‘पूर्णबहादुरको सारङ्गी’ अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्म

 ‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो, जुन अहिलेसम्मकै उच्च हो ।

वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको छ । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।

ह्युस्टनका तीन हलमा ११ शो, ओहायो कोलम्बसका तीन हलमा १३ शो धेरैमध्ये हुन् । विशेषगरी नेपालीहरुको  बाक्लो बसोबास रहेको टेक्सास, ओहायो क्षेत्रमा शो संख्या उच्च देखिएको छ ।

नोभेम्बर ८ मा रिलिज भएको फिल्मले सुरुवाती तीन दिनमा ३५० शो पाएको थियो । तर समग्रमा ‘डिग्री माइला’को ५६० शो थियो । जारी ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’ले यो शोलाई पनि उछिन्ने प्रक्षेपण छ ।

आइतबार पनि २२६ कै हाराहारीमा शो रहेको वितरक प्याट्रिक सुवेदीले जानकारी दिए । आफ्नो १३ वर्षे वितरण करिअरमा ‘पूर्णबहादुरको सारङ्गी’को यो व्यावसायिक उत्साह पहिलोपटक देखेको उनले बताए । ‘अहिले पनि ट्रेन्ड माथि गइरहेको छ’, उनले भने ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म अमेरिकासहित मध्यपूर्व, पूर्वी एसियाली मुलुक र अस्ट्रेलियामा समेत प्रदर्शनमा आएको छ ।

चिनियाँ मिडियामा पनि चर्चा

‘पूर्णबहादुरको सारङ्गी’को चर्चा नेपालमा मात्र होइन, चीनमा समेत भएको छ । चिनियाँ भाषाको सिको मिडियाले यस फिल्मले नेपालमा गरिरहेको कमाइबारे प्रशंसा गरेको छ ।

फिल्मले नेपालमा ३ करोड ५० लाख युआनको व्यापार गर्ने प्रक्षेपण पनि उक्त अनलाइनले गरेको छ । यो फिल्मको आईएमडीबी स्कोर ८.५ रहेको समेत उल्लेख छ ।

‘फिल्मको सफलता नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक सफलता मात्र होइन, विश्वभरका दर्शकको केन्द्रविन्दु पनि बनेको छ’, उक्त चिनियाँ वेब पोर्टलले लेखेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया