नरैनापुरमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो


नरैनापुरमा महिला हिंसाको घटनामा बृद्धि भएको प्रति चिन्ता व्यक्त 

बाँके, २५ फाल्गुन । ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकाले विविध कार्यक्रम गरी मनाएको छ ।

नरैनापुर गाँउपालिकाको महिला तथा बालबालिका शाखाको आयाजना एंव बि ग्रुपको सहकार्यमा भएको कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने जिकिर गर्नु भयो ।


उपाध्यक्ष श्रीवस्तवले महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि नरैनापुर गाँउपालिका प्रतिबद्ध रहेको बताउदै उहाँले महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताउनु भएको थियो ।


महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा चन्दले यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ बताउदै उहाँले विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको जानकारी गराउनु भएको थियो । उहाँले नरैनापुरमा पछिल्लो समयमा आत्महत्या, दाइजोका कारण महिलालाई यातना दिने जस्ता घटना बढदै गएको प्रतिचिन्ता व्यक्त गर्दै उक्त घटनाहरुलाई नियन्त्रण गराउन तर्फ सरोकारवालाले भूमिका निर्वाह गर्न जरुरी रहेको जिकिर गर्नु भएको थियो । 


यस्तै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख राजन रायमाझीले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गर्नु भयो । उहाँले महिलाहरुलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 


नरैनापुरमा प्रभातफेरीको आयोजना गरी सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, सशस्त्र प्रहरी निरिक्षक छवि कुवर, कार्यपालिका सदस्य सन्तोष श्रीवस्तव, नरैनापुरका प्रेस विज्ञ आलम खान, नरैनापुरमा कार्यरत मुकद्दर अलि मुकेरी, प्रधानाध्यपक राजु मुकेरी लगायतले बोल्नु भएको कार्यक्रममा दुई सय भन्दा बढी महिला बालबालिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन राजन बर्माले गर्नु भएको थियो । 

प्रतिक्रिया

प्रतिक्रिया