आज ‘साइक्लोथन’ : सहर चिनाउने अभियान

आज शुक्रवार ‘नेपालगन्ज साइक्लोथन’ आयोजना गरिंदैछ । मेयर कप साइकल दौड प्रतियोगिताको छैठौं संस्करणका रुपमा साइक्लोथन आयोजना गरिन लागेको हो ।

‘यो नेपालगन्ज सहरलाई चिनाउने अभियान हो,’ आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले विहीवार पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘यसलाई नेपालगन्ज उप–महानगरपालिकाले स्वामित्व लिएकाले पनि खास महत्व छ ।’ अध्यक्ष निरौलाले प्रतियोगिताले खेल पर्यटनसँगैं साइकल संस्कृतिको विकासका लागि सहयोग पुग्ने विश्वास गरिएको बताए ।

प्रतियोगितालाई आकर्षक बनाउन आयोजकले विभिन्न ५ विधाहरु समावेश गरेको जनाएको छ । जस अन्तर्गत एमटिबी पुरुष (३३ किलोमिटर), एमटिबी महिला (२० किलोमिटर), एमटिबी स्पेसल (१० किलोमिटर), साधारण साइकल पुरुष (२० किलोमिटर) र साधारण साइकल महिला (१५किलोमिटर) विधा रहेका छन् । ‘यो स्वास्थ्यका लागि अभियान, खेलकुद र मनोरञ्जनको समिश्रण हो,’ अध्यक्ष निरौलाले भने ।

आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अनुसार, सबै तयारी पुरा भएको छ । आज विहान नेपालगन्जको रामलिला मैदानबाट सुरु हुने प्रतियोगिता रामलिला मैदान, बुलबुलिया, उदयपुर, डम्पिङ साइट, तेलियनपुर, पुरैना, फुल्टेक्रा, हडियाबाबा हुँदै पुनः रामलिला मैदानमा आएर पुरा हुनेछ । ‘प्रतियोगिताको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गर्नेछन्,’ क्लबका अध्यक्ष निरौलाले बिहिबार पत्रकार सम्मेलनमा भने ।

प्रतियोगिता संयोजक सुरेन्द्र कार्कीका अनुसार, नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितामा ९६ खेलाडीले सहभागिता जनाउने निश्चित भैसकेको छ । राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता सुनिश्चित रहेको जानकारी दिंदै नेपालगन्ज साईक्लिङ क्लबका सचिव प्रदिप सापकोटाले राष्ट्रिय स्तरका खेलाडीहरु निमा शेर्पा, अच्युत कृष्ण खरेल, प्रकाश थापा, जगत ढोली, मान बहादुर थापाले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

प्रतियोगितामा एमटिबी पुरुष तर्फको पहिलो स्थान प्राप्त गर्नेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र एमटिबी महिला तर्फमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

यसैगरी साधारण साइकल पुरुष तर्फ क्रमश ८ हजार, ६ हजार र ४ हजार तथा साधारण साइकल महिला तर्फ क्रमश ७ हजार,५ हजार र ३ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । स्पेशल विधामा आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकको भनाइ छ ।

नेपालगन्ज साइक्लिङ क्लबले टुर दि ठाकुरद्वारा लगायतका आयोजना गरेर साइक्लिङ अभियानमा बाँके–बर्दियालाई अगाडी ल्याएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया