दलविहीन शासन व्यवस्थाको माग हो त ?

पछिल्लो समय विभिन्न राजनीतिक दलले आफ्नो अस्तित्व बचाउनका लागि फरक मूल्य मान्यता तथा सिद्धान्त रहेको पार्टी प्रणालीसँग निर्वाचनको समयमा तालमेल गर्ने नाममा जबरजस्ती कार्यकर्ताको मनोभावना विपरीत भोट मागी रहेको देखिन्छ । राजनीति भनेको सत्ता प्राप्ति गर्ने एउटा माध्यम हो । हरेक पार्टीका आआफ्ना कार्यकर्ताहरुको मतको आधारमा सत्ता प्राप्तिका लागि कतै तालामेल भनिरहेका छन् भने कतै मैत्रीपूर्ण प्रतिस्पर्धा भने कतै गठबन्धन । यस प्रकारको राजनीतिक खेलले मुलुकमा निर्दलीय शासन व्यवस्थाको आवश्यकता हो त भन्ने प्रश्न मेरो मनमा उब्जन थालेको छ ।

गठबन्धन होस वा तालमेल जे जस्तो भने पनि कुनै पनि राजनीतिक दलको आफ्नो अस्तित्वलाई बचाउनका लागि अन्य बाटोहरु भन्दा पनि यी यस्ता अस्पष्ट माध्यमबाट जनता सामु जानु कदापी ठीक हो भनेर भन्न सकिने आवस्था हो भन्न सकिँदैन । यदि साँच्चै नै दलहरु जनताको हितमा छन् भन्ने लाग्ने हो भने किन चाहियो तालमेल र गठबन्धन ? तालमेलको नाममा सत्ता प्राप्ति गर्दै आफ्नो शासनको बागडोरलाई बचाउने भन्दा अर्को सन्देश हो भनेर हामीले भन्न कसरी सक्छौं ? “म ठीक छैन त्यसैले तपाईको साथ मलाई र मेरो साथ तपाईलाई” भन्ने भन्दा अर्को केही जानकारी दिन सकिने अवस्था देखिँदैन । आज प्रतिस्पर्धी राजनीतिक दललाई असंवैधानिकको संज्ञा दिँदै गर्दा कसरी भन्न सकिन्छ कि भनाइ खाने भन्दा भन्ने ठीक छ भनेर रु तालमेलको नाममा जनतालाई गुमराहमा राख्दै आफ्ना अपुष्ट योजनाहरुलाई लिएर जाँदै गर्दा सोझोसाझा जनताको भावनामा ठेस पुर्याउने कदम भन्दा अर्को विषय होइन भनेर भन्न सक्ने अवस्था अहिले देखिँदैन ।

केही व्यक्तिहरुले राजनीति दलको नाममा स्वतन्त्र शब्दै अपहरण गरेको देखिन्छ । राजनीति दलको स्थापना गर्दै गर्दा स्वतन्त्र शब्द माथि नै दोहन गरेको देखिन्छ । नेपाली शब्द भण्डारमा स्वतन्त्र भनेको,“ (१) अरु कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयम् सोचीबुझी काम गर्न सक्ने वा पाउने, स्वाधीन, (२) अरुको अवलम्ब, आधार वा आश्रय केही नभएको (३) कुनै नियम–विधि वा प्रतिबन्धबाट मुक्त (४) अरु कसैसँगको सम्पर्क नभएको, अलग भिन्न” भनेर स्वष्ट लेखिएको छ । अब आउँछ स्थापना भएका स्वतन्त्र पार्टी माथि उल्लेखित परिभाषाभित्र पर्छ कि बाहिर ? अथवा मुलुकमा कुनै पनि नीति नियम छैन जस्ले जे गरे पनि हुने ? प्रश्नै–प्रश्नको भण्डार जनमानसमा उठिरहेको छ । अर्कातर्फ काठमाडौका बालेन र धरानका हर्कको अभियानलाई आधार दिँदै राजनीति पार्टीमा लागेकाहरु समेतले स्वतन्त्र उम्मेदवारी दिँदै आएको देखिन्छ । स्वतन्त्र उम्मेदवार वर्तमान आवश्यकता हो कि प्रश्न ? राजनीतिक दललाई । पक्कै पनि हो किन भने राजनीतिक दलको विकल्पमा स्वतन्त्रको महत्व बढ्दै जाँदा कतै राजनीति दलीय सिद्धान्तबाट पर भाग्दै निकै टाढा आई पुगेको हो ? हरेक राजनीतिक दलका सिद्धान्त तथा मान्यताहरु राष्ट्रिय हित तथा सार्वजनिक हितको पाटोलाई बलियोसँग हिट गर्ने प्रकारले प्रतिबध्द भएको नै हुन्छ तर के नेपालमा राजनीतिक दलका नेतृत्वकर्ताहरु व्यक्तिगत स्वार्थको आधारमा आफूले नेतृत्व गरेको राजनीतिक पार्टीलाई हिँडाउन चाहेका हुन त ? कि परिवारवादको मोहरुपी भङगालोबाट बाहिर आउन सक्ने अवस्था नभएको हो ? होइन भने किन आत्तिएका राजनीतिक दलका शीर्ष नेताहरु ? वर्तमान आवश्यकतामा दलीय शासनको सामाप्ति भएको हो त ? अवस्था यस्तो सम्म आएको छ कि कतिपय स्थानहरुमा मुख्य राजनितिक दलका नेताहरुलाई टोल निषेध सम्म गरेको हुदाँ यसलाई हामीले के भनेर आकलन गर्ने?

अबको राजनीतिक यात्रामा राजनीतिक दलका नेतृत्वले आफूहरुलाई यसपटक साथ दिनु आफूहरु सुधारिएर जान्छु भन्ने आश्वसनबाट नेतृत्व आफै नै ढुक्क हुन सकेको छैन । सबैलाई पद चाहिएको छ । अदृश्य रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुब्नेदेखि लिएर आफूलाई समाजमा मुख देखाउन नसक्ने समेतले लाजलाई जिते भन्दै अगाडि आएको देखिन्छ । नेपालको राजनीति अस्पष्ट हुँदै गर्दा नेपाली जनताहरु भने निकै चलाख भैसकेको छन् भन्ने कुरामा ढुक्क भने हुन सक्ने अवस्था स्थानीय निकायको निर्वाचनले छर्लङ्ग बनाइसकेको छ । तालाचाबी लिएर बसेका जनतालाई कुनै पनि बहानामा ढाँटेर पार लाग्छु भन्नु कुनै पनि हालतमा ठिक होइन । अर्को कुरा जनताहरु पनि आफू जनार्दन हुँदै गर्दा विवेकशील हुनु अति आवश्यक छ । राजनीतिक दलका नेतृत्वलाई दिशा निर्देश गर्नु समेत जनताको प्रमुख दायित्व हो । अब तालमेल भन्दा पनि आफ्नो स्पष्ट नीतिलाई अवलम्बन गर्दै अगाडि जानु राजनीति दलको आवश्यकता हो । होइन भने निर्वाचन पछिका दिनमा देश दलविहीन राष्ट्रिय प्रणालीमा नजाला भन्न सकिन्न । यस्तो अवस्था ल्याउन सहयोग गर्ने वर्तमान शीर्ष राजनीतिक दलका नेतृत्वले कस्लाई जवाफ के जवाफ दिने भन्ने पनि विषय जटिल छ । मुख्य राजनीति दल होस या पछिल्लो समयमा आफूले देशको मुहारलाई परिवर्तनसँगै अग्रगमनको बाटोमा लैजाने प्रतिबद्धता साथ आएका ।। दलका नेतृत्वसमेतले यसप्रति आफूलाई स्पष्ट पार्नु आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया