पढाइको क्रममा छोरीको आवासको बन्दोवस्त गर्दा ‘एकजना मिल्ने साथी भएको भए सँगै बस्न हुन्थ्यो है छोरी’ भनेर मैले छोरीसँग भलाकुसारी गरें । ‘पर्दैन बाबा, म एक्लै बसिहाल्छु’ भनिन् छोरीले । ‘एक्लै बस्दा कहिलेकाही गारोसाँगुरो, विसञ्चो भएको अवस्थामा सहयोग हुन्छ त ?’ भन्ने कुरा गरेर छोरीलाई फेरि कन्भिन्स गर्न खोज्दा छोरीको जवाफ थियो, ‘साथी भनेजस्तै राम्रो मिल्यो भने त ठीकै हो अन्यथा साथीबाटै झन् बढि दुःख पाइन्छ । कक्षा एघार बारहमा पढ्दा एउटै कोठामा बस्ने मन मिल्ने भनिएका साथीहरुले कति दुःख दिए ! कति सामान हरायो ! कति पैसा हरायो ! त्यो भन्दा त बरु एक्लै बस्नु धेरै बेस् । गारोसाँगुरो र असजिलो हुँदा जतिबेला पनि हजुरहरुसँग कुरा गरेर शेयर गर्न सकिन्छ । भिडियोकल गरेर एक्लो हुँदाको नियास्रो मेट्न सकिन्छ । त्यसैले मन मिल्ने आपूmजस्तै साथी भनेर चिन्न सके त ठिकै हो । मानिसहरुको भीड र मेलामा मान्छेचिन्ने काम गारो रहेछ । त्यसैले बरु एक्लै बस्नु ठीक छ बाबा ।’

छोरीका कुरा सुनेपछि मैले जीवनका विभिन्न कालखण्डमा भेट भएका मानिस र तिनै मानिस सहभागी भएका विभिन्न मेला र भेलाहरुको फ्ल्यास ब्याकहरु मष्तिष्कको सक्रीय खण्डमा देखा अनायासै देखा परिरहेका छन् ।

बुद्ध इयरको जहाजमा उड्दै गर्दा आकाशमा मान्छेहरुको मेला देखियो । मेलामा उपस्थित भएका सवै आ–आफ्नो सीटमा बसिरहेका थिए । सवैका आ–आफ्ना गन्तव्यहरु थिए । सवैका आ–आफ्ना सोचहरु थिए । उद्देश्यहरु पनि सवैका आ–आफ्नै थिए । मानिसहरु कतै–कतै गुनगुन गरेको आवाज आइरहेको थियो । अन्यथा मानिसहरु चुपचाप थिए । यस्तो लागिरहेको थियो कि आकाशमा आयोजना गरिएको मेलामा बोल्न नसक्ने मानिसहरुलाई मात्र आमन्त्रण गरिएको छ । मेलामा यताउता हिडिरहेका दुईजना इयर होष्टेजले मेला भर्दाको वखत अलिकति बोले । मेला सकिने बेला पनि अलिकता बोले । त्यसपछि त मास्क लगाउनुहोस् भन्ने बेला पनि इयरहोष्टेजहरुले इशाराले बोल्ने काम गरिरहेको थिए । आफूसँगै अर्को सीटमा टास्सिएर बसेको मानिससँग पनि बोल्ने काम भइरहेको थिएन मानिसहरुको ।
यसरी देख्दादेख्दै सँगै टाँस्सिएर बसेको मानिससँग पनि नाम, थर, घरठेगाना आदि सोध्दै भलाकुसारी गर्न समेत जरुरी नठान्ने समय आइसकेछ ।

आकाशका आयोजना गरिएको मान्छेको मेला धर्तिमा आयोजना हुने मान्छेहरुको मेला भन्दा धेरै हिसावले फरक थियो । धर्तिमा आयोजना हुने विभिन्न मेलाहरुमा मानिस एकअर्कोसँग भलाकुसारी गरिरहेका हुन्छन् । मेलाभित्र पनि परिचित मानिसहरुको झुण्ड हुन्छ । परिचित मानिसहरुले मेलाको त्यो अवसरलाई मन र मुटु साट्ने किसिमले उपयोग गरिरहेका हुन्छन् । मानवीय सम्बन्ध विस्तारका लागि धर्तिमा आयोजना हुने त्यस्ता मेलाहरुले अद्वितीय भूमिका निर्वाह गरिरहेका हुन्छन् जव कि आकाशमा आयोजना हुने मेलामा यस्तो अवसर कसैले पनि सदुपयोगगरिरहेका थिएनन् । यस किसिमको अवसर प्राप्त गर्ने उद्देश्य समेत कसैको थिएन । आकाशको मेलामा सहभागी मानिसहरु विभिन्न भूगोल, प्रदेश र क्षेत्रका त थिए नै । यिनीहरु सँगै बस्दा पनि नजीक हुन सकेनन् । नजीक हुन आवश्यक पनि ठानेनन् । यो पङितकारलाई यस्तो आभास भइरहेको थियो कि मानिसहरु नजिकै टाँस्सिएर बसिरहेको भए तापनि सवैले आ–आफ्नै प्रदेश र आ–आफ्नै भूगोलमा बसेको अनुभूत गरिरहेका थिए ।

आकाशमा मान्छेहरुको त्यो मौन मेलामा सहभागी भइरहँदा मलाई भने धर्ति र त्यसमा पनि गाउटोलमा हुने मेला र जात्राहरुको झझल्को आइरहेको थियो ।

गाउँवस्तीमा अहिले पनि मान्छेहरुको भेला भएर मेला लाग्ने गर्दछ । कतिपय मेलाका तिथिमितिहरु पूर्व निर्धारित हुन्छन् भने कतिपय मेलाका तिथिमितिहरु विशेष विषयका लागि कहिलेकाही आवश्यकताको आधारमा निर्धारण गरिन्छन् । तथापि त्यस्ता मेलाहरुको आयोजना मुख्य गरी तीन उद्देश्यबाट गरिएको हुन्छ ः पहिलो कुरा, आफन्तहरुसँगको चिनजान र परिचयको विस्तार एवम् सुदृढिकरण । दोश्रो, भनेको स्थानीय उत्पादनको बेचविखन र प्रचारप्रसार र तेश्रो भनेको स्थानीय कला, संस्कृति र रितिरिवाजहरुको संरक्षण र प्रवद्र्धन । यी उद्देश्यहरुमध्ये धेरै मानिसहरुको मेलामा सहभागी हुनेहरुको उद्देश्य भनेको पहिलो हुने गर्दछ, चिनजानको विस्तार र सुदृढिकरण । त्यस्ता मेलाहरुमा मानिसहरु चिनजान र सम्बन्ध विस्तारका निम्ति कति समस्यालाई थाँति राखेर आउने गर्दछन् । मैले प्रस्तुत गरेको आकाशको मेलामा भने मानिसहरुले परिचय र सम्बन्ध विस्तार गर्ने अवसर पाउदा समेत त्यसलाई उपयोग गर्न आवश्यक ठानेनन् ।

पहिले धर्तिमा आयोजना हुने मेलाहरुमा मानिसको मात्र होइन, मानिसका मनहरुको मेला हुन्थ्यो, मनहरुको मिल्ति हुन्थ्यो र मिल्ति मनहरुले एउटा छुट्टै प्रकारको आनन्द र उमङ्गको उत्पादन गर्दथे । हिजोआजका आकाशे मेलाहरुमा मानिसहरुको मेला लागे पनि मनहरुको मेला भने लाग्दैन । त्यसैले मानिस टास्सिएर बसेपनि टाँस्सिएर बसेको मानिससँग भलाकुसारी गर्न आवश्यक ठानिदैन । किनभने मनहरुको मेला होइन त्यो । मानिसका तनहरुको मात्रै हो त्यो मेला । त्यसैले मनहरुको मिल्ति विनाका मेलाहरु सुख्खा जस्ता लाग्दा रहेछन् । एकघण्टाको मेला पनि दश घण्टाको जस्तो अनुभूत हुँदो रहेछ । किनभने सँगै बसेका मानिसहरुको बीचमा हार्दिकता छैन । न त कहाँ भेटूँ र कहाँ देखूँ भन्ने कौतुहलता र उकुसमुकश भएर नै मेलामा भेला भएका हुन् तिनीहरु । मेलामा भेला हुनुका आ–आफ्नै उद्देश्य र स्वार्थहरु थिए । विभिन्न स्वार्थसिद्धि गर्ने क्रममा दौडधूप गर्दागर्दै आयोजना भएको मेला हो यो । फगत मेला, मिलन विनाको मेला, मिल्ति विनाको मेला र मैत्रीभाव बिनाको मेला ।

मान्छेलाई आज परिवेशले एक्लो बनाएको छ, मेरी छोरीलाई जस्तै । मान्छेले आज आफूलाई एक्लै बस्नु र बाँच्नुमा आपूmलाई सुविधामूलक महसुस गर्न थालेको छ मेरी छोरीले जस्तै । मलाई गाँउमा जन्मदा हुर्कदाको पूरापूर याद छ, गाउँका हरेक घरमा मानिसहरुसँग दोहोरो परिचय र चिनजान हुन्थ्यो । भूराभूरीदेखि बूढाबूढीसम्म सवैले सवैलाई चिन्ने गर्दथे । आज समय फेरिएको छ । मानिसले टोलछिमेकका मानिसलाई त के, आफै बस्ने घरको अर्को कोठामा बस्ने मानिसलाई चिन्न छोडेको छ । पहिले मानिसहरुको बीचको भौतिक दूरी बढि भएपनि मनको दूरी कम थियो । अहिले मानिसहरुको भौतिक दूरी कम भएपनि मनको दूरी बढेको छ । मानिसले पहिलो चिनजानमै विश्वास गर्ने स्थिति छैन । किनभने त्यसरी विश्वास गर्ने बानी भएका मानिसहरुले खानु हण्डर खाएका छन् मेरी छोरीले जस्तै । त्यसैले पनि अहिले क्रमशः नितान्त एक्लो हुन थालेको छ मानिस । साथीसँग सँगै बस्ने र सँगै रमाउने जिजिविशा मनभरि भएर पनि उसले विश्वास गरेर कसैलाई पनि मन दिन सकेको छैन ।

मानिस वास्तविक मानिससँग भौतिक दूरीको हिसावले नजीक भएर पनि अवास्तविक र अपरिचित मानिसहरुसँग भने मनको हिसावले नजीक भइरहेको छ । गाँउटोल र छिमेकमा देखिएको मान्छेलाई होइन कि ल्यापटप र मोवाइलको स्क्रीनमा देखिने मानिसलाई मानिसले आफ्नो सम्झिन थालेको छ ।वास्तविक जीवनमा कसैसँग पनि मिल्न नसक्ने स्वभावको मानिसका फेसबुकमा हजारौं साथी र उसलाई पछ्याउनेहरु छन् । त्यही मानिसलाई मानिसहरु आफन्त सम्झिन्छन् जो सँग भौतिक रुपमा देखभेट नै भएको छैन । फोटो अर्कै छ, मानिस अर्कै छ । मानिसले मानिसलाई चिनेर होइन कि फोटोलाई चिनेर आफ्नो बनाइरहेको छ । यहाँसम्म कि कतिपयको विहावारीको टुङ्गो समेत यसरी नै लाग्ने गर्दछ। अन्ततः वास्तविक जीवनहरुको भेट हुँदा भने तिनीहरुलाई ‘चोक्टा खान गएकी बूढी झोलमा डुवेर मरी’ भन्ने कुराको महसुस हुन्छ । यसरी हुने गर्दछ जीवनमा विविध हण्डर, पीडा, विछोड र कहालीलाग्दा कथाहरुको सुरुवात ।

मानिसले अहिले आफूलाई सवैभन्दा बाठो र बुद्धिमान सम्झिन थालेको छ । उसको भावना र मनलाई समेत उसको बुद्धिले झाँटेको छ । जीवनमा नाफा र नोक्सानका मात्र बहस गर्दछ मानिस । मानिसको यो बानीले मानिस नाफामा त होला तथापि मित्रताको हिसावले मानिसको यो पारा सधैं घाटामा हुने गर्दछ । भौतिक सम्पत्ति कमाउने सवालमा त बुद्धिको यो पाराले ठिकै गर्ला तर मानिससँगका सुमधुर सम्बन्धहरु विस्तार गर्ने सवालमा मानिसको यो पारा भने खतरनाक नै हुन्छ । त्यसैले मानिस मानिसहरुको भीड र मेलामा एक्लो हुने होइन भने मनलाई उदात्त बनाउन सक्नुपर्दछ । सम्बन्धको सुरुवात गर्दा मैले योबाट के पाउन सक्छु भनेर होइन कि मैले यसलाई के दिन सक्छु भन्ने भावनाका साथ पाइला चाल्नु पर्ने हुन्छ । दिमागले मानिसको बीचमा सूचनाको सम्प्रेषण त गर्छ तर मानिसको मन परिवर्तन गरी हार्दिकताको विकास गर्न भने मन र मुटुबाट सम्बन्धको आरम्भ गर्नुपर्दछ । अन्ततः सुखशान्ति पनि त्यसैबाट मिल्ने गर्दछ । अरुबाट प्राप्त गर्ने ध्येयले मात्र सम्बन्धको सुरुवात गरियो भने त्यो सम्बन्धले टाढाको त के परिवारको सदस्यहरुको बीचमा समेत अप्रिय स्थितिको सिर्जना गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया