उम्मेद्वारका ‘डलरमा’ विज्ञापन, कसरी हुन्छ आयात विस्थापन ?

नेपालको अर्थतन्त्र बलियो बनाउन व्यवसायीहरूले आन्तरिक उत्पादन प्रवद्र्धन, स्वदेशमै खरिददारीको विषय पटकपटक उठाउँदै आएका छन् ।


नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने औपचारिक कार्यक्रममा आन्तरिक उत्पादन, भन्सारपार खरिद बिक्री रोकको विषय निकै जोडतोडले उठाउने गरेका छन् ।


यसबीच, सरकारले समेत सञ्चित डलर सीमा भन्दा घट्ने जोखिम देखेपछि लामो समय विभिन्न मालसामानको आयातमा नै प्रतिबन्ध लगायो ।


आन्तरिक खरिददारी र आन्तरिक उत्पादनको प्रयोगमा जोड दिने व्यवसायीहरू नेपालगन्ज उद्योग वाणिज्य संघको उम्मेदवार हुँदै गर्दा भने ‘डलर’मा विज्ञापन गरेर रकम विदेश पुर्याउँदै छन् ।


पछिल्लो समय नेपालगन्ज उद्योग वाणिज्य संघका उम्मेदवार तथा प्यानलले नै विज्ञापन गर्ने नाममा सामाजिक सञ्जालमा डलर खर्च गरिरहेका छन् ।


‘सामान्य प्रचारको खर्च समेत विदेश पुर्याउने उम्मेदवारले जितेमा भन्सार कडाई गर, सीमावर्ती भारतीय बजार रूपैडिया गएर मालसामान खरिद नगर, नेपालगन्जमै खरिद गर भन्ने नैतिकता रहला ?’, नेपालगन्जका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘स्थानीय स्तरका जुनसुकै सामाग्री प्रवद्र्धनका लागि यही विभिन्न माध्यम प्रयोग गर्न सकिने अवस्थामा डलरमै किन खर्च गरिंदैछ ?’ उनले सामाजिक सञ्जालमा डलरमा भुक्तान गरेर प्रवद्र्धन गरिएका उम्मेदवारका प्रचार सामाग्री प्रशस्त आउने गरेकोप्रति चिन्ता व्यक्त गर्दै भने ।


‘नेपालगन्ज उद्योग वाणिज्य संघका उम्मेदवारले अब प्रचारका लागि सामाजिक सञ्जाललाई पैसा तिर्ने, अनि जितेपछि आन्तरिक अर्थतन्त्र प्रवद्र्धनका नारा दिन सुहाउँला, आफुले सानो खर्च पनि डलरमै गर्ने, अरूलाई कसरी नेपालमै खरिद गर भन्ने हुन्’, उनले भने ।


संघ निर्वाचनमा होमिएको समावेशी प्यानलले जारी गरेको प्रतिबद्धता पत्रमा सञ्चारसँग सहकार्य गर्ने उल्लेख गरेको छ । प्रतिबद्धतामा उल्लेख छ, ‘आम सञ्चारमाध्यमको सहयोगमा नै उद्योगी, व्यवसायीका एजेण्डा र समस्या समाधानका लागि राज्यलाई दबाब दिन सकिन्छ ।संघले आम सञ्चारमाध्यम र पत्रकार सँग सहकार्य गर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया