गर्दा यो तत्व शरिरमा भित्रिन पुग्दछ । कतिपय अबस्थामा आर्सेनिकयुतm माटो तथा पानी मानव शरिरको संपर्कमा आउँदा पनि हानी पुर्याउन सक्ने हुनसक्छ ।
पर्याप्त अक्सिजन पाइन सक्ने वा अक्सिजन मिसिएको पानीको श्रोतमा यो तत्व As (v ) को अबस्थामा पाइन्छ भने अक्सिजन कम भएको भित्रि भुमिगत पानीमा यो As (III ) को स्वरुपमा रहने गर्दछ । आर्सेनिक युक्त भूमिगत दुषित पानीको प्रयोग जानी नजानी गरिरहँदा यो एउटा समस्या मात्र नभएर गम्भीर चुनौतिको रुपमा रहेको छ । नेपालका धेरै जसो तराईका जिल्लाका भुमिगत जलश्रोतहरुमा आर्सेनिकयुक्त पानी पाइएको कुरा बिभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । भिन्न आन्तरिक भौगर्भिक संरचनाका कारण काठमाडौ उपत्यकामा जति जति गहिराइमा गयो त्यहाँको भुमिगत जलश्रोतमा उति नै बढी आर्सेनिक भेटिने सम्भावना रहन्छ भने त्यसको ठिक बिपरित तराई तिर कम गहिराई भएको पानीको श्रोतहरुमा आर्सेनिक बढी पाइने सम्भावना रहन्छ ।
मुलत आर्सेनिकयुक्त पानी मानव स्वास्थयको लागि हानिकारक भएको हुँदा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पिउने पानीमा आर्सेनिक को मात्रा १० ppb भन्दा कम हुनुपर्ने भनेको छ । नेपालको सन्दर्भमा खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार हामीले पिउने पानीमा आर्सेनिकको अति संघनन् सिमा ५० ppb तोकेको छ । सामान्यतया आर्सेनिक मिसिएको पानी रंगहिन, गन्धहिन तथा स्वादरहित हुने हुँदा कंचन सफा पानीमा आर्सेनिक मिसिएको छ या छैन भन्ने कुराको एकिन पानीको रासायनीक परिक्षण नगरि त्यसै भन्न सकिदैन । यसतर्फ हामी सबैको ध्यान पुग्नुपर्ने जरुरी देखिन्छ । आर्सेनिकयुतm पानी लामो समयसम्म प्रयोग गरिरहँदा तात्कालिक रुपमा खासै समस्या नदेखिए पनि दिर्घकालमा यसले मानव स्वास्थ्यमा असर पुर्याउने देखिन्छ । खासगरि छालाको रंग बिगार्ने, छालाको क्यान्सर तथा शरिरका फोक्सो, कलेजो, मृगौला जस्ता अति संवेदनशिल अंगहरुलाई पनि असर पुरयाउन सक्ने सम्भावना रहन्छ ।
त्यसैले आर्सेनिकयुक्त पानी पिउनबाट कसरी बच्ने भन्ने सन्दर्भमा केहि उपायहरु अपनाउनु हामी सबैको कर्तब्य हुनजान्छ ।
१. हामीले नांगो आँखाले हेर्दा पानी सफा देख्दैमा आर्सेनिक भएनभएको छुट्याउन नसकिने हुँदा सर्बप्रथम पानीको परीक्षण गराउन जरुरी हुन्छ ।
२. तराईको सन्दर्भमा ईनार, कुँवा, हातेपम्प जस्ता पानीका श्रोतहरुमा कम गहिराइमा आर्सेनिक भेटियो भने उक्त श्रोतहरुलाई अझ बढी गहिराईसम्म खन्ने वा धस्ने र आर्सेनिक भए नभएको एकिन गरी प्रयोग गर्ने ।
३ भुमिगत पानी निकाल्दा सम्भव भएसम्म आप्mनो कुनै एक स्थानमा आर्सेनिकयुतm पानी भेटिए बैकल्पिक स्थानको छनौट गरि पानीको श्रोत पत्ता लगाउने वा खन्ने ।
४. आफनै घरआँगन भित्र स्थान परीवर्तन गर्दा समेत आर्सेनिकयुक्त पानीको श्रोत भेटिएमा त्यो भन्दा बाहिरबाट अन्य बैकल्पिक उपाय अपनाई पानी पिउनु राम्रो हुन्छ । आजभोलि आर्सेनिकयुतm पानीबाट यसलाई हटाउनको लागि विभिन्न बिधिहरु, फिल्टरहरु वा अन्य तरिकाहरु अपनाइन्छ ।
५. बजारमा पाइने RO जडित फिल्टरहरुको प्रयोगले पनि आर्सेनिक कम गर्न वा हटाउन सकिन्छ । तर यो महंगो पर्ने हुँदा सबैको पहुँचमा नहुन सक्छ ।
६. निष्क्रिय थिग्रियाउने बिधिबाट पनि केहिहदसम्म पानीमा भएको आर्सेनिक कम गर्न सकिन्छ । यसका लागि श्रोतबाट निकालेको पानीलाई केही घन्टासम्म भाँडोमा नहल्लाई राख्ने अनि बिस्तारै अर्को भाँडोमा निथारेर प्रयोग गर्न सकिन्छ ।
७. पानीमा भएको आर्सेनिक हटाउनका लागि हाम्रो गाउँघर र परिबेश सुहाउँदो सबैभन्दा सरल एबं प्रभाबकारी तरीका भनेको ३ गाग्री वा घैंटाको प्रयोग बिधि नै हो । यो बिधि बायोस्यान्ड फिल्टरको सिद्धान्तमा आधारित हुन्छ । यसका लागि स्थानीय स्तरमा पाइने साँगुरो घाँटी भएका तीनवटा गाग्री वा आगोमा पकाएर बनाएको माटोको घैंटाको प्रयोग गर्न सकिन्छ । यस विधिमा तीनवटा भाँडोलाई परस्परमा खप्टायर राखिन्छ । पहिलो अर्थात् माथिल्लो भाँडोमा केही फलामका कीला तथा मोटोखालको बालुवा राखिन्छ र उतm भाँडोको बाँकी भागमा छान्नुपर्ने पानी राखिन्छ । हावा र पानीको सम्पर्कमा आएपछि फलामको किलामा खिया लाग्न जान्छ र आर्सेनिक खियापरेको फलामको किलाको सतहमा गएर टाँसिन्छ । भाँडोको पिँधमा नाइलनको मसिनो कपडा वा अन्यले छोप्ने गरि स–साना प्वाल बनाइएको हुन्छ । ताकी पानी छानिएर दोस्रो भाँडोमा खसोस् । फेरि दोस्रो भाँडोमा चारकोल अर्थात् दाउरा बालेर निस्केको अंगार तथा मसिनो बालुवा राखिन्छ र पानी छिर्नका लागि स–साना प्वाल बनाइन्छ । चारकोलले जैबिक अशुद्धिहरुलाई समेत शोषण गर्दछ । तेस्रो तथा अन्तिम भाँडोमा छानिएको सफा पानी जम्मा भएर रहन्छ र पिउनको लागि प्रयोग गर्न सकिन्छ । यसरी यो बिधि पानीमा भएको आर्सेनिक हटाउनको लागि सरल र प्रभाबकारी बिधि पनि हो । (आचार्य खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका केमिष्ट हुन्)











