सँस्कृत दिवस र हाम्रो सँस्कृति

आज श्रावण शुक्ल पूर्णिमाको दिन । आजको दिनलाई जनैपूर्णिमा, ऋषितर्पणी पूर्णिमा, राखी, रक्षाबन्धन (पूर्णिमा) भन्ने गरिन्छ । आजको दिनलाई नेपाल भारत तथा सनातन सँस्कृतिका मानिसहरुको बसोबास रहेको ठाउँहरुमा बिभिन्न तरिकाले मनाउने गरिन्छ । यो दिन सनातन धर्ममा एउटा महत्वपूर्ण पर्व हो । यो पर्व सनातनभित्रका सबैले आ आफ्नो तरिकाले मनाउने गर्छन् । भारतमा समाजिक रुपमा सबै सनातनीहरुले दिदीले भाईलाई राखी बाँधी दिएर मनाउने चलन छ । नेपालमा पनि यसलाई यसैगरि मनाउने प्रचलन आएको छ । वैदिक रुपमा यो पर्व ऋषि मन्त्रसँग सम्बन्धित रहेकोले यसदिन जनैधारण गर्नेहरुले वैदिक परम्परा अनुसार मन्त्रद्धारा जनै मन्तर्ने, र जनै फेर्ने, ब्रत बस्ने गर्दछन् । आफ्ना दिक्षा दिने गुरुका हातबाट जनै धारण गर्ने, रक्षा बन्धन बाँध्ने, आफ्ना पुरोहित, ज्वाइँ, भान्जाहरुबाट रक्षाबन्धन बाँध्ने गरिन्छ ।

जनैपूर्णिमालाई राखीको रुपमा मनाउन थालिएको ठ्याक्कै इतिहास छैन । कसैले यसलाई द्धापर युगमा भगवान श्रीकृष्णले राजा शिशुपालको बध गर्दा सुदर्शन चक्रले औंलामा घाउ भैं रगत बगेको र सो घाउमा द्रौपतिले आफ्नो साडी च्यातेर पट्टी बाँधेपछि एउटा बैनीले भाईलाई रक्षा बन्धन बाँधेको भनि यसको शरुआत भएको मानिन्छ । भारतीय उपमहादीपमा भने रक्षा बन्धन मनाउनका अन्य थुप्रै उदाहरणहरु रहेका छन् । रानी कर्णावती र सम्राट हुमायूँ, अलेक्जेण्डर र भारतीय राजा पुरु आदिका उदाहरणहरु पनि रहेका छन् । अर्को कथ्य रविन्द्रनाथ टैगोरले सन् १९०५ मा बंगाल बिभाजनका बेला सामूहिक भाइचाराका लागि हिन्दू मुस्लिममा यो पर्व मनाएको र त्यसपछि यो पर्वले ब्यापकता लिएको भन्ने पश्चिमाहरुले लेखेका छन् ।
यी त जनै पूर्णिमाका समाजिक र साँस्कृतिक प्रसंगहरु मात्रै हुन । वैदिक हिसाबले यो पूर्णिमाको अलग्गै महत्व रहेको छ । आजैका दिन मन्त्रद्रष्टा ऋषिहरुले मन्त्रको शुरुआत गरेको मानिन्छ । पूर्वीय सँस्कृति ज्ञान परम्पराको सँस्कृति हो । यसको शुरुआत गर्ने ऋषिहरुको सम्मानमा आजको दिनलाई वहाँहरुले देखाएको पदचिन्हमा हिँड्न सिकाउने परम्परा पनि आजको दिनलाई मानिन्छ । ऋषिहरुको ज्ञानमन्त्रलाई स्मरण गर्ने र त्यसलाई पुस्ताहस्तान्तरण गर्दै जाने क्रमको बार्षिक दिवसपनि आजैको दिनलाई मानिन्छ ।

संसारको सबैभन्दा पुरानो र सबैभन्दा सम्पन्न भाषा सँस्कृत हो । यसलाई वेदवाणी भनिन्छ । देववाणी पनि भनिन्छ । सँस्कृत संसारका धेरै भाषाहरुको श्रोत हो । भारतीय उपमहादीपमा र दक्षिणपूर्वी एशियाका देशहरुमा बोलिने भाषाहरुको जननी भाषा नै सँस्कृत हो । देवनागरी लिपिमा लेखिने भाषाहरुको त सँस्कृतसँग प्रत्यक्ष सम्बन्ध नै रहेको छ । वेद सँस्कृतमा छ । हाम्रा मात्रै नभएर वेदपछिका बौद्ध, जैन धमैशास्त्रहरु सँस्कृतमा लेखिएका छन् । वेदका लेखक मर्हिषि वेदव्यासहुनुहुन्छ । यसैले आजको दिन ऋषि, वेद र सँस्कृत प्रति सर्मपित दिन हो ।

सँस्कत एउटा भाषा मात्रै होइन । ज्ञानकोश्रोतहो । सबै प्राचिनतम् ज्ञानको भण्डार सँस्कृतभाषा मै लेखिएको छ । शब्द, वाक्य देखि व्याकरण, साहित्य, रचना, संरचना, अर्थापन देखि शक्तिको उपासना, साधना र मोक्ष आदिको मार्ग पनि सँस्कृतले नै देखाएको छ । मानव कल्याण र ‘वसुधैव कुटुम्बकम’ को सँस्कृति सँस्कृतबाटै आएको हो ।

प्राचिनतमु भाषा सँस्कृतको महत्वको बारेमा चर्चा गर्ने, उत्सव मनाउने र सँस्कृतको बारेमा अरुलाई सिकाउने दिनको रुपमा जनैपूर्णिमालाई मानिन्छ । यो मितिको हिसाबले नभै तिथिको हिसाबले मनाइन्छ । भारतमा आजैको दिनलाई सन् १९६९ मा त्यहाँको सरकारले सँस्कृतको महत्वलाई बुझेर राष्ट्रियस्तरमा सँस्कृत दिवस मनाउन शुरु गरेको हो । तर ऋषिभूमि, तपोभूमि, ज्ञानभूमि नेपाल जो वेदभूमि पनि हो र महर्षि वेदव्यासको जन्मभूमि पनि हो यहाँ सँस्कृतलाई बाहुन मात्रको भाषा, शोषकको भाषा, विभेदको भाषा भन्ने भाष्य निर्माण गर्न आतंक मचाइयो । सँस्कृतका पुस्तक च्यात्ने, सँस्कृतको ज्ञान भएका गुरुहरुलाई काट्ने मार्ने रुखमा झुण्ड्याउने गरियो । सँस्कृतलाई पाठय्क्रम र विद्यालयबाट नै हटाइयो । आजपनि सँस्कृतको कुरा उठ्यो कि कतिपयलाई रिस उठ्छ । आज सँस्कृत जननी भाषा भएको नेपाली भाषाका साहित्यका दोकान चौराहहरुमा कहिँ कतै सँस्कृतको चर्चा हुँदैन । सँस्कृतको महत्वको भन्दा पनि यौन र हिंसालाई साहित्य मान्ने साहित्य संस्थाहरुको बिगबिगी चलिरहेको छ ।

हाम्रो ज्ञानको श्रोत हामीले नै बचाएर राख्ने हो । आफ्नो जरोकिलो आफैले दह्रो बनाउने हो । हुन त ज्ञानको कुनै सीमा हुँदैन तर आज ज्ञान, आविष्कार, अन्वेशण, अनुसन्धानलाई पश्चिमाहरुले आफ्नो ‘प्याटेन्ट राइट्स’ बनाएर आफ्नो ज्ञानको सुरक्षा गरिहरेका छन् । हामीहरु भने हाम्रो आफ्नो ज्ञानको श्रोतलाई गलहत्याएर आफ्नै जरो काटिरहेका छौं । हामीले आफ्नो ज्ञानको अस्तित्वलाई जिवन्त राख्न पनि सँस्कृत दिवस मनाउन र यसको प्रचार प्रसार गर्न जरुरी छ । यसको प्रचार आन्तरिक रुपमा मात्रै होइन संसारलाई बताउने गरि यो हाम्रो ज्ञानको श्रोत हो भन्ने जानकारी गराउन जरुरी देखेर नै विद्धान व्यक्तित्व डा. निर्मलमणि अधिकारी ज्यूबाट संकल्पित जरोकिलो प्रतिष्ठानद्धारा २०७५ सालबाट विश्व सँस्कृत दिवसको रुपमा मनाउन शुरु गरिएको हो । गतबर्ष चौथो विश्व सँस्कृत दिवससम्म आइपुग्दा नेपालमा मात्रै नभएर बेलायत, जर्मनी, अमेरिका, इण्डोनेशिया, जापान सम्म पनि यो दिवस मनाइएको जानकारी आयो । यसबर्ष पनि विदेशमा समेत यो दिवस मनाउने तयारी भएको जानकारी छ ।

सँस्कृतको मूलभूमिमा यसको महत्वलाई बुझ्ने प्रयास राज्यस्तरबाट हुन सकेको छैन, तर नेपाल भारत बाहेकका विश्वका ६७ वटा विश्वविद्यालयहरुमा सँस्कृतको पढाइ हुन्छ । जहाँ न ब्राह्मण छन् न सनातन छ, न सनातनी छन् । आधुनिक विज्ञान, प्रविधिको मुख्य भूमि मानिने जर्मनीमा मात्रै १४ वटा विश्वविद्यालयहरुमा सँस्कृतको पढाइ हुने गरेको छ । जहाँबाट ३५ हजार विद्यार्थीले सँस्कृत पढिसकेका छन् । बेलायत, इटाली, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, क्यानडामा समेत सँस्कृतको पढाइ हुने गरेको कुरा यसबिषयमा अनुसन्धान गरेका आद्येता टिकाराम यात्री ज्यूले आफ्नो लेख मार्फत सप्रमाण प्रष्ट पार्नु भएको छ ।
नेपालमा सँस्कृत देखि सबैभन्दा बढि घृणा गर्नेभनेका त्यहि जर्मनीमा जन्मेका माक्र्सको भौतिकवादी दर्शन र वर्गसँघर्षलाई आर्दश मान्ने कम्यूनिष्टहरु र समाजमा कित्ताकाट र घृणावादको बिजारोपण गर्ने आफैले आफैलाई प्रगतिशील मान्ने बुद्धिजिवी र साहित्कारहरु नै हुन । अब उनीहरुको आर्दशको देश जर्मन, बेलायत, इटलीतिर किन सँस्कृतलाई महत्व दिइन्छ र पढाइन्छ ? भन्ने कुराको जवाफ उनीहरुसँग लिन जरुरी छ । किन जर्मनीको रेडियोमा सँस्कृतमा बुलेटिन पढिन्छ ? त्यो पनि यी माक्र्सवादी र प्रगतिशील भनिनेहरुलाई सोध्न जरुरी छ । किन सँस्कृत भाषालाई अमुक जातसँग या धर्मसँस्कृतिसँग जोडर आतंक मच्चाइयो? त्यसको यथोचित जवाफ पक्कै पनि यिनीहरुसँग छैन या दिनै चाहँदैनन् ।
सँस्कृत भाषा संसारका सबै भाषाहरु भन्दा पुरानो भाषा हो भन्ने विश्वले मानिसकेको छ । संसारका धेरै भाषाहरुका लिपि फरक छन् तर शब्द संरचना, अर्थहरुमा सँस्कृत पाइन्छ । आधुनिक विज्ञानले समेत सँस्कृतलाई वैज्ञानिक भाषाको रुपमा स्वीकार गरेको कुरा सँस्कृतका बिषयमा विश्वका ठूला, नाम चलेका, नेपाल लगायत विश्वका अधिकांशले त्यस्ता विश्वविद्यालयहरुमा पढ्न इच्छा जाहेर गर्ने ठाउँमा समेत सँस्कृत पढाइनु, खोज अनुसन्धान गरिनुले पनि सँस्कृत संसारको सम्पन्न, वैभवशाली, वैज्ञानिक भाषा हो भन्न सकिन्छ । यसलाई आफ्नै मूलभूमिमा संरक्षण गर्न, अनुसन्धान गर्न, नयाँपुस्तामा प्रचार प्रसार गर्न, सिक्नसिकाउन नसक्नु भनेको हाम्रो आफ्नो सम्पत्ति, ज्ञान परम्परालाई निमिट्यान्न पार्न खोज्नु हो । नेपालको सँस्कृति, नेपाली भाषासाहित्य, नेपालीपन, नेपालीत्व र नेपाली मौलिकतालाई भित्रैदेखि माया गर्नेले संँस्कृत पढ्नु पढाउनु र यो मेरो हो, हाम्रो हो भन्नुमा लज्जाबोध गर्नुपर्ने कुनै कारण छैन ।
सँस्कृत मास्न खोजेर मासिने भाषा पनि होइन । यो कुनै आतंक वा हत्याहिंसा आगजनीबाट मासिने भए उहिल्यै मासिने थियो । यो त पूर्वीय दर्शनको अभिन्न सँस्कृति हो । हो जनबोलिको रुपमा मासिएला । केहि पुस्तकहरु च्यातिएलान् । कतिपय आतातायीहरुको केहि समय मनोमानी चल्ला ! तर हाम्रो आफ्नो मौलिकता, आफ्नो सँस्कृति, आफ्नो धर्म, आफ्नो परम्परा रहेसम्म यो मासिँदैन । अप्ठ्यारोमा त हिजो तक्षशीला नालन्दा जस्ता विश्वविद्यालयहरु नष्ट गरेर त्यसमा आगो लगाएर पनि मास्न खोजिएको होइन र ? तर त्यतिसम्म गर्दा पनि सँस्कृत मास्न सकेनन् । किन कि यसको जरो कुनै वर्गसँघर्ष वा भौतिकवादले उम्रेको थिएन । त्यसैले पदार्थ झैं यो नासिएन र भोलिपनि नासिँदैन । ज्ञान मासिन युग मासिनु पर्छ, सृष्टि मासिनुुपर्छ । यो संसार मासिनुपर्छ । हाम्रो सँस्कृतिको, हाम्रो ज्ञानको श्रोत सँस्कृतलाई जोगाएर यसको स्वामित्व नेपालले लिन कुनैपनि कारणले हिच्किचाउन पर्ने छैन? जसको सम्पत्ति हो, जसको खेतको बाली हो त्यसमा अधिकार जमाउन र मेरो भन्न नपाउने पनि हुन्छ र ? अब कत्तिपनि ढिला नगरौं । आऔं सबै नेपालीले सँस्कृतलाई संरक्षण संवद्र्धन गरौं । विश्व संस्कृत दिवसलाई नेपालबाटै स्थापित गर्दै संसारलाई चिनाऔं । आफ्नो सँस्कृतिमा गौरव गर्न सिकौं । सबैलाई पाँचौं विश्व सँस्कृत दिवसको हार्दिक शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया