वैश्य समाजको नेतृत्व लिन युवा पुस्ताको अग्रसरता

यहाँको रैथाने समुदायका रुपमा रहेको कसौंधन वैश्य समाज बाँकेको नेतृत्वका लागि युवा पुस्ताले अग्रसरता देखाएको छ । पहिलो पटक समाजको नेतृत्व पुस्तान्तरण हुने सम्भावना पनि देखिएको छ ।


सर्वसम्मतका लागि भएको प्रयास सफल नभएपछि आगामी कार्यकालका लागि निर्वाचन हुने निश्चित भएको हो । त्यसका लागि सन्तोष वैश्य र रामकुमार वैश्य प्यानल बनाउने कसरतमा अघि बढेका हुन् । व्यापार र सामाजिक गतिविधिमा क्रियाशील सन्तोषले मैत्रीपूर्ण प्रतिष्पर्धाबाट आफु नेतृत्वमा आउन चाहेको बताए ।


समाजका नेता सन्तोष वैश्यले आफु प्यानल सहित निर्वाचनमा जाने र त्यसको तयारी गरिरहेको बताएका छन् । ‘राजनीतिक र व्यक्तिगत स्वार्थका लागि नभइ, म समुदायको हितका लागि दावेदारी गरेको हुँ,’ नेपालगन्जन्यूजसँग उनले भने ।

म प्यानल सहित निर्वाचनमा जाने तयारी गरिरहेको छु । मेरो टिम पनि बनिसकेको छ । वास्तवमा म राजनीतिक र व्यक्तिगत स्वार्थका लागि नभइ, समुदायको हितका लागि नेतृत्व दावेदारी गरेको युवा भएकाले मलाई समाजको नेतृत्व गर्ने अवसर पक्कै मिल्छ भन्नेमा विश्वस्त छु । हामी समाजमा केही गर्न चाहन्छौं ।

सन्तोष कुमार वैश्य
अध्यक्ष पदका दावेदार, कसौंधन वैश्य समाज बाँके


शनिबार भएको कसौंधन वैश्य समाजको हुने १६ औं साधारणसभामा सर्वसम्मत नेतृत्व चयन नहुने देखिएपछि निर्वाचनबाट नै नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने भएको हो ।


समाजमा करिब २ हजार २ सय मतदाता रहेका छन् । समाजले सर्वसहमतिबाट कार्यसमिति चयन गर्ने प्रयास गरेपनि सहमतिको ठोस प्रयास हुन नसकेको समाजका सदस्यहरू बताउँछन् ।


‘यसअघि पनि निर्वाचन भएको थियो, अब पनि निर्वाचन नै उत्तम विकल्पका रूपमा लिएर सहमतिको ठोस प्रयास नै अग्रजहरूबाट भएन’, समितिका एक सदस्यले भने, ‘आफ्नै समाजका विषयमा सर्वसम्मत अघि बढेको भए राम्रो सन्देश जान्थ्यो ।’


समितिका वर्तमान अध्यक्ष नन्दलाल वैश्यले पनि आफुले सर्वसम्मत कार्यसमिति चयनको प्रयास गरेको उल्लेख गर्दै सहमति नभए निर्वाचनमै जाने बताए । उनले साधारणसभा सकिएलगत्तैपनि दावेदारहरुलाई एकै ठाउँमा बसेर समाजको नेतृत्व खोज्न सर्वसम्मत प्रयासनै उचित हुने बताएका थिए ।


शनिबार अध्यक्ष वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. धवल समशेर राणा रहेका थिए । समाजका सचिव सत्यनारायण वैश्यले सञ्चालन गरेको कार्यक्रममा समाजका अगुवा रुपैडिया ग्राम पञ्चायत अध्यक्ष उमाशंकर वैश्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया