रोजगारी र व्यवसायका लागि संवाद कार्यक्रम

बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउन बाँके युनेस्को क्लबले संवाद कार्यक्रम गरेको जनाएको छ ।


क्लबका अनुसार, स्थानीय युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम गरिएको हो । संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिबद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेल बताए ।


प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।


कार्यक्रममा ठाकुरबाबाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर्भरता ल्याउने बताइन् । उनले विभिन्न सिप सिकेर रोजगारी गर्न चाहनेलाई अभिभावकले सहयोग र समर्थन गर्नुपर्ने सुझाइन् ।


नगरपालिकाका योजना प्रमुख अनन्तराज सुवेदीले युवा महिलाको आर्थिक सशक्तिकरण र जिविकोपार्जनलाई पालिकाले विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउने बताए ।


कार्यक्रममा सहभागी युवा सुभम चौधरीले संवादमा अभिभावकबाट व्यक्त प्रतिबद्धतापछि रोजगारी र व्यवसायमा लाग्न निकै सहज हुने विश्वास व्यक्त गरिन् ।


कार्यक्रममा नगरपालिकाका ३५ जना अभिभावक, ३५ जना युवा महिला र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको र संवादको सहजिकरण निरज न्यौपानेले गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया