‘कमेडीमा रोस्टको नाममा होच्याउने प्रवृत्ति पनि बढिरहेको छ’

‘नेपाली कमेडी राम्रो भइरहेको छ । धेरै आउँदा अलिकति विकृति पनि बढिरहेको छ । कमेडीको नाममा इन्सल्टिङ चाहिं बढिरहेको जस्तो लाग्छ,’ प्रभात भन्छन्, ‘कन्टेन्टको चेतनास्तर बढेको छ तर त्यतिले मात्र पुगेको छैन । घुमाएर मीठो तरिकाले हानेको कमेडीमा भन्दा सिधै रोस्ट हान्ने खालको कमेडीमा दर्शकको रुचि देखिन्छ ।’

प्रभात लामा अहिलेका उदयीमान हास्य-व्यंग्य कलाकार हुन् । खासगरी क्यारिकेचरमा विशेष दखल राख्ने उनी सञ्चारकर्ममा समेत आबद्ध छन् । तर अहिले सञ्चारतर्फको यात्रामा केही ‘ब्रेक’ लगाएर उनी पूर्णकालीन कमेडियन बन्ने बाटोमा अग्रसर छन् ।

भर्खरै प्रज्ञा भवनमा मनोज गजुरेलको टिमले ‘८० सालको गाईजात्रा’ कार्यक्रम गर्‍यो । यसमा प्रभातले निर्वाह गरेको राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक महावीर पुनमा आधारित ‘आहावीर पुन’को भूमिकालाई निकै रुचाइयो । प्रभातले यसमा उम्दा प्रस्तुति दिएका थिए ।

गफ स्टेसनमा प्रभातसँग उनको कमेडी यात्रा, वर्तमान नेपाली हास्य-व्यंग्य क्षेत्र र यसका चुनौतीबारे कुराकानी गरियो । सुरुमा उनलाई सोधियो- गाईजात्रामा महावीर पुनकै क्यारेक्टर किन तपाईंलाई ?

उनले सटिक जवाफ दिए, ‘पहिले मैले महावीर दाइ (महावीर पुन)को मिमिक्री गरेर मनोज दाइ (मनोज गजुरेल)लाई सुनाएँ । उहाँले आवाज मिल्दोजुल्दो भयो, अब क्यारेक्टरमा काम गरौं भन्नुभयो अनि उहाँको जस्तै नाक, लवज र हाउभाउ मिलाउनतिर ध्यान दिएँ । पहिले डिजिटल गाईजात्रामा देखाउँदा रुचाएपछि मञ्चमा पनि देखाउने सोच बनायौं ।’

धेरैले महावीरमाथि चाहिं व्यंग्य नगरिदिएको भए हुन्थ्यो भन्ने सदाशयता राख्ने भएकाले उनलाई सकारात्मक ढंगले प्रस्तुत गरिएको प्रभात सुनाउँछन् । ‘महावीर पुनजस्तो वैज्ञानिकलाई अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको तर नेपालमा भने महत्व नदिइएको जस्तो लाग्छ । हामीले उहाँको ब्राण्ड भ्यालुलाई बुझाउने प्रयास गरेका हौं,’ प्रभात भन्छन् ।

सुरुमा त महावीर पुनको अलि ढिलो बोल्ने शैलीले दर्शकलाई सुरुमै तान्ला कि नतान्ला भन्नेमा प्रभात चिन्तित थिए । किनकि कमेडीमा सुरुमै दर्शकलाई आकर्षित गर्न सकिएन भने त्यो खल्लो हुने उनी बताउँछन् । ‘कतिपय अवस्थामा त फर्स्ट इन्ट्रीमै दर्शक हाँसेनन् वा ध्यान दिएनन् भने पन्च डाउन हुन्छ । नर्भस भएर डायलग बिर्सिने र प्रस्तुति नै फितलो हुने जोखिम रहन्छ,’ उनी भन्छन्, ‘आहावीरको क्यारेक्टरले दर्शकलाई राम्रैसँग तान्यो । यसमा खुसी छु ।’ कहिलेकाहीं भने परिस्थिति अनुसार डायलग थपघट समेत गरिने उनी सुनाउँछन् —

प्रभात सानैदेखि कमेडी भनेपछि हुरुक्कै हुन्थे । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा कार्यक्रममा विभिन्न चर्चित व्यक्तिको चरित्रलाई दुरुस्तै उतारेको देख्दा उनी स्कुल पढ्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच्थे । अर्का हास्य कलाकार कमल गाउँलेको गाईजात्रा क्यासेटले पनि उनलाई लोभ्याउँथ्यो । यस अर्थमा उनी यी दुई कलाकारबाट हास्य-व्यंग्यमा लाग्न प्रेरित भएका थिए । स्कुल कार्यक्रममा उनी कमेडी गरेर हँसाउथे, नाच्दा पनि कमेडी गीत नै रोज्थे ।–Onlinekhabar

प्रतिक्रिया

प्रतिक्रिया