सहृदयताको सभ्यता बचाऔं


वर्तमान युग सभ्यतागत संघर्षको युग हो । आज संसारमा कसको सभ्यता कति सम्पन्न र कसको सभ्यताको वर्चश्व कति रहने भन्ने प्रतिष्पर्धा भैरहेको छ । मानिसहरु तीन कित्तामा देखिएका छन् । एउटा कित्ता अरुको सभ्यतालाई मास्न र आफ्नो सभ्यतालाई जर्बजस्ती लाद्न लागिपरेको छ भने अर्को कित्ता आफ्नै सभ्यतालाई बचाउन कठिन संघर्षमा रहेको छ । एउटा कित्ता भनौं या उहि पहिलो कित्ताको दलाली गर्ने कित्ता छ त्यो आफ्नै सभ्यतालाई गाली गलौच गरेर आफ्नै सभ्यतालाई गाली गरे वापतको दलाली असुल्ने र कथित क्रान्तिकारी बन्ने कित्ता छ । यी तीन थरिका बीचमा चलेको संघर्षले आफ्नै सभ्यतागत लडाइँमा शास्त्र देखि अस्त्रसम्म प्रयोग भएका छन् । पहिलो कित्ता अधिक्रमणकारीका रुपमा देखिएको छ । आधुनिकताको नाममा अर्काको सँस्कृति र सभ्यतामाथि निर्ममताका साथ आक्रमण गरिरहेको छ ।

नेपालको मौलिक सँस्कृति र आफ्नै उत्कृष्ट सभ्यता रहेको छ । यसले संसारको केन्द्रबिन्दु पश्चिमाहरुले भनेजस्तो यूरोप होइन भने कहाँ हो भन्ने प्रश्न जन्माइसकेको छ । यसबाट आफ्नो सभ्यतालाई संसारभरि लाद्न खोज्नेहरु देखि उनीहरुकै दलाली गरेर कमाउनेहरुमा छट्पटाअट देखिन थालेको छ ।

चुनावी मौसमसँगै भोट बैंकका लागि नेपालको राजनीतिमा आफुलाई कथित क्रान्तिकारी भनाउनेहरुले नौटङ्की गरिहेका छन् ।नेपालको मौलिक सँस्कृतिलाई गाली गरेर पश्चिमा सँस्कृतिका मानसिक दास भैरहेको युवाहरुको चेहेतो बनेका काँग्रेसका गगन थापा मार्काहरु मन्दिर जाने र टीका लाउने गरेको देखियो । कम्यूनिष्ट नामधारी महेश बस्नेतहरु गेरुवा बस्त्र र त्रिडण्डी टिका लगाएर नेपाली सँस्कृतिप्रति निष्ठावान रहेको देखाउन अगाडी देखिएका छन् ।

अर्का कम्यूनिष्ट नेता जसले आफ्नो जिन्दगी आइएनजिओको दलाली गर्नमा र यूनिभर्सल चर्चको खेतालेइँ गर्नमा बितायो । होलिवाइनको सेचन र क्रुसमुनी बसेर सनातनको उछितो काढ्नमा नै गर्व गर्यो । नेपाललाई पश्चिमा मर्शिनेरीहरुको खेल मैदान बनाउन सरकारमा बसेरै नीतिगत सहजता ल्याइदियो । त्यस्तैमा मस्त माधव नेपाल मार्काले कहिले मगर सँस्कृतिको फेटा भिरेर त कहिले गेरुवा पगरी रद्राक्ष भिरेर, कहिले महायज्ञहरुमा पुगेर सञ्जालभरि आफुलाई प्रर्दशन गर्दैछ । हामीकहाँ यस्ता सनातन बिरोधीहरुलाई नै महायज्ञका प्रमुख अतिथि बनाउनेहरुको दुर्दशा झनै टिठलाग्दो छ ।

जसले भ्याटिकनको जूठोपुरो खाएर नेपालका मौलिक परम्परा, कुलधर्म, सँस्कृति, भाषा सभ्यता मास्न नेपाली जनताका लाटासोझा बालबालिकाहरुलाई बन्दूक बोकायो । नेपालको मौलिक धर्म र सनातनलाई अफिम भन्दै नेपालीहरुले पूजा गर्ने थानहरु भत्काउने, क्रियापुत्री देखि सँस्कृतका गुरुहरुलाई यातना दिएर मार्ने काम गर्दै नेपालका पहाड हिमाल कुना कन्दराहरुमा क्रुसेडक्रान्तिको आँधीबेहरी ल्यायोे । उसैले आज फेरि नेपाली परम्परामा पत्थर पूजा थान पूजालाई गाली गरेको छ । उसको यो छटपटाअट भनेको नेपालीहरुले आफ्नोपन, आफ्नो मुलकुल धर्मसँस्कृति भाषा र सभ्यता प्रति देखिाएको ब्यापक सर्मथन को परिणाम हो ।

कुनै समय शक्तिशाली रहेको अटोमन साम्राज्य आज आफ्नो साँस्कृतिक बिरासतको ठाउँ खोजिरहेको छ । मिश्रीहरु आजपनि आफ्नो सँस्कृतिमा गर्व गरेरै संसारलाई पर्यटन गराइरहेका छन् । जापानले आफ्नो सँस्कृतिमा कुनै सम्झौता नगरीकनै विश्वको आधुनिक देश बनेको दशकौं भएको छ । इस्लामिक दुनियाँका साउदी देखि इण्डोनेशियासम्मका देशहरुले आफ्नो धर्म र सँस्कृतिलाई एकइञ्च पनि तलमाथि नगरिकनै देश विकास मात्रै गरेका छैनन् संसारका हरेक खोज र अनुसन्धानको उपयोग गरेका छन् । त्यहाँका राज्यसञ्चालकहरु, जनताहरु कसैमा पनि आफ्नो धर्मसँस्कृति, भाषा र सभ्यता प्रति न त कुनै दुराग्रह छ न कुनै हिनताबोध नै छ ।

दुर्भाग्य भन्नुपर्छ नेपाल मात्रै यस्तो देश भएको छ जहाँका नेताहरु, राजनीतिक दल र यिनका नीति सिद्धान्तहरु, राज्यसञ्चालकहरु, ब्यूरोक्रेटहरु, पत्रकारहरु, स्तम्भकारहरु, साहित्यकारहरु कुनै न कुनै रुपमा आफ्नो देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकताको उछितो काढ्नमा व्यस्त देखिएका छन् । मौका मिलेसम्म आफ्नो मौलिकतालाई गाली गर्न, यसप्रति नकारात्मक कुरा ओकल्न र यसलाई सिध्याउन कुनै इन्तु किन्तु परन्तु गर्न चाहँदैनन् । नेपाली मौलिकतालाई गाली गरेर यहाँको भाषालाई पाखण्डी भनेर या सभ्यतालाई पुरातन, अविकसित, विकासको बाधक आदि इत्यादिको उपमा दिएर आइएनजिओको भतेर खान देखि क्रान्तिकारी र प्रगतिशील भएको तक्मा र प्रमाण बुझ्न कत्तिपनि हिच्किचाउँदैनन् । प्रचण्ड मार्काको पछिल्लो अभिव्यक्ति पनि यसैको सेरोफेरोमा नै आएको हो ।

नेपाल वैदिक सनातन सभ्यताको केन्द्र भएको कुरा बिभिन्न विद्धानहरु, अनुसन्धानकर्ताहरुले प्रष्ट्याई सकेका छन् । सनातन सभ्यताका धाराहरु बगेको यो पुण्यभुमिमा यहाँको सभ्यतालाई मास्न विगत २५० बर्ष देखि नै यूरोपियन सभ्यताले ठूलो लगानी गरेको कुरा पछिल्ला दूई–तीन दशकमा बल्ल जनताको स्तरमा बुझ्ने गरि देखिन थालेको हो । उसो त १४ औं शताब्दीमाबंगालको शासक सम्सुद्दिनको नेपाली सभ्यता माथिको आक्रमण देखि पछिल्लो समय क्रान्तिका नाममा नेपालको मुलकुल पूजास्थानहरु माथि क्रुसेडहरुको आक्रमण नेपाली सभ्यता मास्ने श्रंखलाहरु नै हुन् ।

सभ्यतालाई मानव उत्पति र विकासक्रमसँग जोड्ने गरिन्छ । मानव जीवनको विकासक्रमसँगै उनीहरुले अपनाएको र विकास गरेको भौतिक वा अभौतिक प्रगतिसँग पनि सभ्यता जोडिन्छ । मानव विकास भाषा, धर्मसँस्कृति, स्थान बिशेष आदिले तत्तत् स्थानको विकासक्रमको सभ्यतागत परिचय निर्माण गर्दै जान्छ । मानवले अपनाएका धर्म अनुसार पनि सँस्कृति निर्माण हुने र एक प्रकारको सभ्यताको निर्माण हुने गर्दछ । कतिपय अवस्थामा शासकहरुको शासनका आधारमा पनि सभ्यता निर्माण हुने गर्दछ । यसैले सभ्यतालाई भूगोलका आधारमा, शासकका आधारमा, युगको आधारमा, देश जातजातिका आधारमा र धर्मसँस्कृतिका आधारमा जान्ने गरिन्छ । संसारमा रहेका बिभिन्न सभ्यता मध्ये मानव सभ्यताको मुख्य आधारस्तम्भ भनेको नै सनातन सभ्यता हो । सनातन भन्ने कुरालाई प्राकृतिक शाश्वत जीवन जिउने तरिकाको रुपमा व्याख्या गर्न सकिन्छ । जुन कुरा अनन्त र सत्य छ त्यसलाई सनातन भनिन्छ । यस्तो सभ्यताको अर्को उदाहरण हिमवतखण्ड बाहेक अन्यत्र भेटिँदैन ।
प्छिल्लो समय सभ्यताका परिभाषा, व्याख्यालाई नितान्त भौतिकतावादसित लगेर गाँस्ने गरिएको पाइन्छ । भौतिक प्रगति र विकासलाई मात्रै सभ्यता मान्ने माक्र्सवादी चिन्तनलेसभ्यताको अर्थमा धर्म, विवेक, सहृदयता, आध्यात्मिक चिन्तनर नैतिकतालाई मान्दैन । भौतिकवाद र उपभोक्तावाद वर्तमान विश्व र मानवजातिको नयाँ सभ्यता भएको छ । जसले मानवमा दया, माया, करुणा, स्नेह, प्रेमभाव, सहृदयता, प्राकृतिक संरक्षण आदिको नास गरेको छ । आफूले पाएपछि संसारले पाएको छ, आफूले खाएपछि संसारले खाएको छ भन्ने भावना राख्ने यूरोपियन प्रबृतिले विकास गर्ने सभ्यता सनातन सभ्यताको बिरुद्ध आएको सभ्यता हो भन्ने कुरामा कुनै दुविधा छैन् ।

नेपालमा पछिल्ला केहि दशकहरुमा नेपाली धर्मसँस्कृति, भाषा सभ्यता र नेपाली मौलिकता बिरुद्धका कामहरु नीतिगत तहबाटै भैरहेका छन् । नेपालीको जीवनशैलीमा शाश्वत सत्य भन्दा पर कृत्रिमता बढेको छ । सहृदयताको ग्रामीण सभ्यतालाई आधुनिकताको शहरीया सभ्यताले बिस्थापन गरिरहेको छ । प्रकृतिसँग तादम्यता सहितको सभ्यताबाट नेपालीहरुलाई बिकर्षण गराइएको छ । राज्यले शिक्षा र भाषागत नीतिमा नै नेपालीत्वलाई कुण्ठित गर्ने काम गरेको छ ।
आधुनिक सभ्यताको केन्द्र, विकासको मापदण्ड, पढेलेखेका र देशदेशान्तर बुझेका भनिएकाहरुको बास शहरमा हुनेगर्छ भन्ने भाष्य निर्माण गर्न यहाँका नीति निर्माणमा हस्तक्षेप गरिएको छ । शहरहरु निर्माण गर्नु, आधुनिक सुविधामा रमाउनु, जे जसरी भएपनि धनसम्पत्ति आर्जन गर्नु नै सभ्य हुनु हो भन्ने भाष्य निर्माण गरिएको छ ।

नागरिकमा, राज्यसञ्चालकमा नैतिकता छ छैन, कर्तव्यपलायनता छ छैन त्यसको भन्दा चिन्ता कतिवटा शहर बनाउने कतिवटा ‘स्मार्ट सिटि’ बनाउने भन्नेमा छ ।जबजब प्राकृतिक विपदले शहरीया भौतिक र उपभोक्तावादी सभ्यताको अलिशान घर हल्लिन्छ बाँच्न पनि शाश्वत सभ्यतानै चाहिने रहेछ भन्ने हेक्का राख्न छोडिएको छ ।

मानवलाई चाहिने भनेको जीउज्यान हो । स्वास्थ्य हो । बिहान बेलुकीको गास हो । रातबिताउने बास हो । तन ढाक्ने कपडा हो । प्रकृतिले दिएको स्वच्छ हवा र पानी हो । निश्चल हाँसो हो । जिउँदाको जन्ती र मर्दाको मलामी हो । भेटघाटमा सञ्चोबिसञ्चो हो । आफन्तसँगको मेल हो । कपटबीनाको मनोरञ्जनात्मक खेल हो । मानव जीवनका लागि आवश्यक सम्पूर्ण जीवजगतसँगको सहृदयता र प्रेम हो । यो सब सनातन सभ्यताले सिकाएको मूल पाठ हो ।

मानिसलाई आफूभन्दा प्यारो लाग्ने उसको मूल कुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकता नै हो । यसैले दास क्यापिटलले जन्माए हुर्काएको भौतिकवादको सभ्यताले जब आफ्नो परिचय नै दास बनाउन थाल्यो आफ्नो सभ्यता बचाउन दास क्यापिटलका दासहरु पनि जुर्मुराएर उठेका छन् । भौतिकवादी बर्लीनका पर्खालहरु ढालेर मौलिकतावादका मैदानहरु तयार गरिएका छन् । चीनीयाँ सभ्यतालाई निषेध गर्ने क्रान्तिका पान्नाहरु च्यातेर ताओ र कन्फ्यूसियस जस्तामौलिक सभ्यताका टुक्राहरु जोडिँदैछन् ।
सत्य सधैं शाश्वत नै हुन्छ । यसलाई आक्रमण गर्ने र केहि दशक, केहि सदी भ्रामक प्रचार गरेर मिथ्या बनाउने दुस्साहसहरु हुने गर्छन् । तर सत्य न मिथ्या हुन्छ न छोपिन्छ । सनातन सभ्यता यस्तै शाश्वत सत्य हो । नेपाली मौलिकताको आधार भनेको पनि यहि हो । नेपालको सभ्यतामा शासकहरुको शासनको आधारको सभ्यता पाइन्छ । भौगोलिक बसोबास, जातजातिको सभ्यता पाइन्छ, नदीका परिचयका आधारको सभ्यता पाइन्छ । बिभिन्न भाषा र सँस्कृतिको आधारको सभ्यता पाइन्छ । यहाँको मूलकुल धर्म पूजा पद्धतिका आधारमा विकास भएको सभ्यता पाइन्छ । यस्तो बुहसभ्यताको संगम रहेको नेपाली मौलिक सभ्यतामा न त भ्याटिकन सभ्यताको स्थान जरुरी छ न मदिना र यरुशेलमको सभ्यताको गन्ध जरुरी छ । नेपालको शाश्वत सनातन सभ्यताको सहृदयतामा मात्रै अन्य सभ्यताले परिचय पाउने हुँदा नेपाली मौलिक सभ्यता र सँस्कृतिको रक्षा गरौ.।

प्रतिक्रिया

प्रतिक्रिया