आज आठौंको समीक्षामा ‘पूर्वाधार संरक्षणको चिन्ता’

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा निर्माण पुर्वाधारहरुको संरक्षणमा चिन्ता गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीको कार्यकाल सकिंदै गर्दा आफु नेतृत्वको बोर्डले ४ वर्षसम्म गरेका कामको अभिलेखिकरण सहितको स्मारिक ‘खेलकुद’को विमोचन तथा आठौंका सहयोगीलाई धन्यवाद दिन शनिवार आयोजित कार्यक्रमा अधिकाँश वक्ताहरुले पुर्वाधार संरक्षणको चिन्ता गरेका हुन् ।

‘ ८५ करोड लागतका खेल पुर्वाधारमध्ये नेपालगन्ज रंगशाला परिसरमै ७ वटा खेल सञ्चालन गर्न सकिंने पुर्वाधार बनेका छन्,’ आज आइतवारबाट विदा हुन लागेका अध्यक्ष वलीले प्रत्येक नेपालगन्जवासी त्यसका लागि सचेत रहन आव्हान गर्दै भने, ‘यो हाम्रो ऐतिहासिक उपलब्धी हो ।’ उनले प्रदेश सरकारले पुर्वाधारको जिम्मा लिनुपर्ने बहस भइरहेपनि नेपालगन्ज उपमहानगरपालिकाले पहल लिन सके उसकैको मातहतमा आउन सक्ने सम्भावना औंल्याए ।

पुर्वाधारको संरक्षण र उपयोगका लागि कार्यविधि बनाएर विदा हुने लागेका अध्यक्ष वलीले नागरिकस्तरबाट आफुले निरन्तर चासो र पहल लिने प्रतिबद्धता पनि जनाएका छन् ।

‘नेपालगन्जले प्राप्त गरेका खेल पुर्वाधार निर्माण भन्दा पनि संरक्षण चुनौतीपूर्ण छ,’ कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, डा. धवल समशेर राणाले भने, ‘हामीलाई जिम्मा दिनुस्, सबै खेल पुर्वाधारको संरक्षण, उपयोग र व्यवसायिक खेल विकासको सुनिश्चितता गराउँछौं ।’

कार्यक्रमका सबै वक्ताहरुले वली नेतृत्वको कार्यकाललाई ‘सफल र उपलब्धीमुलक’ भनेका छन् । ‘समग्रमा वलीको नेतृत्वमा रहेको यो बोर्ड सफल रह्यो,’ नगर प्रमुख डा. राणाले भने ।

क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले ‘सुनौलो र अविस्मरणीय’ रुपमा वली नेतृत्वको चर्चा गर्दै
भौतिक पुर्वाधार निर्माण देखि खेलको स्तरवृद्धी र प्रतियोगितामा पदक ल्याउने सम्मका सबै सुचकमा बढोत्तरी आएको बताए । ‘वली नेतृत्वको अठोट र सक्रियतालेमात्र आठौं नेपालगन्जमा समयमै सम्भव भएको हो,’ निर्देशक शर्माले भने ।

वलीको नेतृत्वमा २०७२ साउन १२ गते साविकको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति गठन भएको थियो । संघीयतामा जिल्ला बाढिएपछि पछिल्लो १ वर्षदेखि प्रदेश ५ को नेतृत्व सम्हालेका वलीले आठौंको स्थानीय कमाण्ड सम्हाल्ने ऐतिहासिक जिम्मेवारी पाएका थिए । उनीसँगै बोर्ड सदस्य रिता कोइराला, चन्द्रमणि गैरे, बसन्त जीआर र
सरिता श्रीसको पनि कार्यकाल आज आइतवारबाट सकिंदैछ । आजबाट उपाध्यक्ष नरेन्द्र थापा, उमा अधिकारी, अनिल श्रेष्ठ र किरण नेपालले प्रशासनिक जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

काँग्रेस सभापति किरण कोइराला, बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले वली नेतृत्वको सफल कार्यकालको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया