क्यान्सर अस्पताल खजुरामा एम्बुलेन्स र बस

उपचार सहजीकरणमा बसमार्फत अस्पताल ल्याउने मेसो मिलाइँदै

पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आफ्नै एम्बुलेन्स सेवा प्रवाह हुने भएको छ ।


क्यान्सर अस्पताललाई भारत सरकारले एउटा एम्बुलेन्स र बस प्रदान गरेपछि सेवा सञ्चालन हुने भएको हो । तत्कालिन सांसद दलबहादुर सुनारले सांसद विकास कोषबाट उपलब्ध गराएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि क्यान्सर अस्पताल एम्बुलेन्स विहीन थियो ।


अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतवार एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।


एम्बुलेन्स र बस ग्रहणका लागि अध्यक्ष मल्लसँगै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराई पुगेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टराईले एम्बुलेन्स र बसको अभावमा नेपालगन्जबाट टाढा रहेको सो अस्पतालमा आउने बिरामीलाई समस्या परेकोले अब सहज र सरल हुने विश्वास व्यक्त गरे ।


नेपालगञ्जदेखि आठ किलोमिटर पश्चिममा रहेको सो अस्पतालसम्म पुग्न स्थानीय यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको व्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीले निकै सास्ती खेप्न परिरहेको थियो । ‘त्यसको विकल्पका रुपमा एउटा रुटनै बनाएर चलाउने योजना बनाएका छौं,’ अध्यक्ष मल्लले दैनिक नेपालगन्जसँग भने । मल्लका अनुसार, स्वास्थ्य मन्त्रालयको समन्वयमा भारत सरकारले सहयोग उपलब्ध गराएको हो ।


धार्मिक अगुवा सन्त दीनदयालजीको संकल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारले सञ्चालन गर्दै आएको छ ।


अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकांश क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने बाध्यता समाप्त भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष मल्लले पछिल्लो समयमा क्यान्सर अस्पतालले सञ्चालन गरेका विभिन्न अति आवश्यक सेवा र सुविधाबाट पश्चिम नेपालको तीन वटा प्रदेशका सयौं बिरामी लाभान्वित भइरहेको बताए ।


काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको थियो ।


नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको जनाएको छ ।


यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया