बाघ दिवसमा बासको नाटक

विश्व बाघ दिवसको अवसरमा आइतवार बाँकेमा सडक नाटक प्रर्दशन गरिएको छ ।


बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा बास नेपालले सडक नाटक प्रर्दशन गरेको हो । बाघको महत्वका साथै बाघबाट बच्ने उपायहरु बारे सन्देश प्रबाह गर्ने उद्धेश्यले बाँकेको राप्तीसोनारीको वडा नम्वर २ को कचनापुर, वडा नम्वर ८ को शम्शेरगञ्जमा सडक नाटक प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

सडक नाटकमा मन भण्डारी, तपेन्द्र मलाती, अशोक रावल, लोक बहादुर घर्ती, शोभा थापा मगर, जित बहादुर थापा, जानकी बि.क., शुद्ध चौधरी, रमिता शाह लगायतले अभिनय गरेका थिए ।


मन भण्डारीको निर्देशन रहेको उक्त सडक नाटकका दुई स्थानमा ५ सय बढि स्थानीयहरुले अवलोकन गरेका थिए । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।


दिवसको दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा हुने गरेको छ ।


एक तथ्यांक अनुसार, पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यतिबेला नेपालले सन् २००९ को गणनाअनुसार बाघको संख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो ।


सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा अहिले बाघको संख्या ३ सय ५५ पुगेको छ । १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायतका विषय चुनौती बनेका छन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।


नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरैले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया