रहेनन् संविधानसभा अध्यक्ष नेम्वाङ, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको
छ ।


आज बिहान भएको नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिइने छ ।


आज राति बालुवाटारस्थित निवासको बाथरुममा लडेर घाइते भएका नेम्वाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राति पौने २ बजे निधन भएको हो । श्रद्धाञ्जलीका लागि पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालय च्यासलमा राखिने जनाइएको छ ।

विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उनी इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।


संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया