चक्रपथ निर्माण गरिँदै

शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ ।

नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत रु सात करोड ४४ लाख ४९ हजार छ सय ३२ को लागतमा सडक निर्माण गरिन लागेको छ । सडक निर्माणका लागिे सडक निर्माण कम्पनीले जिम्मा पाएको छ ।

ठेक्का सम्झौता भएको चार महिना पछि सडक निर्माण अगाडि बढाइएको छ । सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो । तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र नगरपालिकाको रु एक करोड ५० गरी रु तीन करोड बजेट परिचालन गरिएको छ । सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताउनुभयो । “पहिलो चरणमा वडा नं १२ को कालागौंडीदेखि वडा नं ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ ।”

सडकको क्षेत्राधिकार २० मिटर रहेको छ । अहिले नौ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ । सडकखण्डको वडा नं १ को खजुवापट्टि र वडा नं ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ । प्रिमिक्स कार्पेट विधिबाट सडक कालोपत्रेको कार्य हुने शाखा प्रमुख धामीको भनाइ रहेको छ ।

यसअनुसार कालोपत्रे सडकको मोटाइ दुई सेन्टिमिटर हुनेछ । क्रेसरको ग्राभेल १० देखि १५ सेन्टिमिटर र सोही अनुपातमा सामान्य खाले ग्राभेल राख्ने कार्य हुने छ । पहिलो चरणको सडक कालोपत्रे गर्ने कार्य विसं २०८२ असोज १६ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ । यस मध्ये हाल वडा नं १२ को कालागौंडीदेखि वडा नं ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अद्यावधिक गरिएको छ ।

चक्रपथ सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो । डिपिआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया