‘जलन घटनामा केयर भए क्षति कम हुन्छ’

बाँकेका आठ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापन तालिम

जलनका घटनामा प्रारम्भिक अवस्थामै उचित केयर भए क्षति कम हुने स्वास्थ्यकर्मी तथा उक्त क्षेत्रमा कार्यरतहरुले बताएका छन् । नेपालगन्जमा अग्नि हिंसा पीडित संस्था विभिएस नेपालले शनिबार आयोजना गरेको जलन व्यवस्थापन सम्बन्धी दुई दिने तालिममा प्रशिक्षक तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुले जलन व्यवस्थापनलाई गम्भीरतापूर्वक लिएर उपचारमा लागे मानवीय क्षति कम हुने, अंगभंग हुने क्रम कम हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै विभिएस नेपालका कार्यकारी निर्देशक प्रतिक्षा गिरीले जलन पीडितको उपचार लामो प्रक्रिया भएकाले खर्चिलो रहेको बताइन् । उनले संस्थाले देशभरका १३ वटा अस्पतालमा जलन पीडितको उपचारमा सघाइरहेको उल्लेख गर्दै औषधी, अपरेशन, थेरापी, काउन्सिलिङ्ग, जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

कार्यकारी निर्देशक गिरीले देशभरका जलन पीडितलाई सहयोग गर्दै आएको उल्लेख गर्दै राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएर स्वास्थ्य सुविधा र पुनस्र्थापनाका कार्यक्रम अगाडि बढाउनु पर्ने बताइन् । ‘सरकारले जलन पीडितलाई प्राथमिकतामा राख्नुपर्यो’, उनले भनिन्, ‘एसिल होस् वा अन्य जलनशील पदार्थ, पीडा एउटै हो, त्यसैले समान व्यवहार पीडित प्रति राखिनु पर्दछ ।’ कार्यकारी निर्देशक गिरीले अपराधिक मनशायबाट जलाइएका विरुद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको बताइन् ।

बिभिएस नेपालका कार्यक्रम व्यवस्थापक कृष्ण थापाले स्वास्थ्य सम्बन्धी हक संविधानमै व्यवस्था भएकाले राज्य जलन पीडितको उपचारमा गम्भीर हुनुपर्ने बताए । उनले सन् २०१९ र २०२० मा संस्थाले देशभरीका बार्षिक ३ सय ५० को हाराहारीलाई सहयोग गरेको उल्लेख गरे । थापाले जलन पीडित घर गएपछि निरन्तर उपचारमा रहनुपर्ने भएकाले आर्थिक समस्या देखिने गरेको बताएका छन् । ‘जलन पीडितको उपचार प्रक्रिया निकै लामो हुनसक्छ’, उनले भने ।

संस्थाका कार्यकारी निर्देशक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भेरी अस्पतालका नर्सिङ्ग प्रशासक इश्वरी केसी रहेकी थिइन् । संस्थाका बाँके प्रतिनिधि सुरेन्द्रद्वीप कार्कीले सञ्चालन गरेको कार्यक्रममा सहजीकरण लेखा अधिकृत राजन चम्लागाईले गरेका थिए ।

‘मानिस जलन पीडित हुने बित्तिकै के गर्दा क्षति कम हुन्छ, जीवन जोगिन्छ, अंगभंग हुँदैन भनेर बाँकेका स्वास्थ्यकर्मीलाई तालिम आयोजना गरेका हौं’, जिल्ला प्रतिनिधि कार्कीले भने ।

तालिममा प्लाष्टिक सर्जन डा. सन्देश पि मास्के, डा. बाल मुकुन्द बस्नेतले जलन व्यवस्थापन सम्बन्धी तालिम दिइरहेका छन् ।
कार्यक्रममा विभिएस नेपालले हालसम्म ८ हजार ६ सय जलन पीडित बिरामीलाई सहयोग गरेको, जसमध्ये ३७ एसिड आक्रमण पीडित, १ सय ४८ आत्महत्याको प्रयास र १ सय घरेलु हिंसाका रहेको जानकारी दिइएको थियो ।

नेपालमा अग्निजन्य हिंसा, दुर्घटना, बार्षिक ५५ हजार बढी घाइते

नेपालमा सदरदर ५५ हजार बढी जलन (शरीर पोल्ने) घटनाबाट पीडित हुने गरेका छन् । उनीहरु मध्ये ५ प्रतिशतसम्म जीवनभर अपाङ् हुने गरेका छन् । करिब २ हजार १ सयले ज्यान गुमाउने गरेका छन् । आगलागी हुँदा, आगो ताप्दा, तातो खानेकुरा खाँदा वा प्रयोग गर्दा असावधानी वश शरीरमा पर्दा, अपराधिक मनशायबाट ज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा वा एसिड छर्कदा र त्यससम्बन्धी काम गर्दा जलन हुने गरेको छ ।

पछिल्लो समय आत्महत्या, हत्या, शरीर अंगभंग गराउने उद्देश्य, दुघर्टनाका कारण जलनका घटना बढ्दै गएका छन् । जलनका घटनाका कारण हुने अपाङ्गता, उपचारमा लाग्ने खर्च, बर्षौसम्मको उपचार गर्नुपर्ने कारणले निकै चुनौति थपिने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा आगोले पोलेर एक करोड १० लाख मानिस प्रतिवर्ष गम्भीर रुपमा प्रभावित हुने र ३ लाख २० हजार जना मर्ने गर्छन् । आगोले पोलिनेमध्ये अत्यधिक (९५) प्रतिशत घटना निम्न तथा मध्यम आय भएका देशमा हुन्छ भने मृत्यु हुने संख्याको आधाभन्दा बढी दक्षिण–पूर्वी एसियामा हुने गरेको छ । नेपालमा मात्र होइन, विश्वभरि नै जलनको उपचार ज्यादै खर्चिलो छ ।
उपचार खर्चिलो हुँदा न्यून आय भएका नागरिकले निकै समस्या झेल्नु पर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया