बालविवाह रोक्न गाउँगाउँमा आमासमूह

कालीकोटमा बालविवाहविरुद्ध गाउँगाउँमा आमासमूह गठन गरिएका छन् । खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकाका गाउँगाउँमा महिला बालविवाहविरुद्धको अभियानमा लागेका हुन् ।

बालविवाहका कारणले घरेलु हिंसा बढ्न थालेपछि आमासमूहमा सङ्गठित भएर महिला अभियानमा जुटेका छन् । गाउँगाउँ गठन भएका महिला समूहको मासिक बैठक बसेर बालविवाहका कारणले किशोरीमा आउने शारीरिक, मानसिक, आर्थिक र सामाजिक समस्याका बारेमा छलफल गर्ने गरेका खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो ।

“स्थानीय सरकारको अगुवाइमा सामाजिक कुरीतिविरुद्धका कार्यक्रममा महिला स्वयं आफैँ सक्रिय हुनुभएको छ”, उहाँले भन्नुभयो, “आमासमूहले गरेका कामका बारेमा हरेक शनिबार नगरका विभिन्न वडामा पुगेर जानकारी लिने गरेका छौँ ।” आमासमूहले गाउँका विभिन्न समस्याका बारेमा छलफल कार्यक्रम गर्दा समूहमा खाजा खानेसम्मको व्यवस्था नभएको भन्दै नगर सरकारसमक्ष माग गरेको नगर प्रमुख शाहीले बताउनुभयो ।

बालविवाह न्यूनीकरण, सुरक्षित मातृत्व, स्वास्थ्य स्याहारका क्षेत्रमा काम गर्दै आएको आइएनएफ नेपाल कालीकोटका कार्यक्रममा संयोजक दलबहादुर बुढाले बताउनुभयो । “विद्यालयमा अध्ययनरत एक हजार आठ सय विद्यार्थीलाई यौन शिक्षा, पोषण र बालविवाहका असरका बारेमा सचेतनामूलक कार्यक्रम प्रदान गरेको छौँ”, उहाँले भन्नुभयो, “गाउँमा सामाजिक कुरीतिविरुद्धको अभियानमा एकजुट हुन नागरिकलाई केन्द्रित रहेका छौँ ।”

खाँडाचक्रको एक तथ्याङ्कमा ६६ प्रतिशत बालविवाह रहेको र अहिले क्रमशः घट्ने क्रममा रहेको तथा आगामी असारसम्म ४० प्रतिशतमा झार्ने सरकारी लक्ष्य रहेको खाँडाचक्रका नगर स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताउनुभयो ।

“बालविवाहको कार्यक्रमलाई व्यापक बनाउँदा समग्र स्वास्थ्यमा सुधार देखिने हुँदा विशेष जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “बालविवाहका कारणले स्वास्थ्य क्षेत्रमा असर गरेका छ ।” (रासस)

प्रतिक्रिया

प्रतिक्रिया