साहित्यकार लम्साललाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको पुरस्कार साहित्यका सृजन लम्साललाई प्रदान गरिएको छ ।


शनिवार भेरी साहित्य समाजले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ५१ हजार १११ रुपियासहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार लम्साललाई प्रदान गरिएको हो । साहित्यकार लम्साललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार प्रदान गरे ।


त्यसक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु बिभेदमा परेको उल्लेख गर्दै मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गरेका थिए । उनले पुरस्कृत व्यक्तित्व लम्सालको साहित्य सिर्जनाबारे धारणा पनि राखेका थिए ।

स्व. मल्लको व्यक्तित्व र कृतित्वबारे वरिष्ठ पत्रकार पूर्णलाल चुके र पुरस्कृत लम्सालबारे मध्यपश्चिम श्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले प्रकाश पारेका थिए ।


कार्यक्रममा प्राज्ञसभा सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका डा.इन्द्रबहादुर भण्डारी, हरि सुवेदी लगायतले मधुकरको व्यक्तित्व र योगदानको स्मरण गरे । युवागायक प्रभात सुवेदीले मधुकरका गीतहरूको गायन गरेर नविकृत गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भाषा,साहित्य र संस्कृतिकर्मीहरूलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


स्व. मधुकरकी छोरी वाणीश्री मल्लले साहित्यको उन्नयनका लागि बुवाको योगदानलाई जीवन्त राख्न आव्हान गर्दै पुरस्कार कोष वृद्धि घोषणा गरिन् । पुरस्कारका संस्थापक मल्लले शनिवारनै कोषका लागि १ लाख ६० हजार प्रदान गरेको अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले जानकारी दिए ।


सोही समारोहमा प्रा.डा कृष्णप्रसाद घिमिरे र प्रा.डा सदन पौडेललाई प्रेम प्रकाश मल्ल मधुकर स्मृति सम्मान पनि प्रदान गरिएको छ । प्रमुख अतिथि रेग्मीले घिमिरे तथा पौडेललाई कोषका तर्फबाट सम्मान हस्तान्तरण गरे । प्रा.डा. पौडेलले आफूलाई जिम्मेवारी थपिएकोले नेपालगन्ज र प्रेम प्रकाश मल्लको बारेमा लेख्ने प्रतिबद्धता जनाए । प्रा.डा. घिमिरेले स्व. मल्लका उत्कृष्ट रचनाहरूको संग्र्रह प्रकाशन गर्न र सोको सम्पादन आफूले गरिदिने घोषणा गरे ।


भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको सभापतित्व भएको कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए । लेखक मीना बरालको सञ्चालनमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।


कार्यक्रममा सहभागी नेपाल–भारतका विभिन्न श्रष्टा, साहित्यकारहरुले स्व. मल्लको ८८ औं जन्मजयन्तीमा श्रद्धान्जली सहित तस्विरमा पुष्पगुच्छा, अबीर अर्पण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया