सेन्ट पिटर्सबर्ग विस्फोटः आइएसले लियो जिम्मा

थाकथित इस्लामिक स्टेट (आइएस) समूहले रुसी शहर सेन्ट पिटर्सबर्गस्थित एउटा सुपरमार्केटमा आफूले बम विस्फोट गराएको दावी गरेको छ।

उक्त विस्फोटमा कम्तीमा १३ जना घाइते भएका थिए।

आइएसले आफ्नो समाचार संस्था अमाकमा विस्फोटको जिम्मेवारी दावी गरे पनि त्यसको कुनै प्रमाण दिएको छैन।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विस्फोटलाई आतंकवादी कार्यको संज्ञा दिएका थिए।

खतरा

आतंकवादी भर्ती गर्ने कार्यविरुद्धको सजाय कडा पार्ने एउटा कानूनमा पुटिनले शुक्रवार हस्ताक्षर गरेपछि आइएसको दावी सार्वजनिक भएको हो।

आइएसले रुस र पूर्व सोभियत संघका राज्यहरुबाट हजारौं लडाकुहरु भर्ती गरेको छ।

पुटिनले आइएसद्वारा भर्ती गरिएका ती लडाकुहरु स्वदेश फर्किए खतरा उत्पन्न गराउने चेतावनी दिएका थिए।

सिरियाली युद्धमा रुसले त्यहाँको सरकारको पक्ष लिएर हस्तक्षेप गरेका कारण आइएस र अरु लडाकु समूहहरुले आक्रमण गर्ने गरेको बताइन्छ।

प्रयास

बुधवारको विस्फोटपछि प्रारम्भिक रिपोर्टहरुमा अधिकारीहरुले त्यसलाई हत्या प्रयासको रुपमा लिएको जनाइएको थियो।

तर एउटा सैन्य पुरस्कार वितरण समारोहमा बोल्दै पुटिनले भने, “तपाईँहरुलाई थाहा छ सेन्ट पिटर्सबर्गमा हिजो आतंकवादी कार्य गराइएको थियो।”

रुसी सञ्चारमाध्यमहरुका अनुसार ग्राहकहरुले झोला राख्ने लकरभित्र एउटा ठूलो झोलामा बम लुकाएर राखिएको थियो।

पुटिनले शुक्रवार हस्ताक्षर गरेको नयाँ कानून अनुसार आतंकवादी भर्ती गर्नेलाई १० वर्षे सजाय बढाएर आजीवन कारावास हुने बनाइएको छ।

BBC NEPALI SEWA

प्रतिक्रिया

प्रतिक्रिया